नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा कम्तीमा तीन समूहले प्यानलसहित उम्मेदवारी दिँदैछन्। पहिलो, सभापति शेरबहादुर देउवाको प्यानल। दोस्रो, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालाको प्यानल। उनीहरु साझा उम्मेदवार घोषणा गर्न प्रयासरत छन्। र तेस्रो, उपसभापति विमलेन्द्र निधिले पनि सभापति उठ्ने घोषणा गरिसकेका छन्।
कांग्रेसमा दुई महामन्त्री निर्वाचित हुने व्यवस्था छ। तसर्थ तीनै प्यानलबाट कम्तीमा ६ नेता प्रतिस्पर्धामा उत्रिनेछन्। सभापतिपछिको सबैभन्दा आकर्षक पद मानिने महामन्त्रीमा कांग्रेसका युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्माले पनि उम्मेदवारी घोषणा गरेका छन्। तर, यी दुवै नेताले महाधिवेशन मुखैमा आइपुग्दा पनि आफ्नो समूह भने खुलाएका छैनन्।
२०७८ भदौ १४ गते काठमाडौँ क्षेत्र नम्बर ४ मा भएको कार्यकर्ता भेलामा थापाले महामन्त्री पदमा उठ्ने घोषणा गरे। १३ औँ महाधिवेशनमा नेपाली कांग्रेसको तेस्रो धार भनिने कृष्ण सिटौला समूहमा रहेका थापा महामन्त्री पदमा डा. शशांक कोइरालासँग पराजित भएका थिए।
तर, १४ औँ महाधिवेशनको मिति घोषणा भएदेखि थापा सिटौला समूहमा देखिएका छैनन्। सिटौलाले भने सभापति शेरबहादुर देउवालाई साथ दिएका छन्।
प्रवक्ता विश्वप्रकाश शर्माले पनि संस्थापक नेता बीपी कोइरालाको १०८ औँ जन्मजयन्तीको अवसर पारेर सुन्दरीजलबाट भदौ २४ गते उम्मेदवारी दिने घोषणा गरेका थिए।
उनको उम्मेदवारी घोषणाप्रति सभापति शेरबहादुर देउवाले असन्तुष्टि जनाएको चर्चा कांग्रेसभित्र छ। संस्थापन पक्षबाट सभापति देउवा पक्ष प्यानलै उठाउने तयारीमा छ। देउवाबाटै महामन्त्रीको टिकट पाउने विश्वासमा शर्मा छन्। तर, उनले टिकट पाउने सम्भावना न्यून छ।
देउवाले टिकट नदिए शर्माले अर्को विकल्प तयार गरिसकेको उनीनिकट स्रोतले बतायो। त्यो हो– संस्थापन छाडेर इतर समूहमा मिल्ने र उम्मेदवारी दिने। त्यसका लागि उनले छलफल गरिरहेका छन्।
‘अहिलेसम्म उहाँ संस्थापनबाटै महामन्त्रीको उम्मेदवार बन्ने विश्वासमा हुनुहुन्छ,’ शर्मा निकट एक नेताले भने, ‘तर, उताबाट आकांक्षी धेरै भएपछि उहाँ शेखर दाइसँग पनि छलफलमै हुनुहुन्छ। उहाँ महामन्त्रीबाट ब्याक हुने सम्भावना छैन, अन्तिम समयमा बरु गुट हेरफेर हुनसक्छ।’
संस्थापन पक्षबाट बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत र एनपी साउद महामन्त्रीका आकांक्षी हुन्। खाणलाई उपसभापति बनाउने प्रयास पनि भइरहेको छ।
थापा भने संस्थापन इतरको हरेक बैठकमा सहभागी हुन्छन्। भदौ १७ गते रामचन्द्र पौडेल समूहले पार्टी कार्यालय सानेपामा गरेको पत्रकार सम्मेलनमा पनि उनी पुगेका थिए। त्यहीबेला उनले सिटौला गुट छाडेर पौडेल समूह प्रवेश गरेको अनुमान धेरैले लगाए।
मंगलबार पनि बोहराटारमा बसेको कांग्रेस संस्थापन इतर पक्षको बैठकमा थापा पुगेका थिए। सभापतिको साझा उम्मेदवार बनाउन प्रयास गरिरहेका रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला लगायत अन्य थुप्रै नेताहरु सहभागी भएको बैठकमा थापाले पनि आफ्ना धारणा राखे। तर, थापाले आफूलाई सो समूहको उम्मेदवार भनेर किटान गरेका छैनन्।
संस्थापनइतरबाट महामन्त्रीका दाबेदारमा अहिलेसम्म मिनेन्द्र रिजालको नाम चर्चामा छ। यदि थापा सोही समूहमा खुलेको अवस्थामा रिजाल र उनी उम्मेदवार बन्न सक्छन्।
वडा, गाउँपालिका, जिल्ला र प्रदेशसम्म भएको अधिवेशनलाई हेर्ने हो भने देउवाले सुविधाजनक रुपमा जित्ने देखिन्छ। यस्तो अवस्थामा महामन्त्री पदको चुनाव रोचक हुनेछ। त्यही भएर शर्मा र थापा दुवैले आफ्नो समूह खुलाउन नचाहेको निकटस्थहरु बताउँछन्।
‘अहिले नै खुलेर चुनावमा अप्ठेरोमा पर्नुभन्दा सबै कुरा प्रष्ट भएपछि घोषणा गर्दा राम्रो हुने भएकोले धेरै हल्ला नगरिएको हो,’ थापानिकट एक नेताले भने, ‘सबै कुरा मिलेपछि घोषणा हुन्छ।’
उसो त शर्मा र थापा एउटै समूहबाट महामन्त्री उम्मेदवार बन्नसक्ने सम्भावना पनि कायमै छ।
Shares
प्रतिक्रिया