नेपाली कांग्रेसमा दोस्रो पटक सभापतिमा नवनिर्वाचित शेरबहादुर देउवा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा गुमेको पार्टीको साख फर्काउन प्रयासरत देखिएका छन्।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टी कार्यालय सानेपामा शनिबार गरेको ‘प्रमाण पत्र वितरण समारोह’ मा गत निर्वाचनमा पार्टीले ब्यहोरेको हारबाट गुमेको साख फर्काउन आफू प्रयासरत रहेको संकेत उनले गरेका हुन्।
१४ औँ महाधिवेशनमा निर्वाचित पार्टीका पदाधिकारी र सदस्यहरुलाई प्रमाण पत्र वितरण समारोहको समापनमा देउवाले आसन्न निर्वाचनमा जितेर कांग्रेसलाई ठूलो पार्टी बनाउनुपर्ने जिम्मेवारी रहेको जिकिर गरे।
‘वडादेखि पूर्ण रुपले डेमोक्रेटिक एक्सरसाइज भएको छ। हाम्रो पार्टी सच्चा मानेमा डेमोक्रेटिक छ,’ उनले भने, ‘भोलिका दिनमा ठूलो चुनौती छ। हाम्रो पार्टीले जित्नुपर्ने छ। सबैभन्दा ठूलो पार्टी बन्नुपर्ने छ।’
प्रधानमन्त्रीसमेत रहेका देउवाले यसअघि गिरेको साख फर्काउनकै लागि सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउने पनि जिकिर गरे। उनले १४ औँ महाधिवेशनमा आफूलाई कसले मत दिए, दिएनन् भनेर काखा–पाखासमेत नगर्ने बताए।
‘म सबैको प्रतिनिधित्व गरेर निष्पक्ष रुपमा पार्टीलाई अगाडि बढाउँछु,’ देउवाले भने, ‘कसैले भोट हाल्यो हालेन भन्ने मनमा छैन। म सबैको सभापति हुँ।’
उनले आगामी दिनमा सबैको भावना कदर गरेर सभापतिको कर्तव्य निर्वाह गर्ने पनि उल्लेख गरे। ‘सबैलाई समावेश गरेर सबैको भावनाको कदर गरेर सभापति बन्छु,’ प्रधानमन्त्री देउवाले भने।
२०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ २३ निर्वाचन क्षेत्रमा मात्रै जित हात पारेको थियो।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको चुनावी तालमेलले कांग्रेस प्रत्यक्षतर्फ २३ सिटमा खुम्चिएपछि पार्टीभित्रै देउवाको तीखो आलोचना भएको थियो।
पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि निर्वाचन समितिको कार्यक्रममा उनी आसन्न निर्वाचनमा पार्टीलाई ठूलो दल बनाएर आलोचनाबाट मुक्त हुन चाहेको आशयमा प्रस्तुत भएका छन्।
नवनिर्वाचित उपसभापति धनराज गुरुङ पनि सभापतिमा विजयी भएपछि पहिलो पटक प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा पार्टीको साख फर्काउने चिन्ता देखिएको बताउँछन्।
गत निर्वाचनमा व्यहोर्नुपरेको हारको पीडा सबैमा रहेको भन्दै उनले सभापति देउवामा पनि उक्त चिन्ता देखिनु स्वाभाविक भएको प्रतिक्रिया दिए।
‘गएको चुनावको परिणामले पार्टी जुन अवस्थामा देखियो यसमा सबैको एउटै चिन्ता छ। हामीले यसलाई पूरै रुपान्तरण गरेर जानु छ,’ उपसभापति गुरुङले भने, ‘आजको अभिव्यक्तिमा त्यो चिन्ता सभापतिज्यूमा पनि देखियो। जुन स्वाभाविक हो।’
नवनिर्वाचित महामन्त्री गगनकुमार थापा पनि सभापति देउवाको अभिव्यक्तिबाट उत्साहित देखिएका छन्। उनी सभापतिको ‘बोलाई र गराई’ मा समानता देखिए पार्टीका लागि स्वर्णिमकाल बन्न सक्ने बताउँछन्।
‘सभापतिज्यूले आज जे बोल्नुभयो त्यो एकदमै सकारात्मक छ,’ थापाले नेपालखबरसँग भने, ‘उहाँले आज बोलेका कुराहरु निर्णयहरूमा देखिँदै गए भने पार्टीका लागि स्वर्णिमकाल बन्न सक्छ।’
देउवा अब पार्टीको विधानअनुसार अर्को कार्यकाल सभापति बन्न नमिल्ने अवस्था दर्साउँदै उनले सभापतिले दिएको अभिव्यक्तिअनुसार काम गरेर अगाडि बढे पार्टीको गिरेको साख फर्काउन कसैले पनि रोक्न नसक्ने समेत दाबी गर्छन्।
महामन्त्री थापाले ‘बोलाई र गराई’ मा भिन्नता देखिए सभापति देउवाबाट अन्यायमा पर्नेहरू एक ठाउँमा आउने समेत प्रतिक्रिया दिए। ‘सभापतिज्यूले आज बोल्नुभएको कुरो निर्णयमा देखिएन भने हामी अन्यायमा पर्यौँ भन्नेहरु एक ठाउँमा आइहाल्छन्,’ उनले भने।
१४ औँ महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गरेका डा. शेखर कोइरालाले सार्वजनिक रुपमै आगामी दिनमा आफूले निर्वाह गर्ने भूमिकाबारे अभिव्यक्त गरिसकेका कारण सभापति देउवालाई आगामी दिनमा सबैलाई एकढिक्का बनाएर अगाडि बढ्न सहज हुने महामन्त्री थापाको भनाइ छ।
डा. कोइराला सभापति देउवासँग कुनै भाग नलिने, सहकार्य गर्ने, विधानअनुसार पार्टी सञ्चालनका लागि दबाब सिर्जना गर्ने अभिव्यक्ति दिइरहेका छन्।
Shares
प्रतिक्रिया