ad ad

राजनीति


क्रान्तिकारीबाट राजनीति थालेका १० जना एकैपटक मा‌ओवादी केन्द्रीय सदस्य

क्रान्तिकारीबाट राजनीति थालेका १० जना एकैपटक मा‌ओवादी केन्द्रीय सदस्य

सागर न्यौपाने
फागुन २३, २०७८ सोमबार १९:२५, काठमाडौँ

नेकपा माओवादी केन्द्रले अखिल क्रान्तिकारीबाट राजनीति थालेका १० जनालाई एकैपटक केन्द्रीय सदस्य बनाएको छ। 

पुसमा भएको आठौं महाधिवेशनयता सोमबार बसेको तेस्रो केन्द्रीय समिति बैठकले ९७ जनाको नाम थप्दा १० जना अखिल क्रान्तिकारीको राजनीतिबाट आएकाहरु  परेका छन्।

ती सबै १० नेता अखिल क्रान्तिकारीमा रहँदा पदाधिकारीदेखि अध्यक्षसम्म बनिसकेका नेताहरु हुन्। 

केन्द्रीय सदस्यको सूचीमा पर्नेमा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष मात्रै चार जना छन्।

रमेश मल्ल, नरेन्द्र न्यौपाने, सन्तोष विष्ट र रञ्जित तामाङ अखिल क्रान्तिकारीमा अध्यक्ष भइसकेका छन्। 

२०७१ पुस २६ गते रमेश मल्ल एमाओवादीको अखिल नेपाल क्रान्तिकारीको संयोजक हुँदै अध्यक्ष बनेका हुन्। मल्ल हाल अध्यक्ष प्रचण्डका स्वकीय सचिव छन्।

त्यसअघि हिमाल शर्मा नेतृत्वमा मल्ल उपाध्यक्ष थिए। शर्माले राजीनामा दिएपछि मल्लले संयोजकको जिम्मेवारी पाएका थिए । उता नरेन्द्र न्यौपाने २०७३ साल साउन १३ गते अध्यक्ष बने।

प्रचण्ड नेतृत्वको पार्टी एकता भएपछि बादल समर्थित रत्न ढकालको अखिल क्रान्तिकारी र मात्रिका यादव समर्थित सन्तोष विष्टको समूहबीच एकता भएपछि न्यौपाने अध्यक्ष बने। उनी जम्मा एक वर्ष मात्र अध्यक्ष रहे।

२०७४ भदौ १७ गते भएको निर्वाचनमा रञ्जित तामाङ विजयी भएका थिए। क्रान्तिकारीको इतिहासमा पहिलो पटक नेतृत्व चयनका लागि निर्वाचन भएको थियो। अनिल शर्मालाई २३ मतले पराजित गरेर तामाङ अध्यक्ष भएका थिए।

सबैभन्दा बढी केन्द्रीय सदस्य रञ्जित तामाङ क्रान्तिकारीको नेतृत्व हुँदाका पदाधिकारी रहेकाहरु परे।

केन्द्रीय सदस्यको प्रस्तावित सूचीमा समेटिएका तिलकराज भण्डारी (गैरभौगोलिक), सुरेन्द्र बस्नेत (गैरभौगोलिक), दीपक देवकोटा (गैरभौगोलिक) र विजय गौतम अखिल क्रान्तिकारीको  उपाध्यक्ष भइसकेका हुन्। उत्तम अधिकारी (गैरभौगोलिक) पनि अखिल क्रान्तिकारीको महासचिव भइसकेका छन्।

विष्ट २०६६ सालमा मातृका यादवले गठन गरेको नेकपा माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीका अध्यक्ष थिए । उनी २०७३ मा एकता भएर अखिल क्रान्तिकारीमै मिसिएका हुन्। 

लामो समयसम्म मातृकाको स्वकीय भएर उनले काम गरेका थिए। यस्तै ढकाल २०६७ सालमा एनेकपा माओवादी विभाजन भएर बनेको नेकपा ड्यास माओवादीको क्रान्तिकारीका अध्यक्ष थिए।

उनी पनि रामबहादुर थापा 'बादल' र पम्फा भूसाल लगायतले मोहन वैद्यबाट छुटेर एमाओवादीसँग एकता गरेपछि आएका हुन्। ढकाल बागमती प्रदेश सरकारमा छन्। 

न्यौपाने, मल्ल र तामाङ प्रचण्ड नेतृत्वको माओवादीकै विद्यार्थी संगठनमा अध्यक्ष बनेका थिए। मल्लपछि न्यौपाने अध्यक्ष बनेका थिए।

पञ्चा सिंह आउनुअगाडि अखिल क्रान्तिकारीको अध्यक्ष तामाङ थिए। रञ्जित अखिल क्रान्तिकारीमा निर्वाचनबाटै अध्यक्ष भएका थिए। 

सोमबार अध्यक्ष प्रचण्डले ९७ जना केन्द्रीय सदस्यको नाम बाचन गरेका थिए।

तर, ती नाममा सहमति नजुटेपछि ५२ जनाको नाम मात्र केन्द्रीय समितिबाट अनुमोदन भएको छ। 

त्यो अनुमोदन भएको केन्द्रीय सदस्यमा १० जना विद्यार्थी नेता परेका छन्।

पुस ११ देखि १८ सम्मको आठौं राष्ट्रिय महाधिवेशनले २ सय ४७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो।

केन्द्रीय समितिको पुस १९ गते बसेको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई निर्वाचित गरेको थियो। 

माओवादीले दुई महिनापछि केन्द्रीय समितिलाई पूर्णता दिने प्रयास गरेपनि असफल भएको छ।

पदाधिकारी, स्थायी र पोलिटब्युरो भने आगामी जेठ २० गते बस्ने केन्द्रीय समितिको बैठकले टुंगो लगाउने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .