प्रदेश सरकार स्थापना भएको झण्डै चार वर्षपछि प्रदेश २ ले स्थायी राजधानी र नाम पाएको छ।
सोमबार बसेको प्रदेशसभा बैठकले मतदान प्रक्रियाद्वारा दुईतिहाइले स्थायी राजधानी जनकपुरधाम र नाम मधेश प्रदेश पारित गरेको हो।
सबै दलको साझा प्रस्ताव राजधानी जनकपुरधाम रहेको थियो। जसपा, माओवादी केन्द्रको मधेश प्रदेश प्रस्तावमा प्रतिपक्षी दल लोसपाले समर्थन गरेको थियो।
दुवै प्रस्तावमा प्रदेशसभामा कायम १०४ सांसद मध्ये ९९ मत खसेको थियो। जसमा जनकपुरधाम राजधानी हुनुपर्ने प्रस्तावमा ७८ मत खसेको थियो।
नाम मधेश हुनुपर्नेमा ८० मत खसेको छ। दुवै प्रस्ताव पारित हुन दुईतिहाइ अर्थात ७० मत आवश्यक थियो। तर, दुवै प्रस्ताव दुईतिहाइ बढी बहुमतले पारित भएको हो।
प्रदेशसभामा राजधानीका लागि जनकपुरधाम र वीरगञ्जका दुईसहित तीनवटा प्रस्ताव पेश भएको थियो। नामका लागि चारवटा प्रस्ताव पेश भएको थिए।
नेकपा एकीकृत समाजवादीले जानकी प्रदेश, कांग्रेसले मिथिला भोजपुरा प्रदेश र कांग्रेसका सांसद राजेश्वर प्रसाद साहले मध्य मधेश प्रदेश नाम प्रस्ताव गरेका छन्।
सबै दलका साझा प्रस्ताव भएकाले राजधानी जनकपुरधाम पारित हुने निश्चित जस्तै थियो। तर, तीन बाहेक अन्य दलको छुट्टा छुट्टै प्रस्ताव रहेकाले नाम पारित हुनेमा शंका थियो।
मधेश प्रदेश नामको लागि तीन दल र एक स्वतन्त्र सांसद गरी ६२ मत मात्रै पुगिरहेको थियो। यद्यपि सत्ता प्रमुख दल जसपा र प्रमुख प्रतिपक्षी लोसपाले कांग्रेस र एकीकृत समाजवादीका केही सांसदहरु फ्लोर क्रस गरेर भएपनि मतदान गर्ने दावी गर्दै आएका थिए।
यस्ताेमा कांग्रेसका १० तथा एकीकृत समाजवादी र एमालेका समेत गरी १८ सांसदले फ्लाेर क्रस गरेका थिए।
कांग्रेसका राजेश्वर प्रसाद साहले मध्य मधेश नाम प्रस्ताव गरेका थिए। त्यसमा कांग्रेसकै अन्य तीन सांसदले समर्थन गरेका थिए।
त्यसकारण कांग्रेसका केही सांसदले मधेश प्रदेशमा पनि फ्लोर क्रस गरेर मतदान गर्ने अनुमान र त्यही अनुसार प्रदेश सरकारले कसरत समेत गरेको थियो।
यस्तै एकीकृत समाजवादीका केही सांसदले मधेश प्रदेश नामको प्रस्ताव फेल भए अन्य कुनै हुनै नसक्ने भएकाले अन्त समयमा आन्तरिक रुपमा मधेश प्रदेशमै सघाउने वचन दिएका थिए।
कांग्रेस र नेकपा एसका सांसदले फ्लोर क्रस गरेकाले नाममा अनुमानभन्दा बढी मत खसेको बताइएको छ।
Shares
प्रतिक्रिया