नेपाली कांग्रेसको सहमहामन्त्री पदमा पनि सभापति शेरबहादुर देउवा समूहकै वर्चश्व देखिएको छ।
शुक्रबार सम्पन्न मत परिणामअनुसार ८ सहमहामन्त्रीमध्ये ६ जना देउवा समूहबाट निर्वाचित भएका छन्।
उपसभापतिमा एकजना जितेको देउवा समूहले दुवै महामन्त्री गुमाएको थियो। तर यो समूहले सहमहामन्त्रीमा भने वर्चश्व कायम गरेको छ।
यो महाधिवेशनमा देउवालाई साथ दिएका कृष्णप्रसाद सिटौला पक्षले पनि पदाधिकारीमा जित निकालेको छ।
सिटौलानिकट उमाकान्त चौधरी थारुतर्फबाट सहमहामन्त्रीमा निर्वाचित भएका छन्। देउवाले सिटौला समूहलाई पदाधिकारीमा एक महामन्त्री र एक सहमहामन्त्री दिएका थिए।
महामन्त्रीमा प्रदीप पौडेल भारी मतले पराजित भए। तर गठबन्धन सरकारमा खानेपानी मन्त्री समेत रहेका चौधरी सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।
उता कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही भने पराजित भएका छन्। मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी दिएका थिए।
उनलाई डा. शेखर कोइराला प्यानलका बद्री पाण्डेले पराजित गरेका छन्। शाहीले पराजयपछि पार्टीको आन्तरिक प्रतिस्पर्धामा भएको हारलाई सामान्य रुपमा लिएको बताए।
देउवा समूहबाट महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे, खस आर्यतर्फ किशोरसिंह राठौर, मधेशीतर्फ महेन्द्र यादव र मुस्लिमबाट फरमुल्लाह मन्सुर विजयी भए। थारूबाट देउवा समूहको साथ पाएका सिटौला पक्षीय उमाकान्त चौधरी सहमहामन्त्रीमा निर्वाचित भए।
सभापतिमा पराजित कोइरालाको समूहबाट २ जना सहमहामन्त्रीमा निर्वाचित भएका छन्। दलिततर्फबाट जीवन परियार र पिछडिएको क्षेत्रबाट बद्री पाण्डे सहमहामन्त्री निर्वाचित भएका हुन्।
यस्तो रह्यो दुई समूहको टक्कर : कसको कति मत?
सहमहामन्त्रीमा निर्वाचित डिनाले २५३३ मत ल्याउँदा कोइराला प्यानलकी कमला पन्तले २१०५ मत ल्याएकी छन्।
आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे २७११ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी कोइराला प्यानलका विकास लामाले १९१३ मत पाएका छन्।
कोइराला प्यानलका जीवन परियारले २२१२ मत ल्याउँदा देउवा समूहका मानबहादुर विश्वकर्माले २१७५ मत पाए।
सहमहामन्त्रीमा देउवा समूहको वर्चश्व हुँदा कर्णाली प्रदेशको मुख्यमन्त्री समेत रहेका जीवनबहादुर शाहीले भने पराजय भोग्नु पर्यो।
पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवार शाही भने कोइराला समूहका बद्री पाण्डेसँग पराजित भए। पाण्डेले २४११ मत ल्याउँदा शाहीले २१३३ मत मात्रै पाए।
मधेशीतर्फको सहमहामन्त्रीमा पनि देउवा समूहले जित हासिल गर्यो। महेन्द्र यादव शेखर कोइराला समूहका रामकृष्ण यादवलाई पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।
महेन्द्रले २०२६ मत ल्याउँदा रामकृष्णले १८२० मत पाएको निर्वाचन समितिले जानकारी दिएको छ।
खसआर्य समूहबाट निर्वाचित किशोरसिंह राठौरले कोइराला समूहका देवराज चालिसेलाई पराजित गरेका हुन्। राठौरले २७५६ मत ल्याउँदा चालिसेले २०५९ मत पाए।
मुस्लिम क्लस्टरबाट नेपाली कांग्रेसको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर विजयी भएका छन्। शेरबहादुर देउवा प्यानलबाट उठेका उनले २७६६ मत ल्याउँदा कोइराला प्यानलका शेख वकिलले १८७५ मत पाएका छन्।
थारुतर्फबाट सहमहामन्त्रीमा विजयी हुँदै सिटौला समूहले पनि पदाधिकारीमा प्रवेश पाएको छ। उमाकान्त चौधरी सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।
उनले शेखर कोइराला समूहका तेजुलाल चौधरीलाई झण्डै ९ सयको मतान्तरमा पराजित गरे।
उमाकान्तले २७५६ र तेजुलालले १८७७ मत पाए। पदाधिकारीको मतगणना सकिएसँगै अब केन्द्रीय सदस्यको मतगणना सुरु हुनेछ।
Shares
प्रतिक्रिया