ad ad

राजनीति


अनि प्रचण्डले खुमलटारमा भने, ‘त्यसपछि बरु सरकार छाडेर सडकमा जाउँला’

अनि प्रचण्डले खुमलटारमा भने, ‘त्यसपछि बरु सरकार छाडेर सडकमा जाउँला’

फाइल तस्बिर


सागर न्यौपाने
फागुन १३, २०७८ शुक्रबार १५:५४, काठमाडौँ

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक शुक्रबार खुमलटारमा बसेको छ।

यो बैठकले अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर माओवादीले पुरानै सैद्धान्तिक अडानमा यथावत रहेको जनाएको छ। 

यो बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुलाई सत्ता गठबन्धन र एमसीसीबारे लामो ब्रिफिङ गरेका छन्। उनले बैठकमा एमसीसीको संकटबीच गठबन्धन जोगाउने चुनौती आएको बताएका थिए। 

प्रचण्डले के भने? 
एमसीसीबारे हाम्रो पार्टीको धारणा स्पष्ट छ। तर, पाँच दलीय गठबन्धन पनि बचाउनुपर्ने आवश्यकता र दायित्व हाम्रै काँधमा आएको छ।

हाम्रै जोडबलमा यो गठबन्धन बनेको हो। जनतामा एमसीसी राष्ट्रघाती भएकाले पास गर्नुहुन्न भन्ने परिसकेको छ। यस्तो बेला एमसीसीलाई अगाडि बढाउने अवस्था पनि छैन। 

अर्काे एमसीसीकै कारण गठबन्धन भत्काउन सकिन्छ भनेर थुप्रै तत्वहरु लागेका छन्। देशी–विदेशी सबै यही कुरामा खनिएका छन्। 

यस्तो बेलामा फेरि एकपटक हामीले संघर्षबाट बनेको गठबन्धन बचाउनुपर्छ। 

तर, एमसीसी मुख्य कुरा बनेर आयो, जबकि त्यो हाम्रो गठबन्धनको न्यूनतम् साझा कार्यक्रममा पनि थिएन। सरकार बनाउने कुरामा पनि त्यसलाई अगाडि बढाइएको थिएन।

गठबन्धन भत्काउने गरी कांग्रेसभित्रकै नेताहरु लागेको मलाई प्रधानमन्त्री शेरबहादुर देउवाजीले बताउनुभएको छ।

कांग्रेसभित्रै पनि एमसीसीकै आधारमा देउवाजीलाई असफल बनाउने प्रयास भइरहेको देखिन्छ।

उहाँको बुझाई पनि एमसीसीकै आधारमा गठबन्धन भत्काउन सके देउवालाई कमजोर बनाउन सकिन्छ भनेर पार्टीका केही नेताहरु लागेका छन् भन्ने छ। 

अब हामीले एमसीसीमा साझा धारणा खोजी गर्ने हो। हाम्रो अडान प्रष्ट छ। यसलाई कायमै राखेर जाने हो।

यो गठबन्धन निर्माण गरेर हामीले संविधान जोगायौँ, गणतन्त्र जोगायौँ र संघीयता जोगाएका छौँ।

नत्र त केपी ओलीले संविधान, गणतन्त्र र संघीयता खारेज गराइसकेका थिए। 

उनको त्यही प्रवृत्तिसँग हामी बेस्सरी लडेका शक्ति आज एकै ठाउँ छौँ। माधवजी र उपेन्द्रजी हामीसँगै हुनुहुन्छ। 

त्यसलाई जोगाउन हामीले नै कांग्रेसको साथ लिएका हौं। शेरबहादुरजी त एमसीसीको पक्षमै हुनुहुन्थ्यो नि। 

तर, हामीले नै उहाँलाई गणतन्त्र, संविधान र संघीयता जोगाउने गरी प्रधानमन्त्री बनायौं। 

अब हामीले सन्तुलन मिलाउने उपाय खोजी गर्नुपर्छ। हामी त एमसीसीलाई यथाअवस्थामा पास गर्ने पक्षमा कहिले पनि उभिदैनौँ। 

त्यसमा हाम्रो पार्टीको समर्थन पनि रहँदैन। फेरि हामी मात्र छैनौँ, माधव नेपालजीको पार्टी पनि छ र उपेन्द्रजीको जसपा पनि एमसीसी यथाअवस्थामा पास नगर्ने अडानमै छ।
एमसीसीलाई संशोधन र परिमार्जन गर्न सकिने उपायबारे फेरि एकपटक छलफल गर्न आवश्यक छ।

कानुनविद्, अन्तर्राष्ट्रिय मामिलाका जानकारसँग पनि यसबारे छलफल गर्नुपर्छ। यथास्थितिमा पास गरेर जान सम्भव छैन र हामी मान्दैनौँ।

हिजो एमालेसँग एमसीसीका विषयमा छलफल भएको हो।

हामीले एमसीसीमा कम्तीमा वामशक्ति (घटक) एक भएर जाऊँ भन्यौँ तर एमाले तयार भएन। 

अर्काे एमालेले माधवजीको पार्टीका १४ जना सांसदको पद खारेजी वा सभामुख हटाउनुपर्छ भन्यो, त्यो हामीले मान्ने कुरै भएन।

एमाले पनि एमसीसीलाई गिजोलेर गठबन्धन टुटाउन खोजिरहेको छ। एमाले एमसीसीको पक्षमा छ। 

अहिले एमसीसीका विषयमा एमाले र कांग्रेसमा केही फरक देखिएन। 

एमालेले त संविधान र गणतन्त्र नै धरापमा पारेको हो।

बरु संविधान जोगाउने कुरामा कांग्रेस ठीक थियो। 

त्यही भएर गठबन्धन जोगाएर जाँदा नै देश र जनताको पक्षमा सही निर्णय हुन्छ।

यदि केही उपाय लागेन, कांग्रेस गठबन्धन जोगाउने पक्षमा उभिएन भने हामी विपक्षमा मत दिन्छौं।

सरकार नछोडी विपक्षमा मत दिने कुरा उचित हुँदैन। परिआए सरकार पनि छोड्ने र विपक्षमा पनि उभिने त्यसपछि सडक र सदनबाट आन्दोलन गर्नुपर्छ।

आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवाजीले माधवजीसँग पनि कुरा गर्नुभएको छ। 

अहिले मलाई पनि भेट्न बोलाउनुभएको छ। छलफलले कस्तो रुप लिन्छ हेरौं। अहिले हामी अडानबाट पछि हट्दैनौं। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .