ad ad

राजनीति


नारायणकाजीले एमसीसीबारे माओवादी बैठकमा राखेको भिन्न मतमा के छ?

दुई विषयमा केन्द्रित भएर पोखे असन्तुष्टि
नारायणकाजीले एमसीसीबारे माओवादी बैठकमा राखेको भिन्न मतमा के छ?

फाइल फोटो


सागर न्यौपाने
फागुन २०, २०७८ शुक्रबार २२:४०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसीबारे पार्टी बैठकमा दुई विषय उठाएका छन्।

फागुन १५ गते संसदबाट एमसीसी अनुमोदन गर्ने पार्टी निर्णयप्रति असन्तुष्ट रहँदै अलग पार्टी बनाउन आफूनिकट नेताहरुसँग छलफल गरेका श्रेष्ठले आठौँ महाधिवेशनपछि दोस्रोपटक शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा मौखिक भिन्न मत राखेका हुन्। 

१२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसीबारे श्रेष्ठले शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा भिन्न मत राखेका हुन् ।

उनले एमसीसीमा राष्ट्रघात रहेको बताउँदै त्यसलाई अनुमोदन गरेर माओवादी केन्द्रले राष्ट्रिय आत्मसमर्पण गरेको विश्लेषण सुनाएका छन्। 

उनका अनुसार राष्ट्रघाती निर्णयले क्रान्तिकारी वामपन्थीहरूबीच ध्रुवीकरण बढाउँछ।

माओवादी केन्द्रले एमसीसी अनुमोदनमा समर्थन गरेर गलत गरेको निष्कर्ष उनले प्रचण्डसँगै बैठकको मञ्चमा बसेर सुनाए। 

राष्ट्रिय सभा गृहमा सुरु भएको बैठकमा सवा एक घण्टा बोलेका श्रेष्ठले अध्यक्ष प्रचण्डको निर्णय गर्ने स्वभावप्रति पनि कटाक्ष गरे।

‘एमसीसीले नेपाल छनौट गर्नुको कारण के थियो? नेपाललाई रौँ चिरा पारेर किन एमसीसी आयो?,’ श्रेष्ठले प्रश्न गरे।

उनले गठबन्धनमा रहेकाले एमसीसी पूरै अस्वीकार गर्न नसके पनि संशोधन वा परिमार्जन गर्ने अडान कायम राख्न नसकेकोमा प्रचण्डप्रति असन्तुष्टि जनाए ।

महाधिवेशनको निर्णय उल्ट्याउन नहुने बताएका उनले समर्थन नै गर्नुपरे केन्द्रीय समितिबाट निर्णय गर्न सकिने समय हुँदा हुँदै प्रचण्डले वेवास्ता गरेको उनले जिकिर गर। 

‘गठबन्धनमा भएका कारण एमसीसी पूरै फिर्ता पठाउने वा खारेज गर्न सकिने सम्भावना थिएन,’ श्रेष्ठले असन्तुष्टि जनाउँदै भने, ‘त्यसबेला संशोधन वा परिमार्जनमा बल गर्नुपर्थ्यो, व्याख्यात्मक घोषणासहित अनुमोदनमा जाने भए त्यही दिन केन्द्रीय समिति बैठक बसेर निर्णय गर्न सकिन्थ्यो। त्यसो पनि भएन, व्यक्तिवादी बनेर आफूखुसी निर्णय गराइयो।’

श्रेष्ठले पार्टी नेतृत्वले विधि र प्रक्रिया मिचेर एकांकी कार्यशैली देखाएको पनि टिप्पणी गरे। 

‘एमसीसी राष्ट्रघाती हो, माओवादीले राष्ट्रघातलाई अनुमोदन गर्‍यो', श्रेष्ठले भने, ‘देशभक्त वामपन्थीहरुलाई यसले निकै पीडा दिएको छ ।’

उनले एमसीसी पास भएसँगै नेपाल विश्व महाशक्ति राष्ट्रहरुको क्रिडास्थल बन्ने खतरा बढेको बताए।

‘यो राष्ट्रघात हो । यसले हामीलाई महाशक्ति राष्ट्रको क्रीडास्थल बनाउने भयो, राष्ट्रिय आत्मनिर्भर बनेर राष्ट्रिय पुँजी बढाउने भन्दा परनिर्भरताको दिशातिर लग्यो ।’

एमसीसी पास गरेर माओवादीले संसदीय व्यवस्थाको बुर्जुवाकरणलाई स्वीकार्दै आत्मसमर्पण गरेको वरिष्ठ नेता श्रेष्ठले आरोप लगाए ।

‘यो राष्ट्रिय आत्मसमर्पणवाद हो, अमेरिकी सुरक्षा छाताभित्र नेपाललाई लग्यौँ, प्रवेश गराउने योजनामा फस्यौँ,’ श्रेष्ठले भने,‘सन् १९५० मा इण्डियन सुरक्षा छाताभित्र प्रवेश गरेका थियौँ। एमसीसीले अमेरिकन सुरक्षा छाताभित्र पस्यौँ।’

श्रेष्ठले राखेको भिन्न मतमाथि भोलि शनिबार केन्द्रीय कार्यालयको विस्तारित बैठकमा छलफल गरिने भएको छ। शुक्रबार सुरु केन्द्रीय समिति बैठक अब आइतवार बस्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .