बाँके, नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको गृहजिल्ला हो। तर उनको निधनसँगै बाँकेमा वर्तमान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षको प्रभाव बढिरहेको थियो।
जहाँ नेपाली कांग्रेसको हालै सम्पन्न १४औं महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशनसम्म देउवा अर्थात् संस्थापन पक्ष बलियो देखिएको थियो। संस्थापन पक्षबाट धेरै जना महाधिवेशन प्रतिनिधि चुनिएका थिए। १४औं महाधिवेशनअघि बाँकेमा जिल्ला अधिवेशन हुन सकेको थिएन। महाधिवेशन सकिएको झण्डै ३ महिनापछि जिल्ला अधिवेशन भयो।
तर जिल्ला अधिवेशनबाट संस्थापन इतर अर्थात् डा. शेखर कोइराला पक्ष नेतृत्वमा आयो। आन्तरिक चुनाव जित्दै नारायण गौडेल कांग्रेसको जिल्ला सभापति बन्न सफल भए।
जिल्ला सभापति पदमा संस्थापन पक्षबाटै दुई जना उम्मेदवार बनेका थिए– बादशाह कुर्मी र सुरेन्द्र हमाल। हमाल लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री समेत हुन्। उनले आफू संस्थापन पक्षको आधिकारीक उमेद्वार भएको दाबी गरिरहेका थिए। तर सहमहामन्त्री किशोरसिंह राठौरले बादशाह कुर्मीलाई अघि सारे।
अन्तिम समयसम्म पनि दुवैले आफ्नो दाबी छाडेनन्। पहिलो चरणको चुनावबाट सभापति चुनिएन भने जो दोस्रो चरणमा जान्छ उसैलाई सहयोग गर्ने भनिएको थियो। बिहीबार भएको पहिलो चरणको निर्वाचनमा इतर पक्षका नारायण गौडेलले सबैभन्दा बढी मत ल्याए। उनका पक्षमा ५६९ मत आएको थियो। कुर्मीले ५ सय ३८ मत ल्याए भने ३ सय १४ मत मात्र प्राप्त गरेका हमाल जिल्ला सभापतिको प्रतिस्पर्धाबाट बाहिरिए।
दोस्रो चरणको चुनावमा संस्थापन पक्षका हमालले इतर पक्षका गौडेललाई खुलेरै समर्थन गरे। जसका कारण शुक्रबार सम्पन्न दोस्रो चरणको चुनावमा ७ सय ६० मत प्राप्त गर्दै नारायण गौडेल जिल्ला सभापति पदमा विजयी भए। प्रतिस्पर्धी बादशाह कुर्मीले ६ सय ६३ मत ल्याउँदै हारे।
कांग्रेसको सहमहामन्त्री बनेका किशोरसिंह राठौरले आफ्नो जिल्लामा आफूअनुकुलको नेतृत्व ल्याएर प्रभाव बढाउन खोजेका थिए, तर प्रयास सफल भएन।
नवनिर्वाचित जिल्ला सभापति गौडेल तरुण दलको साविक कोहलपुर गाविसका संस्थापक सभापति हुन्। उनी २०५५ सालमा तरुण दलको गाउँ सभापति भएका थिए। पछि क्षेत्रीय सभापति, जिल्ला सहसचिव, महासमिति सदस्य हुँदै १३औं महाधिवेशनताका उनी सभापति पदका प्रतिस्पर्धी बने। त्यसबेला कोइराला पक्षका उमेद्वारबीचमै प्रतिस्पर्धा भएको थियो।
जसमा किरण कोइराला सभापति चुनिएकी थिइन्। तेस्रो स्थानमा आएर गौडेल बाहिरिएका थिए।
अहिले गौडेल जिल्ला सभापति बन्दा जिल्ला कार्यसमितिमा दुवै पक्षको मिश्रित नतिजा आएको छ।
स्थानीय चुनावको मुखमै बाँकेमा कांग्रेसको जिल्ला अधिवेशन भएको हो। यसमा देखिएको मनमुटावले वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनमा असर पर्ने र अन्तरघात हुने त होइन भन्ने चिन्ता कांग्रेस कार्यकर्तामा देखिएको छ।
तर नवनिर्वाचित जिल्ला सभापति गौडेल स्थानीय तहको चुनावमा यसको कत्ति पनि प्रभाव पर्न नदिने दाबी गर्छन्।
‘पार्टीको आन्तरिक चुनाव हो। कसैको हारजित केही हैन’, उनले नेपालखबरसँग भने, ‘हामी लोकतान्त्रिक विचारमा लागेकालाई भोलिका दिनमा केही अप्ठ्यारो पार्दैन। अब एक भएर चुनावमा जान्छौं।’
अब हुने तीनै तहका निर्वाचनमा बाँकेमा कांग्रेसलाई बलियो बनाएर देखाउने दाबी गौडेलले गरे।
Shares
प्रतिक्रिया