सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने घोषणा गरिसकेको छ। यो घोषणासँगै विभिन्न क्षेत्रमा क्रियाशील युवाहरुले सक्रिय राजनीतिमा लाग्ने घोषणा गरिरहेका छन्।
विभिन्न पेशामा आवद्ध युवाले आफ्नो पेशा छोडेर राजनीतिमा चासो देखाइरहेका छन्। यिनैमध्ये प्यूठानका २७ वर्षीय घनश्याम आचार्यले स्वर्गद्वारी नगरपालिकाको नगर प्रमुख
(मेयर) पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
उनी खासमा दाङको ज्ञानसिन्धु उच्च माध्यमिक विद्यालयका शिक्षक हुन्। तर अब शिक्षण पेशा छोडेर उनले राजनीतिमा लाग्ने घोषणा गरेका छन्। शिक्षणसँगै साहित्यमा पनि सक्रिय छन् उनी।
उनी २०७० सालमा नेकपा एमालेमा प्रवेश गरेका थिए। तर पछि डा. बाबुराम भट्टराईले स्थापना गरेका नयाँ शक्तिमा रहेर राष्ट्रिय युवा अभियान दाङ जिल्ला संयोजक बने। २०७५ देखि भने आचार्य कुनै पार्टीमा छैनन्।
शिक्षण जस्तो पवित्र पेशा छोडेर समाजसेवाका लागि राजनीतिमा आएको आचार्य बताउँछन्। ‘शिक्षण पनि समाजसेवा नै हो तर यसर्थ मैले राजनीति रोजेँ की यसको सेवा क्षेत्र बृहत् छ’, उनले भने।
‘परिवर्तन हाम्रोमा नभएको सत्य हो । फेरि परिवर्तन भन्नु क्रमिक प्रक्रिया हो । यो झट्ट हुँदैन। यहाँ त यस्ता पात्रहरू छन्। यसले म रातभर जाग्राम बसेर बिहान ल्याएको हुँ भन्छन्’, उनले भने, ‘अरू राजनीतिमा असफल भएका कुरा गर्नुभयो । मैले त उहाँहरूबाट पनि सकारात्मक प्रेरणा लिएको छु। असफल हुने धेरै कारणहरू जानेको छु । अब सफल हुने कारणहरू मात्रै छन्।’
‘स्वर्ग बनाऔँ स्वर्गद्वारी’ भन्ने मुद्दासहित उनी राजनीतिमा आएका हुन्। शिक्षित र सचेत व्यक्ति राजनीतिमा आउनुपर्ने सन्देश दिन आफूले उम्मेदवारी दिन लागेको उनले बताए।
आफ्ना मुद्दा र कार्यक्रमका कारण आफूले जित्नेमा ढुक्क सुनिएका आचार्य दलगत उम्मेदवारको विकल्प नपाएर पनि मतदाता उही पात्र दोहोर्याउन बाध्य भइरहेको जिकिर गर्छन्।
आफू मेयर बने छोटो समयमा नगर स्मार्ट बनाउने उनले बताए। ‘लोकतन्त्रका आधारभूत मूल्य मान्यता स्थापित हुनेछन्’, उनले भने, ‘समानता, समता र समावेशीतालाई ध्यानमा राखेर हरेक कार्यक्रम सञ्चालन गरिने छन् । स्वर्गद्वारी स्वर्ग बन्ने छ।’
सामान्यतः पढेलेखेको मान्छे राजनीतिमा नआउँदा नपढेकाले राजनीति गरेर समाज र देश बनेन भन्ने गुनासो सम्बोधन गर्न आफूले उम्मेदवारी घोषणा गरेको उनको भनाई छ।
‘पढेलेखेका मानिस जिल्ला छोडेर हिँड्छन्। गाउँको विकास गरौं,’ उनले भने, ‘आफ्नै गाउँलाई सुविधासम्पन्न बनाऊँ भन्ने चेतना उनीहरुमा छैन। म आफ्नै गाउँ बनाउने अभियानमा छु।’
मतदातालाई हाम्रोलाई भन्दा राम्रोलाई चुन्न पनि आग्रह गरेका छन्। आचार्यले स्वर्गद्वारी नगर विकासको लागि आगामी पाँच वर्षे विकासको खाका कोरिसकेको बताएका छन्। उनले अंग्रेजीमा राप्ती शिक्षा क्याम्पस घोराही, दाङबाट स्नातकोत्तर गरेका छन्।
Shares
प्रतिक्रिया