ad ad

राजनीति


कांग्रेस कैलाली अधिवेशन : पहिलो चरणमा सर्वाधिक मत पाएका बम पराजित, भट्ट बने सभापति

कांग्रेस कैलाली अधिवेशन : पहिलो चरणमा सर्वाधिक मत पाएका बम पराजित, भट्ट बने सभापति

गोकुल जोशी
फागुन १९, २०७८ बिहिबार २०:१४, काठमाडौँ

नेपाली कांग्रेस कैलालीको सभापतिमा नारायणदत्त भट्ट निर्वाचित भएका छन्। दोस्रो चरणको मतदानबाट प्रकाश बमलाई पराजित गर्दै भट्ट सभापतिमा निर्वाचित भएका हुन्। 

भट्ट र बम दुवै कांग्रेसको संस्थापन पक्षका हुन्। सुदूरपश्चिमको राजधानी समेत रहेको कैलाली जिल्ला अधिवेशनमा कांग्रेसका संस्थापन (देउवा) समूहका दुई र संस्थापन इतर (शेखर कोइराला) समूहबाट एक सहित तीन प्यानलले नेतृत्वका लागि चुनावी प्रतिस्पर्धा गरेका थिए।

पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि बिहीबार दोस्रो चरणको मतदान भएको थियो। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाश बमलाई पराजित गर्दै भट्ट एक हजार ३५९ मत ल्याएर सभापतिमा निर्वाचित भएका छन्। 

बम पहिलो चरणबाट ‘रिङ आउट’ भएका संस्थापन इतर समूहका रामबहादुर कलेलको समर्थन पाउँदा पनि पराजित भएका हुन्। 

बिहीबार सम्पन्न मतगणनामा खसेको २ हजार ४६७ मतमध्ये बमले एक हजार ९६ मत पाएका छन्। जुन पहिलो चरणमा पाएको मत भन्दा पनि कम छ।

यसअघि पहिलो चरणमा बमले एक हजार १६९ मत पाएका थिए। यस्तै, पहिलो चरणमा दोस्रो स्थानमा रहेका नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत पाएका थिए।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणा देउवाको निर्वाचन क्षेत्र पर्ने कैलालीको संस्थापन पक्षबाट नेतृत्वका लागि नारायणदत्त भट्ट र प्रकाश बमको प्यानल प्रतिस्पर्धा गरेका थिए। 

भट्ट प्यानललाई कैलालीमा रहेका केन्द्रीय सदस्यहरू नृपबहादुर वड, सुशीला मिश्र भट्ट, डा.रणबहादुर रावल, जीवन राना, ईश्वरी न्यौपानेलगायतको साथ थियो भने बमको प्यानललाई कांग्रेस सुदूरपश्चिम महामन्त्री नरनारायण शाह ‘मनु’को समर्थन थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .