ad ad

राजनीति


नेकपालाई बर्दियाको ह्याङओभर, ‘जम्बो’ निर्वाचन परिचालन कमिटि

नेकपालाई बर्दियाको ह्याङओभर, ‘जम्बो’ निर्वाचन परिचालन कमिटि

वाशुदेव मिश्र
कात्तिक १९, २०७६ मंगलबार १०:५३,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको लागि २६ सय ४१ जनाको ‘जम्बो’ निर्वाचन परिचालन कमिटि गठन गरेको छ। निर्वाचन कमिटिको मुल कमाण्ड कमिटिको जिम्मेवारी कास्की इन्चार्ज राजकाजी गुरुङ‘करन’लाई दिइएको छ भने निर्वाचन संयोजक कास्की अध्यक्ष कृष्ण थापा रहेका छन्।

नेकपा कास्कीको सोमबार सम्पन्न पाचौँ पूर्ण बैठकले क्षेत्र नम्बर २ मा पर्ने पोखराका सबै वडामा पनि हेभिवेट नेताहरुलाई नै वडास्तरीय कमाण्ड टिमको जिम्मेवारी दिएको छ। यसैगरि निर्वाचनको अनुगमन र निर्देशनको लागि पार्टीका गण्डकी सह–इन्चार्ज खगराज अधिकारीको संयोजकत्वमा अर्को कमिटि बनाइएको छ।

कास्की क्षेत्र नम्बर २ मा नेकपाले स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ। पार्टीले निर्वाचन परिचालन कमिटि गठन र निर्वाचन केन्द्रित कार्यक्रमबारे जानकारी दिन मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा विद्या भने उपस्थित भइनन्। स्रोतका अनुसार प्राध्यापन पेशामा रहेकी उनी आफ्नो पदबाट दिएको राजीनामालगायतका प्र्रक्रिया मिलाउने क्रममा उनी काठमाडौं नै छन्।

‘हामीले बर्दियाबाट पनि एउटा कुरा सिक्यौँ,त्यसैले प्रत्येक वडा र भूगोल कमिटिको कार्यालय भएका ठाउँमा हामीले निर्वाचन परिचालन कमिटि गठन गरेका हौँ’, पत्रकार सम्मेलनमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले भने,‘देशभरबाट (बर्दियामा) चुनाव प्रचार गर्न जाने तर त्यहाँका मान्छेलाई चिन्नु छैन, भाषा बुझ्नु छैन, त्यहाँबाट सिकेर हामीले यहाँ स्थानीयहरुलाई नै चुनावी जिम्मेवारी दिएका हौँ।’ थापाले वामदेवको बर्दियाबाट पराजय र त्यहाँको चुनाव प्रचारमा केन्द्रीय नेताहरु परिचालित भएको सन्दर्भ उठाउँदै कास्कीमा त्यस्तो कमजोरी नरहने दावी गरे।

उनले यो पटकको चुनावमा नेकपाको उम्मेदवारले अघिल्लो पटक रवीन्द्रले पाएको भन्दा ५ हजार बढी मतले जित्ने दावी गरे। रवीन्द्रले अघिल्लो चुनावमा आफ्ना निकटतम् प्रतिद्धन्द्धी कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४२ मतले पराजीत गरेका थिए। उनले चुनावमा नेकपाले निर्वाचन आयोगले तोेकेको भन्दा १ रुपैयाँ पनि बढी खर्च नगर्ने जिकिर गरे । ‘हामी २५ लाख रुपैयाँमै चुनाव सक्छौँ’, उनले भने,‘कार्यकर्ता र शुभेच्छुकले दिएको सहयोगले नै चुनाव सकाइन्छ।’

विवेशशीलबाट जमुना

यता विवेकशील नेपाल पार्टीले कास्की क्षेत्र नम्बर २ बाट जमुना शर्मालाई उम्मेदवार बनाएको छ। पार्टी केन्द्रीय कमिटिको बैठकले अधिकारकर्मी तथा मनोसामाजिक अभियन्ता जमुनलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी अध्यक्ष मिलन पाण्डेले जनाए। उनका अनुसार विवेकशीलबाट बागलुङ क्षेत्र नम्बर २‘ख’मा हुने प्रदेशसभा निर्वाचनमा सन्तोष भण्डारी उम्मेदवार रहने छन्।

bibekshil dal

अघिल्लो पटक विवेशशील साझा कास्कीमा तेस्रो नम्बरको दल भएको थियो। विवेकशील साझाबाट अघिल्लो चुनावमा कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका श्रीकृष्ण श्रेष्ठले संचालन गरेको कार्यक्रममा बोल्दै विवेकशीलकी नेतृ रञ्जु दर्शनाले मुद्धालाई जिताउन आफूहरुले कास्कीमा उम्मेदवारी दिएको बताइन्। अर्को प्रसंगमा उनले सहभागितामूलक लोकतन्त्रमा कसैसँग सम्झौता नहुने भएकोले विवेकशील र साझा पार्टी अलग हुनु परेको जिकिर गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .