ad ad

राजनीति


एमसीसी पास गर्न निर्णायक एमाले कि कांग्रेस?

अझै पनि गठबन्धन फुटाउने दाउमा ओली
एमसीसी पास गर्न निर्णायक एमाले कि कांग्रेस?

फाइल फोटो


सागर न्यौपाने
फागुन ८, २०७८ आइतबार २३:२७, काठमाडौँ

आइतबार दिउँसो १ : ५४ बजेको थियो। 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संसद भवन पुगे। 

प्रतिनिधि सभाको बैठक सुरु भइसकेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूची पढेर मन्तव्य राख्न नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङलाई समय दिएका थिए। 

अध्यक्ष ओली बैठक कक्ष प्रवेश गरेनन्।

विपक्षी दलका सांसद बस्ने छुट्टै कोठामा गएर बसे।

अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा टेबल गर्ने कार्यसूची सार्वजनिक भइसकेको थियो। त्यही भएर ओली पनि बैठकस्थल पुगेका थिए।
त्यसपछि सभामुखले एमाले सांसद भीम रावललाई आफ्ना धारणा राख्न समय दिए। 

रावलपछि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल बोले।

चारैजनाको भनाइको सार एउटै थियो, एमसीसी संसदमा टेबल गर्नु हुँदैन। अझ सुवाल र पौडेलले त त्यसलाई खारेज नै गर्नुपर्ने बताए।

एमालेको नाराबाजीबीच चारजना सांसद बोले पनि कार्यसूचीमा रहेका तीनै विषयलाई संसदमा टेबल गर्न सभामुख सापकोटाले प्रक्रिया अघि बढाउने समय दिए। 

करिब ३३ मिनेट बसेको बैठकमा एमसीसी टेबल गर्ने प्रस्ताव सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सदनसमक्ष राखे। तर कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने भनिएको थियो। 
३३ मिनेट बसेको संसद बैठकमा एमसीसी टेबल भएसँगै १२ गतेसम्मको लागि स्थगित भएको छ।

बैठक स्थगित भएपछि केही सांसदहरुलाई ओलीले छलफलका लागि बोलाए।

अनि संसद बैठकमा भएका कुराहरूको ब्रिफिङ लिए।

एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङका अनुसार​ एक घण्टा जति अध्यक्ष ओलीले आफ्ना धारणा राखेका थिए। उनले एमसीसीका विषयमा एमालेको धारणा राखेनन्। बरु अहिलेका सत्ता गठबन्धनबीच विश्वास नै नभएको बताएको नेम्वाङले जानकारी दिए।

‘सरकार कन्फ्युजनमा छ, हामीले अहिले सरकारको गतिविधि अध्ययन र विश्लेषण गर्ने हो,’ ओलीको भनाइ उद्धृत गर्दै उनले भने, ‘एमालेले बाहिर भन्ने कुरा केही छैन, हामी सरकारका काम कारवाही हेरिरहेका छौँ।’

संसदमा टेबल भएको एमसीसी पास या फेल गर्ने कुरा एमालेको हातमा रहेको विश्लेषण भइरहेको छ।

त्यहीबेला संसद भवन पुगेरै ओलीले आफ्ना सांसदसँग छलफल गरी निर्देशन दिएका छन्। केही महत्वपूर्ण कुरा पनि राखेका छन्।

एमाले एमसीसीको विरोधमा छैन। तर निर्णयार्थ प्रस्तुत हुँदाको पोजिसन पनि प्रष्ट पारिसकेको छैन।

आफ्नै सरकारको पालामा अघि बढाएको एमालेले अहिले संसदमै प्रवेश भएको विषयमा असहमति राख्नुपर्ने कुरै भएन।

नेताहरुका अनुसार अहिले एमाले सभामुख सापकोटासँग रुष्ट छ। त्यही भएर उसले संसदमा अवरोध गरिरहेको छ।

‘एमसीसी टेबल गर्दा सत्तापक्षकै प्रमुख दल असन्तुष्ट देखिएको छ। एमसीसीले गर्दा अमेरिका र चीन झगडा गर्ने अवस्था बन्यो,’ ओलीले थपे, एमसीसीलाई माओवादीका दुई दुईजना सभामुखले रोकेर नराखेको भए एउटा छिमेकी र अर्काे मित्र राष्ट्र लड्नुपर्ने अवस्था बन्दैनथ्यो।’

एमसीसीलाई सत्ता गठबन्धनबाट गिजोलिएको एमालेको ठहर छ। 

‘सत्ता घटकबाटै गिजोलेर देशको मैदानमा उत्रिने गरी शक्ति राष्ट्रलाई निमन्त्रणा दिएको र देशमा आन्दोलनको वातावरण बनाएर बल्ल संसदमा टेबल गर्नुभएको छ, एमालेसँग यसबारे एकपटक पनि छलफल गरिएको छैन’, सांसदहरुसँग ओलीले भने, ‘प्रमुख प्रतिपक्षी उभिएपछि त बैठक स्थगित गरिएको थियो तर, यहाँ त कुरा मिलुञ्जेल पेलेर जाने, मिल्न छोडेपछि खोज्ने देखिएको छ।’

सांसदहरुसँगको छलफल सकाएर बाहिर निस्किने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा ओलीले कुनै जवाफ दिएनन्। 

एमाले अहिले एमसीसी प्रक्रिया कसरी अघि बढ्छ भनेर हेरिरहेको नेम्वाङको भनाई छ।

त्यसो त एमालेकै सांसद भीम रावलले एमसीसीविरुद्ध चर्काे आवाजसहित आफ्ना धारणा राखेका छन्।

तर, एमालेको संस्थागत धारणा के हो त ? 

एमालेकै नेताहरु स्पष्ट जवाफ दिन मान्दैनन्।

संसदमा टेबल भएको एमसीसी पास गर्ने कि फेल?यो दुवै शक्ति एमालेसँग छ।

त्यस्तो अवस्थामा एमाले निर्णायक हो। तर, एमालेका नेताहरु कांग्रेस सभापति देउवा नै निर्णायक रहेको दाबी गर्छन्।

त्यो गठबन्धन रोज्ने कि एमसीसी?भन्ने विषयमा छ।

एमालेका उच्च तहका ती नेताले नेपालखबरसँग भने, ‘एमसीसी रोज्ने भए देउवालाई साथ दिन एमाले तयार छ। तर, एमालेको एउटै सर्त गठबन्धन राखेर एमसीसी पास गर्दा सघाउन सकिँदैन, संसद अवरोध जारी रहन्छ।’

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको पक्षमा मत नदिने भनिसकेका छन्। 

त्यस्ता दललाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन जोगाउने कि एमसीसी पास गरेर गठबन्धन तोड्ने?यही निर्णय होस् भन्ने एमालेको चाहना छ।

प्रधानमन्त्री देउवाले संसदमा पेश गरेको एमसीसीलाई अहिले गठबन्धन जोगाउने गरी थाती राख्न सक्ने सम्भावना कम छ।

कांग्रेस महामन्त्री गगन थापाले हिजो एमसीसीको विरोध गर्नेहरु संसदमा टेबल गर्न राजी भएको बताउँदै अब केही दिनमा पास गर्न समेत तयार हुने ठोकुवा गरेका छन्।

त्यसो त एमसीसीको विरोध गर्ने भए माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारमा बसिरहन नमिल्ने बताउँछन् एमाले उपाध्यक्ष सुवास नेम्वाङ।

एमसीसी टेबल गर्दा सत्तापक्षकै सांसद विरोधमा उत्रिएका थिए। माओवादी केन्द्रबाट प्रमुख सचेतक देव गुरुङ, कृष्णबहादुर महरा र गिरिराजमणि पोखरेल एमसीसी संसदमा टेबल हुँदा उठेर विरोध जनाएका थिए।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र मुकुन्द न्यौपानेले पनि उठेर विरोध जनाए।

अध्यक्ष माधवकुमार नेपालले एमसीसी टेबल मात्र भएको अब पास गर्न आफ्नो पार्टीले मत नदिने प्रष्ट पारे।

‘सत्तापक्ष भएर सरकारले टेबल गरेको विषयमा विरोध जनाउने र विपक्षीमा मत दिन्छौं भनेर खुलेआम भन्नु संसदीय व्यवस्थामा सुहाउने कुरा होइन,’  नेम्वाङले भने, यस्ता सहयात्रीसँग मिलेर एमसीसी के गर्ने रहेछन् हाम्रो पार्टी हेरिरहनेछ।’

एमालेका एक पदाधिकारी अनुसार ४ अवस्था पूरा भएमा एमसीसी पास गर्न एमालेले सघाउनेछ।

पहिलो गठबन्धन तोडेर सभामुखविरुद्ध महाभियोग लगाउन तयार हुनुपर्ने।

दोस्रो, माधवकुमार नेपालसहित एमालेबाट विद्रोह गरे नयाँ पार्टी बनाउने १४ जना सांसदको पद खारेजी र कारवाही हुनुपर्ने।

तेस्रो, प्रदेशहरूमा शक्ति बाँडफाँट हुनुपर्ने

र, चौथोमा एमाले केन्द्रीय सरकारमा सहभागी नहुने तर, देउवाको सरकार जोगाउन समर्थन गर्ने।

एमसीसीमा कांग्रेस र एमाले एकै ठाउँ उभिएपछि अहिले भएका शंका पनि निवारण हुने एमालेको विश्लेषण छ।

स्थानीय तह निर्वाचनअघि एमाले प्रदेश सरकारमा आफ्नो प्रतिनिधित्व गराएर जाने दाउमा छ।

आफ्नो पार्टी सरकारमा भएको बेला एमसीसीलाई संसदमा पेश गरेकोले अहिले पास गरेर जान सकिने गरी छलफल भइरहेको ती नेताले बताए।

यदि गठबन्धन नतोडिएको हकमा भने एमालेले सदनमा अवरोध कायमै राख्नेमात्र होइन, एमसीसी पास गर्न नदिने गरी तयारी गर्ने समेत रणनीति बनाएको छ।

‘हाम्रा ९८ जना सांसदको भूमिका र प्रभाव कति छ भन्ने कुरा सदनमा देखाउनेछौँ, स्थायी समिति सदस्यले नेपालखबरसँग भने, एमसीसीले गठबन्धन टुटायो भने एमाले र कांग्रेस जोड्ने विषय पनि एमसीसी नै हुनेछ।’

एमाले सचेतक शान्ता चौधरीले पनि एमालेले अहिलेको अवस्थामा एमसीसीलाई अगाडि बढाउन सहयोग नगर्ने बताइन्।

‘जुन मुद्दा लिएर संसद अवरुद्ध गरिरहेका छौँ, आफैँले संसदको अवरोध खुलाउने कुरा सम्भव छैन,’ चौधरीले भनिन्, ‘कुनै प्रभावकारी निर्णय वा निष्कर्ष नभई एमसीसीमा समर्थन गर्दैनौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .