नेकपा एमालेको दशौँ महाधिवेशन अन्तर्गत शनिबारदेखि चितवनको सौराहामा बन्दसत्र जारी छ।
पहिलो दिनको बन्दसत्रले विधान संशोधन गर्दै पदाधिकारी र केन्द्रीय कार्यसमितिको संख्या बढाएपछि रोकिएको बन्दसत्र आइतवार दिनभर अघि बढेको छैन।
एमाले नेता गोकुल बाँस्कोटाले बन्दसत्र आइतवार रातिको खाना खाएर सात बजेपछि मात्रै सुरु गर्ने बताएका छन।
राति बन्दसत्र अघि बढाउने रणनीति अनुसार अहिले अध्यक्ष केपी शर्मा ओली पार्क सफारी रिसोर्टमा बसेर नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूचीलाई अन्तिम रुप दिइरहेका छन्।
यस्तोमा एमालेले ध्वनी मतको आधारमा नयाँ नेतृत्व घोषणा गर्ने तयारी गरेको छ।
अध्यक्षमा उठ्ने घोषणा गरेका उपाध्यक्ष भीम रावल सहमतिमा नआए पनि प्रक्रिया ध्वनि मतकै आधारमा अघि बढ्ने तयारी भएको जानकारी एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
'दोस्रो दिनको बन्दसत्रको सुरुवात निर्वाचन मण्डलले अघि बढाउनेछ', उनले भने, 'भीम रावलजी सहमतिमा आए ठीकै छ, नत्र ध्वनि मतका आधारमा नयाँ नेतृत्व घोषणा हुन्छ।'
उनले संसदमा पनि यही अभ्यास हुने गरेको बताएका छन्। 'संसदमा त ठूला निर्णय ध्वनि मतको आधारमा भएका छन्', उनले भनेका छन्, 'यो पनि एउटा निर्वाचन प्रणाली हो, यस्तो अभ्यास गर्नु लोकतान्त्रिक प्रक्रियाकै अंश हो।'
तामाङले रावलसहित कसैले एमाले छोड्न खोजे एक्लै पर्ने चेतावनी पनि दिएका छन्
उपाध्यक्ष रावलसँग अध्यक्ष ओलीसहित पार्टी नेतृत्वले कुनै छलफल नगरेकोबारे जवाफ दिँदै उनले भने, 'भीम रावलजीको पनि यसमा एक मत हो, मेरो पनि एक मत हो, यहाँ सल्लाह गर्न कसैले कुर्नै पर्दैन।'
उनले पार्टीभित्रका सबै समूह र नेताहरुलाई चित्त बुझाएर नयाँ पदाधिकारी, केन्द्रीय सदस्य र आयोगहरूको नाम घोषणा गरिने पनि प्रस्ट पारेका छन्।
Shares
प्रतिक्रिया