नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेश कार्यसमिति सभापतिका लागि त्रिपक्षीय भिडन्त करिब पक्का भएको छ।
बागमती सभापतिका लागि संस्थापन शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र कृष्ण सिटौला समूहबीच त्रिपक्षीय भिडन्त हुने देखिएको हो।
बागमती प्रदेश सभापतिका लागि संस्थापनबाट प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ अघि सरेका छन्।
पूर्वगृहराज्यमन्त्री समेत रहेका बानियाँले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट नुवाकोटका निवर्तमान सभापति जगदिश्वरनरसिंह केसीलाई अघि सारिएको छ।
उनलाई बुधबार बेलुकी प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको पौडेल समूहको बैठकले सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।
छलफलमा केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत र गगन थापा सहभागी थिए।
छलफलमा आकांक्षीका रुपमा देखिएका काभ्रेका निवर्तमान सभापति मधु आचार्य र धादिङका निवर्तमान सभापति रमेश धमला पनि उपस्थित थिए।
यसअघि बुधबार महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको इतर समूहको बैठकले बागमती प्रदेशका लागि सभापतिको उम्मेदवार टुंग्याउने जिम्मा नेताहरु सिंह, केसी, महत र थापालाई दिएको थियो।
१३ औँ महाधिवेशनबाट कांग्रेसमा ‘तेस्रो धार’ पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले प्रतिनिधिसभाका सांसद एवम पूर्व रक्षामन्त्री समेत रहेका भीमसेनदास प्रधानलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
‘तेस्रो धार’ ले प्रधानलाई सभापतिको उम्मेदवारका रुपमा अघि सारेको नेता सिटौलाको स्वकीय सचिव श्रीधर सिटौलाले गरेका छन्।
उनले प्रधानको चुनावी प्रचारका लागि तयार पारिएको पोस्टर सामाजिक सञ्जाल फेसबुकमा साझा गरेर उक्त पुष्टि गरेका हुन्।
उक्त पोस्टर साझा गर्दै लेखिएको छ, ‘बागमती प्रदेश सभापति पदका उम्मेदवार माननीय भीमसेनदास प्रधानज्यूलाई अत्याधिक बहुमतले विजय गराऔँ।’
Shares
प्रतिक्रिया