दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नदीमा भारतीय पक्षले पक्की तटबन्ध बनाउन थालेको छ। नेपाली प्रशासनसँग समन्वय नै नगरेर भारतीय पक्षले एकतर्फी तरिकाले महाकालीमा पक्की तटबन्ध निर्माण गर्न थालेको हो।
महाकाली नदीको बहाव सदरमुकाम खलंगातिर धकेलिने गरी भारतले महाकाली नगरपालिका–४ स्थित महाकाली पारी मनलाग्दी तरिकाले पक्की तटबन्ध बनाउन सुरु गरे पछि स्थानीय सशंकित भएका छन्।
भारतीय पक्षले पुलघाटदेखि तल्लो क्षेत्रमा करिब दुईदेखि पाँच मिटर नदीतिरको भागमा तटबन्ध निर्माण सुरु गरेको महाकाली नगरपालिकाका नगर प्रमुख हंशराज भट्टले बताए।
‘अनौपचारिक रुपमा बुझ्दा तटबन्धका लागि ठूलो बजेट आएको बुझिएको छ। आफ्नै भूमिमा तटबन्ध गरे पनि भारतले हामीसँग पनि समन्वय गर्नु पर्ने हो,’ उनले भने, ‘तर त्यसो भएको पाइँदैन। नेपालतिर नोक्सान हुने किसिमले तटबन्ध निर्माण गरिनु हुँदैन।’
आफ्नो भूभागतर्फ पुलघाटदेखि जहरलालसिंह नवियाल स्टेडियमसम्मको एक किलोमिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण सुरु गरेको भारतले ढुङ्गा पन्छाउने तथा जग खन्ने काम गरेको छ।
अन्तर्राष्ट्रिय सन्धि–सम्झौता अनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाइँदैन। तर दार्चुलामा भने नेपाली पक्षलाई जानकारी नै नदिएर भारतीय पक्षले नदीको बहाव परिवर्तन हुने किसिमले आफूखुसी पक्की तटबन्ध निर्माण गरिरहेको छ।
तटबन्ध निर्माणका लागि भारतले कुनै समन्वय नगरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दीर्घराज उपाध्याय बताउँछन्।
‘हामीले पनि महाकाली पारी तटबन्ध निर्माण भइरहेको देखेका छौँ। तर भारतीय प्रशासनले हामीसँग कुनै समन्वय गरेको छैन,’ उनले भने, ‘सीमामा सहजै काम गर्न दुवै देशको समन्वय आवश्यक हुन्छ।’
दार्चुला प्रशासनसँग समन्वय नगरी भारतीय पक्षले आफूखुसी तटबन्ध निर्माण गरिरहेको विषय गृहमन्त्रालयलाई पत्राचार गरेर जानकारी गराएको सीडीओ उपाध्यायले बताए।
महाकाली नदीमा भारतले आफूखुसी तटबन्ध निर्माण गरिरहेको भए पनि नेपाल सरकार भने यस विषयमा मौन छ।
वि.सं.२०७० सालमा महाकालीमा आएको भीषण बाढीअघि पनि भारतले नदीको धार परिवर्तन हुने गरी तटबन्ध बनाएको थियो । यसपटक पनि त्यसै किसिमले महाकालीमा तटबन्ध निर्माण हुन थालेपछि महाकाली फर्किने खतरा बढेको स्थानीय बताउँछन्।
‘महाकाली हामीतिर फर्काउने संरचना यसअघि नै बनेका छन्। वर्षातमा नदीमा पानीको बहाव बढी भएका बेला नदी हाम्रोतिर आउँछ,’ महाकाली नगरपालिका–४ का स्थानीय रामदत्त भट्टले भने, ‘अझै भारतले तटबन्ध बनाइरहेकाले यो क्रम बढ्ने जोखिम छ।’
Shares
प्रतिक्रिया