ad ad

राजनीति


माओवादी पदाधिकारी चयन र एमसीसीमाथि छलफल अब चुनावपछि मात्रै, सोमबारको बैठकमा के होला?

माओवादी पदाधिकारी चयन र एमसीसीमाथि छलफल अब चुनावपछि मात्रै, सोमबारको बैठकमा के होला?

फाइल तस्बिर


सागर न्यौपाने
फागुन २२, २०७८ आइतबार २१:५५, काठमाडौँ

पार्टीमा अन्तरसंघर्ष चर्किने भएपछि नेकपा माओवादी केन्द्रले अमेरिकी आर्थिक परियोजना एमसीसीमाथिको छलफल चुनावपछि मात्रै गर्ने भएको छ।

माओवादीले पुसमा भएको आठौँ महाधिवेशनबाट गर्नुपर्ने पदाधिकारी चयन प्रक्रिया पनि पछाडि धकेलेको छ। 

स्थानीय तह चुनावअघि एमसीसीमाथि बहस र पदाधिकारी चयन नगरिने नेता हरिबोल गजुरेलले जानकारी दिए।

उनका अनुसार वैशाख ३० गतेका लागि घोषित स्थानीय तह निर्वाचनमा केन्द्रित हुन पनि अहिले एमसीसीमाथि छलफल नगर्ने समझदारी बनाइएको छ।

‘एमसीसीमाथिको छलफल अब चुनावपछि मात्र हुन्छ,’ नेता गजुरेलले नेपालखबरसँग भने, ‘भिन्न मत राख्नेहरूबारे पार्टीलाई जानकारी गराउँदै अहिले चुनावमै केन्द्रित हुने समझदारी बनेको छ।’

आइतबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकले एमसीसीमाथिको छलफल चुनावपछि गर्ने सहमति जुटाएको उनले दाबी गरे।

आठौँ राष्ट्रिय महाधिवेशनको २ महिनापछि शुक्रबार बसेको दोस्रो केन्द्रीय समिति बैठकमा माओवादी केन्द्रले एमसीसी, पदाधिकारी चयन लगायतका ६ बुँदे एजेण्डा तय गरेको थियो।

तर, एमसीसी र पदाधिकारी चयनले पार्टीभित्रको विवाद उत्कर्षमा पुग्ने खतरा देखेपछि स्थानीय निर्वाचनअघि दुवै विषयलाई अघि नबढाउने समझदारी बनेको एक नेताले नेपालखबरलाई जानकारी दिए। 

फागुन १५ गते प्रतिनिधि सभाबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित माओवादी केन्द्रले एमसीसी अनुमोदनमा समर्थन गरेको थियो।

पार्टीको उक्त निर्णयप्रति वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका थिए। यस्तै कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, देवप्रसाद गुरुङले पार्टी निर्णयप्रति फरक मत राख्दै नोट अफ डिसेन्ट लेखेका थिए।

शुक्रबारको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता श्रेष्ठले एमसीसी सम्झौतालाई राष्ट्रघाती भएको बताउँदै नेपाललाई एमसीसीमार्फत अमेरिकाको सुरक्षा छाताभित्र प्रवेश गराएको आरोप लगाए। 

उनले विधि, प्रक्रिया र पद्धति मिचेर एमसीसी अनुमोदन गराएकोप्रति मौखिक भिन्न मत राखेका थिए। श्रेष्ठले एमसीसीबारे पार्टीभित्र व्यापक छलफल गराउनुपर्ने माग गरेपछि आइतबारसम्म बैठक स्थगित गरिएको थियो।

तर, आइतबारको बैठक बस्दै नबसी सोमबार विहान ११ बजेसम्मको लागि स्थगित गरिएको छ। वरिष्ठ नेता श्रेष्ठले आइतबारको केन्द्रीय समिति बैठकमा पेश गर्नेगरी एमसीसीबारे भिन्न मत समेटेर दस्तावेज तयार पारिएका थिए।

त्यो सूचना पाएर अध्यक्ष प्रचण्डले वरिष्ठ नेता श्रेष्ठसँग शनिबार एक घण्टा छलफल गरे। तर, समझदारी बन्न सकेन। नेता श्रेष्ठ आफ्ना फरक मत केन्द्रीय समिति बैठकमा छलफलमा लैजाने अडानमै बसे।

अनि एमसीसी एजेन्डाबाट हटाइयो
माओवादी केन्द्रको शुक्रबार बसेको बैठकमा तय गरिएका ६ वटा एजेण्डा मध्ये थियो– एमसीसीमाथिको छलफल। 

त्यसदिन अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदन गर्ने निर्णयको पक्षमा ब्रिफिङ गरेका थिए। उनले बाध्यात्मक अवस्थाले एमसीसीलाई १२ बुँदे समझदारी गरेर अनुमोदन गर्ने निर्णय गरेको बताए।

‘चुनावसम्म धकेल्न सकिन्छ कि भनेर एमसीसी अल्झाउने प्रयास गरेपनि सफल भइएन,’ बैठकमा प्रचण्डले भने, ‘एमाले र कांग्रेस मिलेर जस्ताको त्यस्तै पास गर्न सहमति जुटेपछि हामीले गठबन्धन जोगाउँदै यो निर्णय गर्न बाध्य भयौं।’

प्रचण्डपछि बोलेका वरिष्ठ नेता श्रेष्ठले एमसीसी अनुमोदन गरेर पार्टीले गलत गरेको टिप्पणी गरे।

दुई नेता बोलेपछि शुक्रबारको बैठक सकियो। एमसीसीबारे शनिबार साझा धारणा बनाउन भन्दै बैठक स्थगित गरेर आइतबारलाई तय गरियो।

आइतबार केन्द्रीय समिति बैठक सुरु गर्नुअघि पूर्व स्थायी समिति सदस्यहरु, केही प्रदेशका इन्चार्जसहितको बैठक बस्यो। त्यही बैठकले एमसीसी र पदाधिकारी चयन प्रक्रिया चुनावपछि गर्ने समझदारी बनाएको हो। 

वरिष्ठ नेता श्रेष्ठले भिन्न मतसहितको दस्तावेज पेश गर्ने र उनको पक्षमा केही केन्द्रीय सदस्यहरुले धारणा राख्ने सूचना प्रचण्डले पाएका थिए। त्यसकै आधारमा एमसीसीमाथिको छलफल चुनावपछि गर्ने निर्णय गरिएको हो।

एमसीसीलाई यथास्थितिमा पास नगर्ने अडानमा रहेको माओवादी केन्द्रले फागुन १५ गते बिहान १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको थियो।

तर, त्यो निर्णय महाधिवेशनले गरेको निर्णयविरुद्ध भएको, त्यस्ता दुरगामी निर्णय गर्दा पार्टी केन्द्रीय समितिलाई उपेक्षा गरिएको भन्दै असन्तुष्टि जनाएका थिए। 

के होला सोमबार? 
अर्का नेता शक्ति बस्नेतका अनुसार अब सोमबार तय गरिएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य थप गर्ने र नेताहरुको कार्यविभाजन माथि छलफल हुनेछ।

‘केन्द्रीय सदस्यमा ६३ जना थप गर्नुपर्नेछ। त्यो संख्या तयार पारेर सोमबार पेश हुनेछ,’ बस्नेतले नेपालखबरसँग भने, ‘समानुपातिक, समावेशी, महिला, दलित, युवा, मधेस लगायतबाट छनौट गरिनेछ।’

अर्का नेता चक्रपाणि खनालका अनुसार सोमबारको बैठकले स्थानीय तहको निर्वाचनबारे रणनीति तयार पार्नेछ। 

‘अब चुनावमा हामी होमिन ढिलो गर्नु हुँदैन, गाउँ र वडासम्म अभियान चलाउनु छ,’ खनालले भने, ‘नेताहरुको कार्यविभाजन पनि भोलि नै हुन्छ।’

माओवादीले विभिन्न विभागहरुको नेतृत्व पनि टुंगो लगाउने नेता खनालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .