ad ad

राजनीति


ओली समूहमै मिलेन कुरा, चार नेताले अडान नछाडेपछि नेतृत्व टुंगो गर्न समस्या

ओली समूहमै मिलेन कुरा, चार नेताले अडान नछाडेपछि नेतृत्व टुंगो गर्न समस्या

सागर न्यौपाने
मंसिर ११, २०७८ शनिबार १२:५९, चितवन

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहमै विवाद देखिएको छ।

शुक्रबार राति चार पदाधिकारी र करिब ७५ जना केन्द्रीय सदस्य थप्ने निर्णय केन्द्रीय कमिटीबाट गरे पनि एमालेको नयाँ नेतृत्व छान्ने प्रक्रिया जटिल बनेको हो।

केन्द्रीय कमिटीले सर्वसम्मतिमै नेतृत्व छान्ने सन्देश महाधिवेशन प्रतिनिधिहरुमाझ पुर्‍याए पनि अध्यक्ष ओलीनिकट चार नेताले अडान नछाड्दा समस्या भएको हो।

पटक पटक छलफल गर्दा पनि नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल अडानबाट पछि नहटेका हुन्।

एमालेमा अध्यक्ष ओलीलाई उपाध्यक्ष भीम रावलले चुनौती दिएका छन्। अर्कातिर वरिष्ठ उपाध्यक्षमा वर्तमान महासचिव ईश्वर पोखरेल ढुक्क भएको अवस्था नेम्वाङले चुनौती दिएका छन्। 

ओलीसँगको छलफलमा पोखरेल र नेम्वाङ दुवै वरिष्ठ उपाध्यक्ष छाडेर अन्य पदमा सम्झौता गर्न तयार नभएको स्रोतले बताएको छ।

त्यस्तै महासचिव पदका लागि लुम्बिनीका दुई नेताबीच ठूलै टसल देखिएको छ। महासचिवका दाबेदारद्वय शंकर पोखरेल र विष्णु पौडेल दुवै ओलीका विश्वासपात्र हुन्।

तर ओली सौराहा ओर्लिएदेखि पार्क सफारी रिसोर्टमा सहमतिका लागि भइरहेका छलफलमा दुवै नेताले पनि महासचिवबाट पछि नहट्ने अडान लिएका छन्।

आफ्नै समूहका नेताहरु सहमतिका लागि तयार नभएपछि प्रक्रिया अघि बढाउन अहिले अध्यक्ष ओली सेभेन स्टार होटलस्थित बन्दसत्रस्थलमा आइपुगेका छन्।

ओलीले सहमतिका लागि भएको आफ्नो प्रयास बन्द सत्रमा २३ सय महाधिवेशन प्रतिनिधिलाई जानकारी गराउने भएका छन्। यदि सहमति नभएमा निर्वाचनबाटै नेतृत्व चयन गर्ने निष्कर्षमा उनी पुगेका छन्। 

ओलीमाथि नेताहरूले सहमतिको दबाब बढाइरहेका छन्। पूर्व माओवादीदेखि १० भाइ भित्रका समेत नेताले सहमतिबाटै नेतृत्व छानेमा मात्रै एमाले बलियो हुने मत राखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .