माओवादी केन्द्र बागमती प्रदेश कमिटीको अधिवेशन चलिरहेको अनुपम फुडल्यान्डमा सोमबार राति दोलखाका शंकर लामा मत माग्दै थिए ।
माओवादी केन्द्रको नेतृत्व पहिलो पटक निर्वाचनबाट चयन गर्नै लाग्दा उनी निकै खुसी र उत्साहित पनि देखिए।
२०३६ सालदेखि कम्युनिष्ट पार्टीमा आवद्ध भएको बताउने लामाले चुनावबाट छानिएको नेतृत्वले उत्साहजनक काम गर्ने उल्लेख गरे।
'सकेसम्म सहमति गरेको राम्रो हो,' लामाले नेपालखबरसँग भने, 'तर सहमति नहुँदा मतदान गरेरै भए पनि नेतृत्व चयन गर्नुपर्छ। सक्नेले काम गर्छ, सकेन भने अर्कोले तयारी गर्छ, कम्तीमा नेतृत्व जाम हुँदैन। पार्टीका निकाय त्यसै रोकिँदैनन्।'
चुनावबाट आउने नेतृत्वले पनि राम्रो काम गर्ने उनले विश्वास लिए। 'टीका लगाएर नेतृत्व दिए भन्ने आरोप पनि लाग्दैन। आफ्नो क्षमता पनि देखिन्छ, यस्ता चुनाव मिनी सर्भे पनि हुन्', लामाले थपे, 'जिम्मेवारीका लागि मरिहत्ते गर्ने व्यक्तिको हैसियत मापन गर्ने दरिलो आधार यो बन्छ।'
यस्तै उत्साहित देखिए चितवनका रामचन्द्र अधिकारी पनि। सचिव पदमा उम्मेदवारी दिएका उनी युवासँग मत मागिरहेका थिए।
'हामी युवाहरूले नेतृत्व लिने यस्तै निर्वाचनबाट हो, विश्वास गरे चुनाव जितिन्छ, नगरे हारिन्छ,' अधिकारीले भने, 'जिते पार्टीलाई नयाँ ढंगले लगिन्छ, हारे फेरि मिहिनेत गरिन्छ।'
उपाध्यक्षका उम्मेदवार रामप्रसाद ढुङ्गानाले चुनावबाट चुनिने नेतृत्वले पार्टी काममा ऊर्जासहित लाग्ने बताए।
७१ वर्षका उनी पुसको चिसो रातमा उत्साहित हुँदै मत मागिरहेका थिए। अरुले युवालाई मत दिनेभन्दा उनी युवासँग भन्दा आफूसँग बढी अनुभव रहेको बताइरहेका थिए।
लाइन लागेका प्रतिनिधिसँग मत माग्दै ढुंगानाले भने, 'मसँगका अनुभव र केही ऊर्जा मिसाएर उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु, मेरो अनुभवले पार्टी संगठनलाई क्रियाशील बनाउन भूमिका खेल्छ।'
नेपालखबरले उम्मेदवारीबारे जिज्ञासा राख्दा भने, 'पार्टी चलाउन अनुभव, जोश, योग्यता सबै चाहिन्छ। ट्र्याक बाहिर जान दिन हाम्रो उपस्थिति जरुरी छ। त्यही भएर उम्मेदवारी दिएँ।'
त्यसो त नेतृत्व चयन गर्न निर्वाचन गरिएको भन्दै काभ्रेकी मीना लामा निकै असन्तुष्ट थिइन्। 'जित्नेले काम नगरे कसरी पार्टी चल्छ?', लामाले प्रश्न गरिन्,'कम्तीमा माथिबाट 'लिडरसिप'को निगरानी गर्ने बाटो नै बन्द गर्दा पार्टी बन्ने होइन, झन् गुट बन्ने खतरा हुन्छ।'
जनयुद्ध हुँदै शान्तिपूर्ण राजनीतिमा आएको माओवादी केन्द्रको इतिहासमै कुनै कमिटीको निर्वाचनबाट नेतृत्व चयन हुन लागेको पहिलोपटक हो।
त्यही भएर मतदानस्थल बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सोमबार राति अबेरसम्म मतदाता लाइन बसेका थिए। निर्वाचनबाट बागमती प्रदेश समितिको नेतृत्व चयन हुँदैछ।
मतदानका लागि लाइन लागेकाहरू मत मागिरहेको दृश्य देखेर केही भन्दै थिए, 'साँच्चै पार्टी चलायमान बनाउन यस्तै चुनाव हुनुपर्ने रहेछ। हेर्नुस् त सबै साथीहरु आउनु भएको, क्रियाशील हुनुभएको!'
मंसिर २५ गते उद्घाटन भएको अधिवेशनबाट प्रदेशमा सर्वसम्मतिका आधारमा नेतृत्व चयन प्रयास असफल भएपछि चुनाव भएको हो।
नयाँ नेतृत्वका लागि २ सय ७५ सदस्यीय समितिले मतदान गर्नेछन्। अध्यक्ष पदमा सरल सहयात्री र दीनानाथ गौतम छन्। चुनावबाट ९ पदाधिकारी चयन हुनेछन्।
Shares
प्रतिक्रिया