नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेभन्दा आफ्नो पार्टी शक्तिशाली भएको दाबी गरेका छन्।
मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘एकीकृत समाजवादी पार्टी नभई माधवको गुट’ भनी गरेको टिप्पणीविरुद्ध बुधबार अध्यक्ष नेपालले प्रतिवाद गरेका हुन्।
बुधबार बिहान प्रदेश २ अन्तर्गत जनकपुरमा पार्टीको धनुषा जिल्ला पार्टी कार्यालय उद्घाटन समारोहमा अध्यक्ष नेपालले भने, ‘सात प्रदेशमध्ये दुई प्रदेशमा हाम्रै पार्टी नेतृत्वको सरकार। प्रदेश २ मा हामी एमालेभन्दा कैयौं गुणा शक्तिशाली छौं। यो कुरा सबैलाई थाहा छ– अगामी निर्वाचनमा ओली नेतृत्वको एमाले चोइटिएर जान्छ।’
‘अब म ओलीलाई गाली गर्दिनँ’
एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जति गाली गरे पनि अब आफूले चाहिँ गाली नगर्ने दाबी गरे।
पार्टी कार्यालयमा सञ्चारकर्मीले राखेकाे ओलीसँग सम्बन्धित जिज्ञासामा उनले भने, ‘केपी ओली के के भन्नुहुन्छ, त्यो कुराहरू छाडदिनुस्। उहाँको बारेमा केही पनि भन्न चाहन्नँ। म अब गाली पनि गर्दिनँ। उहाँको बारेमा म कुनै टिप्पणी नै गर्न चाहन्नँ।’
एकीकृत समाजवादीले जनकपुरधाम उपमहानगरपालिका-१ किशोरी नगरमा प्रदेश र धनुषा जिल्ला पार्टी कार्यालय स्थापना गरेको हो।
Shares
प्रतिक्रिया