ad ad

राजनीति


एमसीसी अनुमोदनमा असन्तुष्टि जनाउँदै पार्टी परित्याग

वडाध्यक्ष पद पनि त्याग्ने
एमसीसी अनुमोदनमा असन्तुष्टि जनाउँदै पार्टी परित्याग

एमसीसी अनुमोदनमा असन्तुष्टि जनाउँदै माओवादी केन्द्र त्यागेका भरत बोहरा (बायाँ) र बहादुरसिंह महरा।


गोकुल जोशी
फागुन १६, २०७८ सोमबार ९:३६, महेन्द्रनगर

सरकारले अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन गरेपछि सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र असन्तुष्टि बढेकाे छ। कतिपयले त धमाधम पार्टी नै छाड्न थालेका छन्। 

सुरुमा एमसीसीका विपक्षमा उभिँदै युवालाई सडकमै उतारेका माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन जोगाउन भन्दै अन्तिममा सम्झौता संसदबाट अनुमोदन गराउन राजी भएका हुन्। 

एमसीसीकै कारण गठबन्धन टुट्ने र पुनः प्रतिगमनकारी शक्ति  (प्रमुख प्रतिपक्ष नेकपा एमाले) जुर्मुराउने जोखिम देखिएपछि ‘व्याख्यात्मक घोषाणा’सहित एमसीसी अनुमोदन गर्ने बीचको बाटो अपनाइएको उनीहरूको तर्क छ। 

तर यसले उनीहरूका नेता–कार्यकर्तामा विवाद र विभाजन देखिएकाे हाे। 

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लीलामणि पोखरेलले एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयप्रति असहमति जनाएका छन्। 

यस्तै एकीकृत समाजवादीमा पनि सम्मानित नेता झलनाथ खनाललगायत रुष्ट भएका छन्। 

केन्द्रमा मात्र होइन, यी पार्टीका माथिल्लोदेखि तल्लो तहसम्म नै पार्टी पंक्ति पक्ष र विपक्षमा उभिएका छन्। 

एमसीसी अनुमोदनको विरोधमा सत्तारुढ गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता/कार्यकर्ता नेतृत्वप्रति आक्रोशित भएका छन्। यसैका कारण कतिपयले पार्टी नै छाड्नसमेत थालेका छन्।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले एमसीसी सम्झौता अनुमोदन गर्न सघाएको भन्दै आफ्नो पार्टी नेकपा माओवादी केन्द्रको सदस्यता त्याग गरेका छन्।

माओवादी केन्द्रबाट वडाध्यक्षमा विजयी महराले जनतासित माफी मागेर वडाध्यक्ष पदबाट समेत राजीनामा दिने घोषणा गरेका छन्।

‘आजबाट नेकपा माओवादी केन्द्रले पनि राष्ट्रघाती एमसीसी सम्झौता पारितमा विभिन्न बहानामा सहयोग गरेकाले आजैबाट माओवादी केन्द्रको सदस्यता त्याग गरी राष्ट्रिय स्वाधिनता रक्षाको लडाइँमा आफ्नो अमूल्य जीवन समर्पित गर्ने संकल्प गर्दछु,’ उनले भनेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास गर्न सघाएपछि माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् डोटीका युवा नेता भरत बोहराले पनि पार्टी छाडेका छन्। त्यति मात्र होइन, उनी यही रिसमा एमाले प्रवेश गरेका छन्। उनी आइतबार सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षणमा सहभागी हुँदै एमाले बनेका हुन्। 

बोहरालाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीप ज्ञवाली र सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसहितले पार्टीमा स्वागत गरेका थिए। एमसीसी अनुमोदन भएको दिनलाई माओवादी केन्द्रका विद्यार्थी नेताले ‘कालो दिन’को संज्ञा दिएका छन्।

एकीकृत समाजवादी सुदूरपश्चिमका अध्यक्ष विक्रमबहादुर शाहीले राष्ट्रघाती एमसीसी परियोजना पास गरिएको भन्दै नेतृत्वको चर्को आलोचना गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .