ad ad

राजनीति


यस्तो छ स्थानीय तहमा फेरि पहिलो दल बन्ने एमालेको रणनीति

यस्तो छ स्थानीय तहमा फेरि पहिलो दल बन्ने एमालेको रणनीति

सागर न्यौपाने
फागुन २५, २०७८ बुधबार ८:४४, काठमाडौँ

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले ४० प्रतिशतभन्दा बढी स्थान जितेर पहिलो दल बनेको थियो। त्यसबेला हालको मधेश प्रदेशबाहेक सबै स्थानमा एमाले निकै बलियो देखिएको थियो। 

वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा पाँच वर्षअघिको जस्तै सफलता दोहोर्याउन एमालेले चुनावी अभियानलाई तीव्रता दिएको छ।

२०७४ मा वैशाख ३१, असार १४ र असोज २ गरी तीन चरणमा चुनाव भएको थियो। निर्वाचन आयोगले नेपालखबरलाई उपलब्ध गराएको विवरणअनुसार त्यसबेला कुल ३५ हजार ४१ जनप्रतिनिधि चुनिएकामा एमालेका मात्रै १४ हजार ९८ जना थिए। 

२०७४ मा २ महानगरपालिका, ७ उपमहानगरपालिका, १२३ नगरपालिका र १७१ गाउँपालिका प्रमुख/अध्यक्ष एमालेले जितेको थियो।

त्यस्तै, एक महानगरपालिका, ७ उपमहानगरपालिका, १३७ नगरपालिका र १८६ गाउँपालिकाको उपप्रमुख एमालेले जितेको थियो। एमालेले कुल ७५३ स्थानीय तहमध्ये ३३१ ठाउँमा उपाध्यक्ष जितेको थियो।

त्यस्तै, एमालेले २५६० वडाको वडाध्यक्ष, २७७६ महिला सदस्य, २६८० दलित महिला सदस्य र ५४५८ खुला वडा सदस्य सहित १४ हजार ९८ पद जितेको थियो।  

पाँच वर्षअघि जितेका सबै जनप्रतिनिधि अहिले एमालेसँग छैनन्। साउन ९ गते एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको छ। जसमा प्रभावशाली नेताहरुसहित जनप्रतिनिधि पनि लागेका छन्।

तर, एमालेले आगामी स्थानीय तहको निर्वाचनमा पहिला जितेको सबै तहमा जित कायम राख्ने महत्वाकांक्षी योजना लिएको छ। त्यसका लागि स्थानीय स्तरमा तालमेल गर्नसमेत एमाले लचक देखिएको छ।

केन्द्रको हस्तक्षेप त्यति धेरै नहुने हुँदा जोसँग पनि तालमेल वा सहकार्य गरेर चुनाव जित्ने रणनीति एमालेले बनाएको छ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीचको गठबन्धन चुनावसम्मै जाने हो कि भन्ने चिन्ता एमालेको छ। तर, स्थानीय स्तरमा गठबन्धनभित्रका दलको समेत समर्थन लिन सकिने एमालेको आकलन छ। 

‘अहिलेको मिश्रित निर्वाचन प्रणालीमा दलहरुबीच गठबन्धन बनाउनैपर्छ। तर, हामी कांग्रेस, माओवादी जस्तो दुषित गठबन्धन बनाउँदैनौँ, कुरा मिल्ने, विचार मिल्ने दलसँग मिलेर लड्छौँ,’ एमाले उपाध्यक्ष सुवास नेम्वाङले भने।

गठबन्धन बनाउन केही नेताहरुले काम गरिरहेका छन्। नेताहरुका अनुसार मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टी लगायतसँग गठबन्धन बन्ने सम्भावना उच्च छ।

अन्य प्रदेशमा रहेका पालिकाहरुको हकमा परिस्थितिअनुसार निर्णय गर्ने तयारी छ।

चुनाव आउन ६६ दिन बाँकी हुँदा स्थानीय तहमा बहुमत स्थान हासिल गर्न एमालेका नेताहरु देश दौडाहामा छन्। फागुन लागेदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेशमा पुगेर प्रशिक्षण दिइरहेका छन्।

एमालेका दोस्रो तहका नेताहरु पनि जिल्लाजिल्ला धाइरहेका छन्।

स्थानीय निर्वाचनमा राजनीतिक दलभन्दा व्यक्ति मुख्य हुने भएकोले एमालेले उम्मेदवार बनाउँदा पनि त्यस्ता नेता छनौट गर्ने योजना बनाएको छ।

एमालेले चुनाव जित्न सबै विकल्प खुला राखेको एक उच्च नेताले बताए।

‘स्थानीय तहको निर्वाचन गाउँपालिका र नगरमा फरक हुनसक्छ,’ ती नेताले भने, ‘एक्लै जित्ने ठाउँमा हामी एक्लै लड्छौँ। नसकिने भए जुन दल वा व्यक्तिसँग मिलेर जितिन्छ त्यहीअनुसार अघि बढछौँ। अध्यक्षले त्यही निर्देशन दिनुभएको छ।’

केन्द्रीय सदस्य राजीव पहारीले आफूहरु आक्रामक प्रचारमा लागेको बताए।

‘एमालेले स्थानीय तहको चुनाव जुनसुकै मूल्यमा जित्नैपर्छ,’ पहारीले भने, ‘एक पटक फेरि एमालेलाई भोट दिनुस् भन्दै गाउँ र वडासम्म पुग्दैछौँ।’

एमालेले अहिलेसम्म गरेका राम्रा कामको भिडिओ बनाउने, चुच्चे नक्सा, नाकाबन्दीको विरोध, भूकम्पपछिको पुनर्निर्माणलगायतको जस लिने काम एमालेले गरिरहेको छ।

निर्वाचनमा प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेस नेतृत्वको सरकारले महंगी बढाएको, कूटनीतिक क्षेत्रमा असफल भएको, चीन र अमेरिका जुध्ने वातावरण बनाएको जस्ता एमालेको आरोप छ।

यी सबै विषय समेटेर घोषणा पत्र बनाउने र त्यसलाई घरघरमा वितरण गरिने योजना एमालेको छ।

अहिलेदेखि स्थानीय मुद्दा, विकास निर्माणको योजना, जनसरोकारका विषय र राष्ट्रियताकै मुद्दा उठाउन सुरु गरेको एमालेका उच्च एक नेताले बताए।

‘हाम्रो पार्टीले स्थानीय तहको निर्वाचन जित्न विभिन्न विकल्प हेरिरहेको छ। व्यापक जनपरिचालन हुन्छ। चुनावकै लागि विशेष योजना बन्छ,’ ती नेताले भने, ‘गठबन्धनलाई रोकेर हाम्रा उम्मेदवार जिताउने तरिकाको खोजी भइरहेको छ। हाम्रो नेताहरु अध्ययन विश्लेषण गर्दै हुनुहुन्छ।’

अहिले ७ सय ५३ वटा स्थानीय तहकै विस्तृत रिपोर्ट लिने काम भइरहेको उनको भनाइ छ।

उपाध्यक्ष नेम्वाङले एकतावद्ध भएर चुनावमा होमिनु नै स्थानीय तह जित्ने आधार भएको बताए।

‘हाम्रो पार्टीभित्र विगतको जस्तो नेताहरुको व्यवस्थापनको समस्या छैन, हामी एक ढिक्का भएर चुनावमा होमिएका छौँ,’ नेम्वाङले भने, ‘एकतावद्ध भएकैले उम्मेदवार चयनमा समस्या पर्दैन। सबैले सहयोग गर्ने वातावरण बन्छ। एमालेको जनमत यसै पनि बलियो छ।’

एमालेले गठबन्धनलाई रोक्ने र कांग्रेसलाई पहिलो दल हुन नदिने रणनीति पनि बनाएको छ।

२०७४ मा कांग्रेस ११ हजार ४ सय ५७ पद जितेर दोस्रो दल बनेको थियो। २ महानगरपालिका, २ उपमहानगरपालिका सहित १०५ नगरपालिका प्रमुख जितेको कांग्रेसले १६१ गाउँपालिका अध्यक्ष जितेको थियो। 

यस्तै ८४ नगरपालिकाको उपप्रमुख र १६१ उपाध्यक्ष सहित देशभरमा २४५ स्थानीय तहको उपप्रमुख जितेको थियो। 

२२८६ वडाध्यक्ष, २१५७ दलित महिला सदस्य,२१०१ महिला सदस्य र ४४२३ खुला सदस्य कांग्रेसले जितेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .