ad ad

राजनीति


गठबन्धनका नेताहरुलाई देउवाले भने : अब म धेरै थेग्न सक्दिनँ

ओली फकाउन सिधै बालकोट
गठबन्धनका नेताहरुलाई देउवाले भने : अब म धेरै थेग्न सक्दिनँ

फाइल फोटो


सागर न्यौपाने
फागुन ५, २०७८ बिहिबार २३:४१, काठमाडौँ

बालुवाटारमा बिहीबार साँझ बसेको सत्तारुढ ४ दलको बैठकमा अडानबाट पछि नहटेका प्रधानमन्त्री शेरबहादुर देउवा विकल्पको खोजीमा लागेका छन्। 

अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कप्याक्ट सम्झौता (एमसीसी) लाई शुक्रबारको संसद बैठकमा पेश गर्न सहमतिका लागि प्रधानमन्त्री देउवाले विहीबार साँझ सत्ता गठबन्धनको बैठकमा प्रस्ताव गरेका थिए। 

उक्त बैठकमा चार दलका नेताहरुबीच समझदारी कायम गराउने प्रयास असफल भएपछि उनले एमालेको साथ खोजेका छन्। 

बैठकमा उपस्थितमध्ये बहुमत नेताहरु अहिलेको अवस्थामा एमसीसी टेबल गर्न नहुने भन्दै विरोधमा उत्रिएपछि प्रधानमन्त्री देउवा नेकपा एमालेका साथ खोज्ने निष्कर्षमा पुगेका हुन्।

देउवा बिहीबार राति पत्नी डा. आरजु राणालाई लिएर एमाले अध्यक्ष कपी शर्मा ओली निवास बालकोट पुगे।

देउवाले एमसीसी भोलि बस्ने संसद बैठकमा पेश गर्ने समझदारी गर्न सत्ता गठबन्धनको बैठक बोलाएका थिए। 

तर, बैठकमा कुनै समझदारीको साटो उल्टै र्‍याखर्‍याख्ती पारिएपछि देउवा बालकोट पुगेका हुन्।

गठबन्धनको बैठक बस्नुअघि कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसहितले विहीबार बिहान बालकोट पुगेर ओलीलाई भेटेका थिए।

ओलीले गठबन्धन टुटाएर आउनु अनि साथ दिएर जान सकिन्छ भन्न ब्यहोराको सन्देश देउवासमक्ष पठाएका थिए। 

आफ्ना नेतामार्फत एमालेको ग्रीन सिग्नल पाएका देउवा गठबन्धनमा निर्णायक रुपमा प्रस्तुत भएको एक नेताले बताए।

‘उहाँले (प्रधानमन्त्री) आफ्ना केही नेताहरुमार्फत एमालेको ग्रीन सिग्नल पाउनु भएको रहेछ, गठबन्धन बैठकमा आफ्नै मुडमा हुनुहुन्थ्यो,’ बैठकमा सहभागी एक नेताले नेपालखबरसँग भने, ‘गठबन्धन तोडिए पनि मतलब नभएको जसरी उहाँ प्रस्तुत हुनुभएको थियो।’

‘अड्डी नछोड्ने र एमसीसी जसरी पनि टेबल गर्ने  प्रधानमन्त्रीजीको योजना पायौं,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘त्यही भएर कुनै निष्कर्ष निस्किएन, हामीले संसद सुचारु हुनुपर्छ भन्यौँ। यस्तो दीर्घकालिन र देशलाई असर गर्ने विषय हतारिएर निर्णय गर्ने भन्ने हुँदैन भन्यौं। भोलि बिहान १० बजे फेरि गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्छौँ।’ 

गठबन्धन बैठकमा सहभागी नेताहरुले चार कुरा उठाएका थिए।

सुरुमै प्रधानमन्त्री देउवाले एमसीसी भोलिकै बैठकमा टेबल नगरी भएन, मलाई दबाब भयो, मैले यस्तो दबाब खप्न सकिनँ यसलाई टेबल गरौं र पास गरेर जाऔँ भन्ने प्रस्ताव गरेका थिए। 

देउवाको प्रस्ताव आउनेबित्तिकै नेताहरुले धारणा राख्न थालेका थिए।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री देउवालाई एमसीसी टेबल गर्नु अगाडि संविधानको पालना गर्न सुझाव दिएको एक नेताले बताए।

‘प्रधानमन्त्रीजी तपाईँले एकोहोरो एमसीसी टेबल गर्ने कुरा मात्र गर्नुभयो तर, पहिला संविधान पालना गर्नुस्, बैठकमा खनालले राखेको भनाइ उधृत गर्दै ती नेताले भने, ‘नत्र अझै धेरै प्रश्न उठाउने ठाउँ बाँकी रहन्छन्।’  

खनालले एमसीसी जस्तो विषयलाई हल्का नसम्झन पनि सुझाए।

‘तपाईँले संसदबाट अनुमोदन गर्ने भनेर हामीलाई भनिरहँदा यो विषय संघीय ऐन बनाएर लैजानुपर्ने छ, त्यो बनेको छ त?’, खनालले देउवासमक्ष प्रश्न गर्दै थपे, ‘२०४७ को ऐन जस्तै एकात्मक रुपमा लैजानुभयो भने त्यो असंवैधानिक हुन्छ। यस्तो असंवैधानिक काम गर्दै नगर्नुस्।’

बैठकमा दोस्रो विषय एमालेको संसद अवरोधबीच कुनै हालतमा एमसीसी टेबल गर्न हुँदैन र सकिँदैन भन्ने थियो।

‘संसद सुचारु छैन, अपोजिसन पार्टी संसद खोल्न तयार छैन, बैठकमा अवरोध मात्र गरिरहन्छ यस्तो बेला तपाईँले एमसीसी टेबल गर्न सुरुङ बनाउनु भएको छ र?,’ माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सोधे।

तेस्रो विषय संसद नखुलेको, सभामुखसँग छलफल नभएको र राजनीतिक दलहरु नै एमसीसीप्रति एक मत नभएका बेला कसरी संसदमा टेबल गर्नु हुन्छ?  

तपाईँलाई एमसीसी टेबल गर्न सभामुखले स्वीकृति दिने वातावरण छ त? कि तपाईँले सभामुखसँग कुरा गर्नुपर्ला, यदि होइन जवरजस्ती टेबल गर्छु भन्नुहुन्छ भने गर्नुस् हामी हाम्रा आफ्ना मत राख्छौँ।’

बालुवाटार बैठकमा राष्ट्रिय जनमोर्चालाई बोलाइएको थिएन। सत्ता गठबन्धनका सबै दलबाट उपस्थित नेताहरु एमसीसीबारे आफ्ना धारणा राख्दा राख्दै बैठक सकिएको थियो।

सहभागी टेबल गर्न तयार नदेखेपछि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संसद खुलाउनेबारे छलफल गर्छु भन्दै बालकोट जाने सन्देश गठबन्धनमा दिएका थिए। 

त्यसपछि फेरि नेताहरुले देउवालाई भने, ‘यदि तपाईँले केपी ओलीसँग भित्री साँठगाँठ गरेर एमसीसी पास गर्ने योजना बनाउनुभएको छ भने हामीलाई भन्नुहोला, हामी हाँसीहाँसी विरोध गरौंला।’

बैठकमा गठबन्धन बनाउँदाका अप्ठ्यारोदेखि एमसीसीले राष्ट्रिय राजनीतिमा पारेको प्रभाव वा असरलाई नजरअन्दाज गर्न नसक्ने भएको नेताहरुले बताएका थिए। 

त्यसपछि प्रधानमन्त्री देउवाले आजै बालकोट गएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने र संसद बैठक सुचारु गर्न अनुरोध गर्ने बताएका थिए।

‘म अहिले यो बैठक लगत्तै बालकोट जान्छु र केपी ओलीलाई बैठक सुचारु गर्न अनुरोध गरेर आउँछु भन्नुभयो,’ बैठकमा सहभागी एक नेताले नेपालखबरसँग भने।

गठबन्धन बैठकलगत्तै श्रीमती आरजु राणाका साथ देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए। बालकोटमा तीनजनाबीच भएको कुराकानीको विस्तृत विवरण दुवै नेताका सचिवालयले केही खुलाएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .