नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले पार्टीको आसन्न प्रदेश कमिटी अधिवेशनका लागि कमाण्डरहरु तोकेको छ।
महामन्त्री शशांक कोइराला निवास महाराजगञ्मा बुधबार बसेको इतर समूहका सभापति लगायतको बैठकले यस्तो निर्णय लिएको हो।
यो बैठकमा प्रदेश कमिटी सभापतिका उम्मेदवार चयन गर्नेबारे छलफल भएको एक नेताले बताएका छन्।
बैठकले प्रदेश कमिटीको निर्वाचनका लागि सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिने पनि निर्णय गरेको छ।
बैठकले प्रदेश १ मा बलबहादुर केसी, महेश आचार्य, मिनेन्द्र रिजाल, सुजाता कोइराला, डा शेखर कोइराला, सरिता प्रसाई र गुरु घिमिरेलाई तोकिएको छ।
बैठकले प्रदेश १ मा गुरु घिमिरेलाई भावी सभापतिका रुपमा अघि सारेका छन्।
त्यस्तै बैठकले प्रदेश २ मा कोषाध्यक्ष सीतादेवी यादव र रामकृष्ण यादवलाई कमाण्डर तोकिएको छ। त्यहाँ किरण यादव वा डा. सुवासचन्द्र यादवमध्ये एकलाई सभापतिका रुपमा अघि सारिने भएको छ।
त्यसैगरी बागमतीमा निर्वाचनका लागि प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत र गगन थापालाई जिम्मा दिइएको छ।
बागमतीमा नुवाकोटका जगदीश्वर नरसिंह केसी मधु आचार्य र राजुराज जोशी सभापतिका दाबेदारका रुपमा अघि सरेका छन्।
गण्डकीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कमला पन्त, दिलबहादुर घर्ती र जीवन परियारलाई जिम्मेवारी दिइएको छ।
गण्डकीमा महेन्द्रध्वज जिसीलाई यो समूहले सभापतिका रुपमा सार्ने भएको छ।
प्रदेश निर्वाचनका लागि लुम्बिनीमा चन्द्र भण्डारी र दीपक गिरीलाई कमाण्डर तोकिएको छ। त्यहाँ अमरसिंह पुन यो समूहबाट सभापतिका रुपमा अघि सरेका छन्।
कर्णालीमा प्रदेश समिति निर्वाचनका लागि हृदयराम थानीलाई कमाण्डर बनाइएको छ। त्यहाँ भुपेन्द्रजंग शाही सभापतिका रुपमा उठ्ने तयारीमा छन्।
त्यस्तै सुदूरपश्चिम कमाण्डमा दिलेन्द्र बडू र बद्री पाण्डेलाई तोकिएको छ। सुदूरपश्चिममा यो समूहले प्रदेश कमिटी सभापतिका रुपमा भरतबहादुर खड्कालाई अघि सार्ने भएको छ।
यो समूहले जहाँ एकजना मात्रै आकांक्षी छन्, त्यहाँ उनैलाई संस्थापन पक्षका उम्मेदवारसँग प्रतिस्पर्धा गराउने भएको छ। दुईभन्दा धेरै आकांक्षी भएका ठाउँमा यो समूहले छलफलबाट एकजनालाई प्रदेश सभापतिमा उठाउने भएको छ।
Shares
प्रतिक्रिया