नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवैजना पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई फकाउन जुटेका छन्।
१४ औँ महाधिवेशनबाट नेतृत्वमा दोहोरिने रणनीतिमा रहेका देउवाले बिहीबार बिहान आफ्नो दूत बनाएर सिटौलालाई फकाउन उनको चण्डोलस्थित निवासमा पठाएका छन्।
उक्त भेटका क्रममा देउवाको सन्देशसहित लेखकले संस्थापन र सिटौला नेतृत्वको तेस्रो धार मिलेर महाधिवेशनमा जानुपर्ने प्रस्ताव राखेका थिए।
सिटौलालाई फकाउने क्रममा देउवाले महाधिवेशनबाट आउने नयाँ नेतृत्वमा उचित र सम्मानजनक स्थान दिने आश्वासन लेखकमार्फत दिएका छन्।
प्रधानमन्त्रीसमेत रहेका देउवाका विश्वासपात्र लेखकलाई र पूर्वमहामन्त्री सिटौलाले साथीहरुसँग सल्लाहपछि मात्रै निर्णय लिन सकिने भनेर पठाइदिएका छन्।
'सिटौलाले साथीहरुसँग सल्लाह गर्न बाँकी छ भनेर पठाइदिनु भएको छ', उनीनिकट एक नेताले भने, 'वरिष्ठ नेता पौडेलसँग बुधबार भएको संवादमा पनि उहाँले यही कुरा बताउनु भएको थियो।'
आफ्नै समूहको विवादमा मिलाउन नसकेको अवस्थामा बुधबार पौडेलले सिटौलालाई भेटेका थिए। पौडेल समूहले पनि भागवण्डा गरेर महाधिवेशनमा जान सके संस्थापनलाई हराउन सकिने कुरा सिटौलालाई सुनाएका थिए।
प्यानल बनाउँदै
तर तेह्रौं महाधिवेशनमा पनि सभापतिमा लडेका सिटौला यो पटक पनि आफ्नै प्यानलसहित अघि बढ्ने रणनीतिमा छन्।
सिटौला आफैं सभापतिमा लड्ने तयारीमा रहेको उनीनिकट एक नेताले बताएका छन्।
'प्यानल नै बनाइसकेको अवस्था छ', ती नेताले भने, 'प्यानल बनाउन महामन्त्रीमा उठ्ने घोषणा गरेका प्रदीप पौडेल, मन्त्रीसमेत रहेका उमाकान्त चौधरी र शिव हुमागाइँसहिका नेता खटिनु भएको छ।'
बार्गेनिङ
आफैं प्यानल बनाएर लड्न तयार सिटौला पक्षले आफूलाई फकाउन आएका देउवा र पौडेल दुवै समूहसँग निश्चित प्रतिशत नै मागिरहेका छन्।
सिटौलाले संस्थापन अर्थात् देउवा समूहसँग ३३ प्रतिशत र वरिष्ठ नेता पौडेल नेतृत्वको समूहसँग ४० प्रति लिएर मिल्ने विकल्प पनि तयार गरेका छन्।
अहिलेको अवस्थामा संस्थापनले २५ प्रतिशत र पौडेल समूहले ३३ प्रतिशतसम्म दिएमा पनि दुईमध्ये एक समूहसँग महाधिवेशनमा कार्यगत एकता गरेर चुनाव लड्ने विकल्प पनि सिटौला समूहले बनाएको छ।
उपसभापति नलड्ने
तर कुनै समूहसँग तालमेल भएको अवस्थामा सिटौलाले उपसभापति नलड्ने योजना बनाएका छन्। 'यदि तालमेल नभएमा सिटौला सभापतिका उम्मेदवार हुनेमा शंका छैन', उनका एक सहयोगीले भने, 'तर आजै प्यानल घोषणा हुँदैन। कुरा चलिरहेकाले अन्तिम निर्णय भइसकेको छैन।'
यदि दुवै समूहसँग कुरा नमिलेमा सिटौलाले आफ्नो प्यानल शुक्रबार या शनिबार मात्रै घोषणा गर्नेछन्। उनले यसो गर्नुको कारण भनेको अन्य गुटले प्यानल घोषणा गरिसकेपछि असन्तुष्टलाई तान्ने रणनीति!
'हाम्रा उम्मेदवारहरूको नाम करिब तयार छ', सिटौलानिकट ती नेताले भने, 'तर प्यानल घोषणामा हतार गर्दैनौँ। समय अझै छ, संवाद पनि चलिरहेको छ।'
Shares
प्रतिक्रिया