नेपाली कांग्रेस धनुषाको १४ औं अधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनमा शेखर कोइराला समूहले बिमलेन्द्र निधि समूहका उम्मेदवारलाई समर्थन गरेको छ।
भोलि (बिहीबार) हुने दोस्रो चरणको निर्वाचनको लागि कोइराला समूहका सभापतिका उम्मेदवार दिनेश प्रसाद प्रसैलाले निधि समूहका सभापतिका उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गरेका हुन्।
सोमबार भएको पहिलो चरणको प्रतिष्पर्धामा शेखर समूहका प्रसैला सबैभन्दा कम मत ल्याएर प्रतिस्पर्धाबाट आउट भएका छन्।
दुवै पक्षको दिनभर भएको आन्तरिक छलफल पश्चात साँझ सहमति जुटेको नेता निधिले पत्रकार सम्मेलनमा बताए। निर्वाचनपश्चात जिल्लाको दीर्घकालिन राजनीतिक गतिविधिमा सहकार्य गरेर दुवै पक्ष अगाडि बढ्ने प्रतिवद्धता निधिले व्यक्त गरेका हुन्।
कोइराला र निधि पक्षको सहमतिले अब संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवलाई जित्न चुनौती थपिएको छ।
पहिलो चरणको मतदानमा तीनै समूहका उम्मेदवार मध्ये कसैले ५१ प्रतिशत मत ल्याउन सकेनन्। निर्वाचन समितिले भोलि बिहीबार दोस्रो चरणको निर्वाचनको समय तोकेको छ।
पहिलो चरणमा मतपरिणाममा सभापतिका उम्मेदवार पजियार १ हजार २४८ मत ल्याउँदै अग्रस्थान ल्याएका थिए। यस्तै, संस्थापन पक्षका सभापतिका उम्मेदवार यादवले ८८२ र प्रसैलाले ६३० मत मात्र प्राप्त गरेका थिए।
सोमबार भएको निर्वाचनमा कुल ३ हजार १७३ मतदाता रहेकोमा २ हजार ९१२ जनाले मत खसालेका थिए।
Shares
प्रतिक्रिया