नेपाली सेनाले स्वार्थको द्वन्द्व, अधिकारको दुरुपयोग, यौनजन्य शोषण र दुव्यवहारजस्ता विषय आउन सक्ने गुनासो समावेश गरी सैनिक मुख्यालय जंगी अड्डामा नेतृत्व संवाद सञ्चालन गरेको छ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रत्यक्ष कमाण्डमा रहेका कार्यालय, विभाग, पृतना, निर्देशनालय र स्टाफको उपस्थितिमा सञ्चालन भएको उक्त कार्यक्रमबाट ऐन, नीति, नियम, नियमावली, आदेश र निर्देशनलाई थप स्पष्ट पार्न योगदान पुग्ने विश्वास लिइएको छ। विभिन्न अवस्थामा विद्यमान नियम कार्यान्वयनमा हुनसक्ने दुविधालाई हटाउन मद्दत पु-याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा सैनिक आचरण, अनुशासन, नैतिकता र मूल्यमान्यतामा थप कटिबद्ध भई दिइएको जिम्मेवारी पूरा गर्न प्रेरणा मिल्ने विश्वास गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सेनाको प्रत्येक अंगको तल्लो तहका नेतृत्व तथा स्टाफ तहसम्मका सम्पूर्णलाई समावेश गरी आगमी चैत मसन्तभित्र यस्तै अन्तरक्रिया सञ्चालन गर्ने योजना रहेको निर्देशनालयले जानकारी दिएको छ। नेतृत्व संवाद कार्यक्रमले संगठनका सबै तहकालाई प्राप्त अधिकारको सदुपयोग र आर्थिक अनुशासन कायम हुने नेपाली सेनाले विश्वास लिएको छ। रासस
प्रतिक्रिया