ad ad

राजनीति


लेखराजले भाइलाई नगर अध्यक्ष बनाएपछि कैलाली एमालेमा चर्कियाे विवाद

लेखराजले भाइलाई नगर अध्यक्ष बनाएपछि कैलाली एमालेमा चर्कियाे विवाद

गोकुल जोशी
माघ १९, २०७८ बुधबार १६:७, काठमाडौँ

नगर कमिटी गठनको विषयले नेकपा एमाले कैलालीभित्र विवाद चर्किएको छ। नेकपा (एमाले) सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको गृहनगर गोदावरीमा नगर कमिटी गठनलाई लिएर एमाले भित्र विवाद उत्पन्न भएको छ। 

नगर कमिटी गठनलाई लिएर दश बुँदे पक्षधर नेता डा. भीम रावल र इन्चार्ज भट्ट पक्षबीच विवाद चर्किएको हो। इन्चार्ज भट्टको गृहनगर गोदावरीमा विधि र प्रक्रिया विपरीत नगर कमिटी घोषणा गरिएको भन्दै रावल पक्ष असन्तुष्ट बनेको छ। 

निर्वाचन प्रक्रिया सुरु नगरी मनोमानी ढंगले आफू निकट नेताहरुलाई कमिटीमा राखेको भन्दै प्रतिनिधिले अधिवेशन बहिस्कार गरेका छन्। एमाले सुदूरपश्चिम इन्चार्ज भट्टका भाइ गोकर्ण भट्टको नेतृत्वमा गोदावरी नगर कमिटी घोषणा गरिएको थियो। 

कमिटी गठनबारे बन्द सत्रमा कुनै पनि छलफल र प्रक्रिया नगरी मनोमानी तरिकाले पदाधिकारी घोषणा हुन थालेपछि आफूहरूले बन्दसत्र बहिष्कार गरेकोे प्रतिनिधि कृतबहादुर चन्दले बताए। 

‘प्रतिनिधिको आकांक्षा विपरित सरसल्लाह नै नगरेर कमिटी बनाइयो। डायरीमा लेखेका आफूलाई मन परेका व्यक्तिलाई कमिटीमा राखिएको छ,’ उनले भने, ‘कुनै पनि विधि, पद्दति र प्रक्रिया नअपनाइ घोषणा गरिएको कमिटी हामीलाई मान्य हुँदैन।’

एमाले कैलालीका अध्यक्ष रतन थापाले ‘माथिको निर्देशन’ भन्दै पार्टीको विधि विपरित प्रतिनिधिसँग सरसल्लाह नै नगरी कमिटी घोषणा गरेको उनी बताउँछन्।

मनोमानी रुपमा नगर कमिटी गठन गरिएको विरोधमा बन्दसत्र बहिस्कार गर्दै आधा बढी प्रतिनिधि बाहिरिएको उनको दाबी छ। 

‘कार्यकर्तालाई आफ्नो हकअधिकार प्रयोग गर्नै दिइएन। माथिको निर्देशन भन्दै मनोमानी रुपमा छलफल नै नगरेर बन्द सत्रमा आसन ग्रहण गरेको एकैछिनमा कमिटी घोषणा गरिएको थियो,’ उनले भने, ‘पार्टी कुनै एक व्यक्तिको होइन। विधि, प्रकृया अनुसार चल्नु पर्छ। माथिको निर्देशनले कमिटी बन्ने भए चुनाव पनि जितिएला नि।’

आफूहरुलाई भीम रावल निकटको ‘ट्याग’ लगाएर कमिटी बाहिर राख्न खोजिएको उनी बताउँछन्। चन्दले एमाले गोदावरी नगर कमिटी उपसचिवमा उम्मेदवारी दिने तयारी गरेका थिए।

‘जिल्ला अधिवेशनमा चुनाव हुँदा दुई कित्ता देखियो। हामीले रणबहादुर चन्दको प्रचारप्रसार गरेका थियौँ,’ उनले भने, ‘त्यही रिसिबीका साध्न अहिले हामीलाई बेवास्ता गरिएको हो।’

अधिवेशन उद्घाटन भएको करिब तीन महिनापछि नयाँ नेतृत्व चयनका लागि बुधबार बन्दसत्र बोलाइएको थियो। गत १५ कात्तिकमा नगर अधिवेशन उद्घाटन भए पनि विवादका कारण कमिटी गठन हुन नसक्दा बन्दसत्र अनिश्चित समयका लागि स्थगित गरिएको थियो। 

बन्द सत्रमा गोकर्ण भट्टको नेतृत्वमा गोदावरी नगर कमिटीको घोषणा गरिएको थियो। नगर कमिटी उपाध्यक्षमा बलबहादुर चौधरी, सचिवमा जीवन कुमार शाह तथा उपसचिवमा राधिका जोशी र महावीर विक (मुन्ना) चयन भएका थिए। भट्ट नेकपा एकीकरणको एकता प्रक्रियाबाट एमालेमा रहेका नेता हुन्।

इन्चार्ज भट्टले आफ्ना भाइलाई अध्यक्ष बनाउन एकलौटी रूपमा कमिटी घोषणा गर्न लगाएको असन्तुष्ट पक्षको आरोप छ। उनलाई अध्यक्ष बनाउने सहमति नजुटेकै कारण तीन महिनासम्म नगर कमिटी गठन हुन नसकेको एक नेताले बताए। 

‘लेखराजले आफ्ना भाइलाई अध्यक्ष बनाउन चाहेका थिए तर पूर्वएमालेका बहुसंख्यक नेताले उनलाई स्वीकार नगरेपछि कमिटी गठन हुन सकेको थिएन,’ एमाले गोदावरी नगरका एक नेताले भने, ‘अहिले जिल्ला नेतृत्व आफूअनुकुल आएपछि एकलौटी रुपमा कमिटी घोषणा गरिएको हो।’

एमालेको असन्तुष्ट पक्ष बिहिबार राखिएको नयाँ कमिटीको सपथ ग्रहण कार्यक्रममा समेत सहभागी भएको छैन। 

यता, एमाले कैलालीका सचिव डेजी पाण्डेय गोदावरीको कमिटी चयनमा असन्तुष्टि नरहेको र सहमतिमै कमिटी गठन गरिएको दाबी गर्छन्। 

‘आन्तरिक विवादले लामो समयसम्म नेतृत्व चयन हुन सकेको थिएन। अहिले जिल्ला इन्चार्ज, अध्यक्षलगायत पदाधिकारीको सहमतिमै कमिटी टुङ्ग्याइएको हो’, उनले भने, ‘त्यस्तो असन्तुष्टि केही छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .