ad ad

राजनीति


सुदूरपश्चिममा बढ्यो चुनावी माहोल : गाउँ पसे दलहरू

सुदूरपश्चिममा बढ्यो चुनावी माहोल : गाउँ पसे दलहरू

गोकुल जोशी
चैत १, २०७८ मंगलबार २०:४, काठमाडौँ

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरू कार्यक्रमका साथ गाउँ गाउँ पसेका छन्। प्रमुख राजनीतिक दलहरू स्थानीय तहको निर्वाचन केन्द्रित हुन थालेका हुन्।

निर्वाचन मिति नजिकिएसँगै दलहरूले गोष्ठी, भेला, सम्मेलनलाई तीब्रता दिन थालेका छन्।

निर्वाचन आउन दुई महिना बाँकी हुँदा पछिल्लो समय देशभर चुनावको सरगर्मी बढेको छ। शीर्ष नेताहरु नै आफैँ विभिन्न ठाउँका कार्यक्रममा सहभागी भएर पार्टी प्रवेश गराइरहेका छन्।

नेताहरू आ–आफ्ना पार्टीभित्र उम्मेदवार बन्ने टिकट हात पार्न नेतृत्व तहसँग संवाद गरिरहेका छन्। योसँगै आसन्न स्थानीय तहको निर्वाचनमा कुन दलबाट को उम्मेदवार बन्लान् भन्ने चर्चा पनि सुरु भएको छ। राष्ट्रिय राजनीतिमा व्यस्त नेताहरू पनि आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुन थालेका छन्।

चुनाव केन्द्रित अभियानका लागि वडा वडामा प्रतिनिधि खटाइएको नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहले बताए।

‘नगर, क्षेत्रीय, जिल्ला र प्रदेशबाट वडा वडामा प्रतिनिधि पठाएका छौँ। केही दिन जनतामाझ रहेर पार्टीको स्थिती, उम्मेदवारी लगायतको विषयमा बुझ्ने छन्,’ उनले भने, ‘एमसीसीमा छरेको भ्रम पनि चिर्दै जनतालाई स्पष्ट पार्छौँ।’

खटाइएका प्रतिनिधिले प्रतिवेदन पेश गरे पछि छलफल गरेर चुनावको भावी रणनीति तयार गरिने उनको भनाइ  छ।

‘घर–घरमा कांग्रेस, जन–जनमा कांग्रेस’ भन्ने मूल नाराका साथ हामीले चुनाव लक्षित अभियानलाई अगाडि बढाइरहेका छौँ। वडा, पालिकाहरुमा कार्यक्रम भइरहेका छन्,’ उनले भने, ‘उम्मेदवारको टुंगो लागेपछि अझ शसक्त भएर अगाडि बढ्ने छौँ।,’ 

कांग्रेसले आइतबारबाट ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान थालेको थियो। जसका लागि कांग्रेसले प्रत्येक जिल्लामा एक÷एक जना प्रतिनिधि पठाएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि चुनाव केन्द्रित कार्यक्रमलाई तीब्रता दिएको छ। फागुन १५ र १६ गते धनगढीमा जनप्रतिनिधिका लागि निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम गरेको एमालेले अहिले जिल्ला, पालिका तथा वडास्तरमा प्रशिक्षण कार्यक्रम गरिरहेको छ। 

चुनाव केन्द्रित कार्यक्रमलाई तीब्रताका साथ अगाडि बढाइएको नेकपा (एमाले) सुदूरपश्चिमका सचिव धर्मराज पाठकले बताए। 

‘सम्भावित उम्मेदवारको पहिचान गर्ने, स्थानीय तहका विकासका मुद्दा तयार गर्ने लगायत कार्य पनि सँग सँगै भइरहेको छ,’ उनले भने, ‘हामीले जितेका पालिकामा भएका कामहरु सूची तयार गर्ने तथा सम्प्रेषण गर्ने, संगठन सुदृढीकरण तथा पार्टी प्रवेश पनि गराइरहेका छौँ।’ 

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ‘समृद्धिको आधार : तीनै तहमा एमालेको सरकार’ भन्ने अवधारणा अनुसार आफ्नो पक्षमा नतिजा ल्याउने गरी कार्यक्रम अगाडि बढाएको उनले बताए।

नेकपा (माओवादी केन्द्र)ले पनि निर्वाचन लक्षित कार्यक्रम सुरु गरेको छ। माओवादी नेता लालबहादुर सोडारीका अनुसार निर्वाचनको मिति घोषणासँगै टोल भेला र छलफल सुरु भइसकेका छन्। 

यस्तै, एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले पनि निर्वाचन गतिविधिलाई अगाडि बढाएको छ। समाजवादीले पनि गाउँ केन्द्रित कार्यक्रम सुरु गरिसकेको एकीकृत समाजवादी अध्यक्ष दीर्घ सोडारीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .