ad ad

राजनीति


यी पाँच कारण शेखर सभापतिको बलियो दाबेदार

यी पाँच कारण शेखर सभापतिको बलियो दाबेदार

सागर न्यौपाने
मंसिर २६, २०७८ आइतबार २२:४२, काठमाडौँ

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा संस्थापनइतर समूहबाट सभापतिको एउटै उम्मेदवार बनाउने प्रयास असफल भएपछि अन्ततः शेखर कोइराला र प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन्।

सभापतिमा शेरबहादुर देउवा, कोइराला, सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङसहित ५ जनाको उम्मेदवारी परेको छ। 

त्यसमध्ये सभापति देउवालाई टक्कर दिनसक्ने उम्मेदवार कोइराला मात्रै भएको आकलन गरिँदैछ। कार्यवाहक सभापति भइसकेका रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालालाई रोकेर उनले उम्मेदवारी दिएका हुन्। संस्थापनइतरबाट एकल उम्मेदवार बन्ने प्रयास असफल भएपछि रामचन्द्र पौडेल प्रतिस्पर्धाबाटै पछि हटे। 

कांग्रेसमा त्यति लामो समय योगदान नगरेका र केन्द्रीय सदस्य मात्र रहेका कोइराला सभापतिको बलियो दाबेदार बनेकोमा कतिपय कांग्रेस नेताहरु नै चकित छन्। तर, यो उम्मेदवारीका लागि कोइरालाले वर्षौं तयारी गरेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलिया बताउँछन्।

‘२०७३ देखि उहाँले सभापति पदका लागि तयारी थाल्नुभएको थियो,’ थपलियाले नेपालखबरसँग भने, ‘जिल्लाजिल्ला पुगेर उहाँले नेता कार्यकर्ताको भावना बुझ्नु भएको थियो।’

केन्द्रीय सदस्य भएलगत्तै देश दौडाहा 
१३ औँ महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य जितेका थिए कोइरालाले। उनले १८ सय ४८ मत ल्याए। 

त्यो मतले उनकै पक्षमा कार्यकर्ताको चाहना रहेको बुझेपछि चुनाव जितेलगत्तै उनले पूर्वका केही जिल्लाको भ्रमण गरे। स्वकीय सचिव थपलियाका अनुसार पूर्वका केही जिल्लाको भ्रमणका क्रममा नेता कार्यकर्ताले अब कांग्रेसमा नयाँ नेतृत्व हुनुपर्ने र त्यो कोइराला परिवारकै विरासत बोकेको हुनुपर्ने सुझाव दिए। 

त्यसपछि कोइरालाले काठमाडौं फर्केर देशका जिल्ला भ्रमण गर्ने योजना बनाए। पार्टी, संगठनमा लाग्नुपर्ने निष्कर्ष निकालेर उनी २०७३ देखि जिल्ला भ्रमणमा गएको थपलियाले स्मरण गरे। 

‘जिल्ला जाँदा पनि नेता/कार्यकर्ताकैमा राति बस्नेगरी जानुभयो,’ थपलियाले थपे, ‘जसले गर्दा कांग्रेसभित्रको समस्या पहिचान गर्न सहज भयो, हाम्रो पार्टीको मुख्य समस्या नेताहरुले कार्यकर्ताको घरमा नपुगेर हो भन्ने बुझेपछि थप रणनीति बनाइयो।’

२०७३ दखि २०७६ सम्म शेखरले ४४ जिल्ला घुमे।

‘सकेजति नेता/कार्यकर्ताको घरमा बस्नुभयो। बस्न नपाएकोहरुलाई चिया खाएर भेट्नुभयो। कांग्रेसको समस्या के छ? कहाँनेर कमजोरी भयो त्यो खोतल्ने काम भयो, कतिपय विषय केन्द्रीय कार्यसमिति बैठकमा पनि राख्नुभएको छ,’ कोइरालासँगै देश भ्रमणमा हिंडेका कांग्रेसका एक नेताले भने।  

कोभिडले गर्दा २०७६ चैतपछि शेखरको देश दौडाहा रोकियो। उनले भ्याएसम्म र मिलेसम्म फोनबाटै सम्पर्क गर्ने प्रयास गरे।

‘कांग्रेसमा जित्नसक्ने र देउवाको दह्रो प्रतिस्पर्धी आवश्यक थियो, त्यो भनेको तपाईं नै हो, आशा छ भने तपाईंसँगै हो, नत्र अरुबाट पार्टी चल्दैन भन्ने खालका सुझाव आए,’ ती  नेताले भने।

यहीकारण उनले सभापतिको उम्मेदवार बन्ने अडान नछाडेको थपलियाको भनाइ छ। 

कोइराला परिवारको विरासत
सुशील कोइरालाको निधनपछि कांग्रेसमा कोइराला परिवारको उत्तराधिकारी को हुने भन्नेबारे हानथाप थियो। शेखर, शशांक, सुजाता सबैले कोइराला परिवारको विरासत आफूले बोक्ने दाबी गरिरहेका थिए। 

कोइराला परिवारबाट पार्टीको उच्च पदमा थिए महामन्त्रीमा शशांक कोइराला। तर, नेता कार्यकर्तासँग त्यति धेरै नभिज्ने, संगठनलाई खासै वास्ता नगर्ने भन्दै उनको आलोचना हुने गरेको थियो। जिम्मेवारी पाएर पनि प्रभावकारी भूमिका खेल्न नसकेको टिप्पणी भइरहेका बेला शेखरले आफूलाई कोइराला परिवारको उत्तराधिकारीको रुपमा उभ्याएका छन्। 

सभापतिका आकांक्षीको शशांकको मात्र होइन, चित्त दुखाएर बसेका पौडेलको समर्थन पनि जुटाउन उनी सफल भएका छन्। 

उत्तर र दक्षिण दुवैतिर सन्तुलन
थुप्रै कांग्रेस नेताहरुलाई भारतनिकट भएको आरोप लाग्ने गरेको छ। महाधिवेशनको मुखैमा पनि कयौँ नेताहरु विभिन्न बहानामा दिल्ली पुगेका थिए। तर, कोइरालाले भारत मात्रै नभई चीनसँग पनि निकट सम्बन्ध राखेको उनीनिकटस्तहरु बताउँछन्। 

२०७६ असोज ६ मा उनी साताव्यापी चीन भ्रमणबाट फर्किएका थिए।

‘उत्तर र दक्षिणको शक्ति सन्तुलन मिलाउनसक्ने कांग्रेसको एकमात्र नेता उहाँ नै हो भन्ने कुरा पुष्टि भएको छ,’ शेखर निकट कांग्रेसका अर्का एक नेताको दावी छ, ‘दुवै छिमेकसँग उहाँको व्यवहार ब्यालेन्समै छ।’ 

युवाहरुको आकर्षण
कोइराला अहिले नयाँ पुस्तासँग नजिकिएका छन्। उनलाई समर्थन गर्नेहरुमा बढीजसो युवाहरु छन्। जो पार्टीको नेतृत्व परिवर्तन हुनैपर्ने बताउँछन्।

पछिल्लो पुस्ता नेताहरु पनि उनकै वरिपरि गोलबन्द भएका छन्। गगन थापाले उनकै प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका छन्। यस्तै महामन्त्रीका अर्का डा. मिनेन्द्र रिजाल, उपसभापतिका उम्मेदवार धनराज गुरुङ र चन्द्र भण्डारी पनि छन्।

उनीप्रति युवाहरुको आकर्षणको एउटा कारण हो– कोइरालाको परीक्षण भएको छैन। राज्यको कुनै लाभको पदमा उनी बसेका छैनन्। 

कार्यकर्तालाई सहज पहुँच
कोइराला सबैको पहुँचमा पुग्न सक्ने नेता हुन्। त्यो कुरा उनले केन्द्रीय सदस्य जितेपछि देखाइसकेका छन्। 

सबै कार्यकर्तालाई सकभर भेटेरै उनीहरुको कुरा सुन्ने र समस्या समाधान गर्ने उनको बानीले पनि उनको पक्षमा माहौल बनाएको थपलियाले बताए।

०७३ मै उनले वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौला, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, सुजाता कोइराला र केन्द्रीय सदस्यहरु रामशरण महत, अर्जुननरसिंह केसीलगायतको भेला राखेर एकअर्काविरुद्ध नबोल्ने र पार्टीमा आगामी राजनीतिलाई असर पार्ने कुनै कदम नचाल्ने निर्णय गराएका थिए।

त्यतिबेलै उनले सबै जिल्लामा लोकप्रिय, राष्ट्रिय–अन्तराष्ट्रिय परिस्थितिसँग जानकार, तत्काल निर्णय लिन सक्ने, शेरबहादुर देउवासँग नीतिगत रुपमा कुरा गर्न सक्षम व्यक्तिलाई १४ औँ महाधिवेशनमा सभापति उम्मेदवार बनाउनुपर्ने सहमति गराएका थिए।

कांग्रेसमा पछिल्लो समय हिन्दुवादी मत पनि बलियो बनेको छ। त्यसको नेतृत्व महामन्त्री शशांक कोइरालाले गरेका छन्। यो खेमाको मत पनि आफ्नो पक्षमा आउने शेखरको बुझाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .