वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मधेस प्रदेशमा रोक्न माग गर्दै आफूले सर्वाेच्च अदालतमा दर्ता गराएको रिट निवेदन दरपीठ भएपछि महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले त्यसविरुद्ध फेरि मुद्दा हालेका छन्।
उनले आगामी वैशाख ३० गते हुने निर्वाचन मधेस प्रदेशमा रोक्न माग राखेर गत बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। तर अदालत प्रशासनले त्यसलाई दरपीठ गरेको थियो।
प्रशासनको निर्णयविरुद्ध निवेदकले इजलासमा निवेदन दिन सक्ने व्यवस्था छ।
सोही अनुसार मेयर साहले दरपीठविरुद्ध शुक्रबार सर्वाेच्च अदालतमा पुनः रिट निवेदन दर्ता गराएका हुन्। जसको सुनुवाइ फागुन ४ गते हुने मेयर साहले नेपालखबरलाई जानकारी दिए।
मेयर साहले संविधानको धारा २१५ र २१६ अनुसार स्थानीय तहमा निर्वाचित पदाधिकारीको कार्यकाल ५ वर्ष हुने हुँदा उक्त कार्यकाल पूरा भएपछि मात्रै चुनाव हुनुपर्ने माग दाबीसहित निवेदन दिएका थिए। सो निवेदनलाई सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो।
तत्कालीन प्रदेश २ मा २०७४ सालमा स्थानीय तहको चुनाव असोज २ गते भएको थियो। आगामी वैशाख ३० गते नै चुनाव गर्दा धारा २१५ र २१६ अनुसारको कार्यकाल पूरा हुन नपाउने दाबी रिट निवेदनमा गरिएको छ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले स्थानीय तह निर्वाचन ऐनले चुनावबारे प्रस्ट पारेकाले त्यसकै आधारमा रिट निवेदन दरपीठ गरिएको जानकारी दिएका थिए।
सरकारले वैशाख ३० एकै चरणमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरिसकेको छ।
Shares
प्रतिक्रिया