ad ad

राजनीति


माओवादी र समाजवादीले एमसीसीको विपक्षमा मत दिने, एमालेले पास गरे सरकार छाड्ने

माओवादी र समाजवादीले एमसीसीको विपक्षमा मत दिने, एमालेले पास गरे सरकार छाड्ने

सागर न्यौपाने
फागुन ९, २०७८ सोमबार २३:१५, काठमाडौँ

अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसीलाई संसदमा टेबल गरेपछि सबैभन्दा बढी अप्ठेरोमा परेको छ– सत्तारुढ नेकपा माओवादी केन्द्र। आलोचनाको केन्द्रमा छन् अध्यक्ष प्रचण्ड। उनलाई एकातिर गठबन्धन जोगाउनुछ, अर्काेतिर गठबन्धनले अघि सार्ने प्रस्तावको विपक्षमा उभिने निर्णय पार्टीले गरेको छ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल भएको थियो। फागुन १२ गते बस्ने संसद बैठकमा यसबारे छलफल हुँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसका नेताहरु सोही दिन एमसीसी पास गरेर जाने योजनामा छन्।

एमसीसी संसदमा टेबल गरिएकै विषयले असन्तुष्ट माओवादी केन्द्रका नेताहरुले सार्वजनिक रुपमै अध्यक्ष प्रचण्डको आलोचना गरिरहेका छन्। पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ खुलेरै विरोधमा उत्रिएका छन्। उनले सरकारबाट तुरुन्त फिर्ता हुने निर्णय गर्न माग पनि गरेका छन्।

केन्द्रीय समिति, स्थायी समिति र हालै मात्र सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनले समेत एमसीसीलाई कुनै हालतमा संसदमा टेबल नगर्ने निर्णय गरेको थियो। अहिले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै प्रचण्डसँग नेता तथा कार्यकर्ता रुष्ट छन्।  

गठबन्धन जोगाउने सर्तमा एमसीसी संसदमा टेबल भएको प्रचण्डको भनाइ छ। देउवाले एमालेसँग नजिकिएर एमसीसी टेबल गर्ने योजनामा लागेपछि गठबन्धनका दलहरु टेबल गर्न दिन राजी भएका हुन्। 

प्रचण्डले एमसीसीलाई प्रतिनिधि सभाको कुनै समितिमा लगेर छलफल गराउने प्रस्ताव गरेका थिए। तर, प्रधानमन्त्री देउवाले त्यसलाई अस्वीकार गरे। आइतबार बिहान सरकारमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुबीच एमसीसी टेबल गर्ने समझदारी बन्यो। यद्यपि कांग्रेसबाहेक सबै दलले प्रतिनिधि सभामा त्यसको विरोध गरे। 

संसदमा टेबल भएको एमसीसी अनुमोदन हुन्छ कि हुँदैन, त्यो अब माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको हातमा छ। 

गठबन्धन जोगाउन मात्र भनेर एमसीसी संसदमा टेबल गर्न तयार भएका गठबन्धनका तीन दलले अब के गर्छन् त?

एकीकृत समाजवादीले सोमबार सचिवालयको बैठक राखेर एमसीसीको विपक्षमा मत दिने निर्णय गरिसकेको छ। 

समाजवादीका महासचिव बेदुराम भुसालले कांग्रेससँगको सहमति अनुसार टेबल गर्न सहयोग गरेको तर एमसीसीमा रहेका कतिपय प्रावधान राष्ट्रहित विपरीत रहेकाले अब पास गर्ने कुरामा साथ नदिने बताए।

‘हाम्रो पार्टीले एमसीसीको विपक्षमा मत दिने निर्णय गरेको छ,’ भुसालले नेपालखबरसँग भने, ‘एमसीसीमा रहेका कतिपय प्रावधान नेपालको हितअनुकूल छैनन्, त्यसलाई हामी स्वीकार गर्न तयार छैनौँ। संसदमा जुन प्रक्रियाबाट अघि बढाइए पनि हामी विपक्षमा उभिन्छौँ।’

माओवादी केन्द्रले पनि एमसीसीको विपक्षमा मत दिने भएको छ। प्रचण्डनिकट एक नेताका अनुसार एमसीसीका विपक्षमा उभिने पार्टीको निर्णय सर्कुलर भइसकेको छ। 

‘हाम्रो पार्टी सधैँ एमसीसीको विपक्षमा उभिएको छ, संसदमा टेबल भएको एमसीसीलाई अगाडि बढाइए हामी विपक्षमा मत हाल्छौँ,’ ती नेताले नेपालखबरसँग भने, ‘हामीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले टेबल गर्न दिनुस्, पास फेल जे भएपनि होस् भन्नुभएको हो।’

तर, प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी पास गर्न चाहन्छन्। त्यसका लागि कांग्रेसले गठबन्धनभित्र छलफल तीव्र बनाएको छ।

सोमबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपा अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका थिए। उनले गठबन्धन पनि नटुटाउन र एमसीसी पास गरेर लैजान आग्रह गरेका छन्।

उनको प्रस्तावमा माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन बच्ने र एमसीसी अब प्रक्रियाबाट टुंगो लाग्ने बताए।

‘रामचन्द्रजीले यो गठबन्धन पनि बचाउनु पर्छ। एमसीसी पनि समस्या समाधान हुनुपर्यो भन्नुभयो,’ प्रचण्डले भने,  ‘मैले गठबन्धन बच्छ, एमसिसी त अब प्रक्रियाबाट टुंगिन्छ भन्ने जवाफ दिएँ।’ 

वरिष्ठ नेता पौडेलले पनि तीन नेतासँगको छलफलपछि गठबन्धन पनि नटुट्ने र एमसीसी पनि पास हुने बताए।

‘मलाई विश्वास छ गठबन्धन टुट्दैन,’ पौडेलले भने, ‘एमसिसी पनि पास हुन्छ।’

तर, गठबन्धनमा प्रधानमन्त्री देउवाले एमसीसी पासै गर्नुपर्छ भनेर नभनेको बताउँछन् एकीकृत समाजवादीका महासचिव भुसाल।

‘प्रधानमन्त्रीजीले टेबल गरौँ, पास फेल जे हुन्छ संसदमै होस्, मलाई निकै दबाब आएको छ भन्नुभएको हो,’ उनले भने, ‘अब अहिले त्यही कुरालाई लिएर पास गर नत्र गठबन्धन टुटाउँछु भन्नुहोलाजस्तो मलाई लाग्दैन।’

त्यसो त एमाले गठबन्धन भत्काउन बेस्सरी लागेको उनीहरुको विश्लेषण छ।

‘अब यो गठबन्धन प्रधानमन्त्री शेरहादुरजीले तोडे तोडिन्छ नत्र तोडिँदैन, हामीले आफ्नो बटमलाइन प्रष्ट पारेका छौँ,’ भुसालले थपे, ‘कांग्रेसका साथीहरु एमालेसँग पनि छलफलमै हुनहुन्छ। उहाँहरु ओलीसँग मिले स्वतः गठबन्धन भत्किन्छ। हामीले त गठबन्धन जोगाएर जाने समझदारी गरेका छौँ।’

एमसीसी पास/फेल जे भएपनि त्यसमा सरकार ढल्ने विषय नभएको उनको भनाइ छ।

‘कांग्रेस एमालेसँग मिलेर एमसीसी पास गर्छ भने गठबन्धन अर्काे बन्छ र अहिलेका कोही पनि सरकारमा बस्दैनन्,’ उनले प्रश्न गरे, ‘एमालेको सबै सर्त मान्न कांग्रेस तयार हुन्छ त?’ 

माओवादी केन्द्रले पनि एमालेले कांग्रेसलाई सघाए सरकार छाड्ने बताएको छ।

‘हामीले विपक्षमा मत दिएपछि एमसीसी पास हुँदैन, त्यो बेला एमालेले पक्षमा मत दियो भने हामी सरकार छाड्छौँ,’ माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने।

प्रचण्ड निकट अर्का एक नेताले पनि संगठन, विचार र नीति जोगाए मात्र पार्टी बन्ने भएकोले एमसीसीको विपक्षमा मत दिने निर्णय लिएको बताए।

‘विपक्षमा गएर सरकार छाड्न परे पनि तयार छौँ, हामीलाई संसदमा कस्तो पोजिसन आउला भन्ने डर छैन,’ ती नेताले भने, ‘नेपाली समाज विभाजित भइसकेको र सबै जनता एमसीसीको विरोधमा उत्रिएका बेला यसलाई पास गर्न हामी सक्दैनौँ।’

‘गठबन्धन जोगाउने नाममा हामी जनताको भावनामा ठेस पुर्याउन चाहदैनौँ, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता ल्याउँदा पनि हामीले यस्तै हैरानी खेपेका छौँ, फेरि एमसीसी पास गर्ने नाममा गठबन्धन बनाइएको पनि होइन। कांग्रेसको चाहना पनि त्यो थिएन,’ उनले थपे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .