सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनको सहमतिमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरिएको बताएका छन्।
जनयुद्ध दिवस मनाउन जनकपुर पुगेका उनले सञ्चारकर्मीहरुसँगको संवादका क्रममा यस्तो बताएका हुन्।
'गठबन्धनको सहमतिमै जबराविरुद्ध महाअभियोग लगाइएको छ। यसका कारण गठबन्धन फुट्दैन', उनले भने, 'न्यायको क्षेत्रमा केही समयदेखि अन्योल, अराजकता र बेथिति देखा परेको थियो। त्यसलाई हामीले किनारा लगाउने कोसिस गरेका हौँ।'
प्रचण्डले स्वतन्त्र न्यायालयमा विचित्र अवस्था आएको बताउँदै सहज निकासको आश गर्दा नभएपछि यो कदम चालिएको पनि बताएका छन्।
'न्यायालयमा देखिएको समस्याको हामीले सहज ढंगले निकास निकालौँ भनेको हो। सहज निकास दिन सबैलाई अपिल पनि गरेको हो', उनले भने, 'न्यायालयको विवादमा मुख्य जिम्मेवार प्रधानन्यायाधीश नै हुनुपर्छ भनेका हौँ। उहाँले अरु न्यायाधीशसहितलाई विश्वासमा लिएर पनि काम गर्नुपर्छ भनेको हो।'
तर आफूहरुले चाहे अनुसार न्यायालयमा सुधार हुने नदेखिएपछि महाअभियोग लगाउनुपरेको उनले बताए।
'न्यायक्षेत्रमा लामो समय अन्योल हुने अवस्था देखिएपछि महाअभियोग लगाएको हो', उनले भने, 'त्यसका लागि कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीसँग पनि आमसहमति भएको छ। यसकै कारण गठबन्धन तलमाथि हुँदैन।'
Shares
प्रतिक्रिया