अभिनेत्री करिश्मा मानन्धरले नेपाली सिने उद्योगमा ३ दशक लामो यात्रा तय गरेकी छन्। यो यात्रामा उनले थुप्रै हिट फिल्म दिइन्।
उनीसँगै सिने नगरीमा डेब्यु गरेको अरु अभिनेत्रीहरु पलायन भइसक्दा करिश्मा काँचको पर्दामा सधैँ छाइरहिन्।
कलाकारितामा रमाइरहेकी करिश्माले २०७३ सालमै आफ्नो परिचय फेर्न खोजेकी थिइन्। डा. बाबुराम भट्टराईले तत्कालीन एकीकृत माओवादी छाडेर खोलेको ‘नयाँ शक्ति’बाट राजनीतिक यात्रा थाल्न खोजेकी करिश्मा लामो समय त्यहाँ रहन सकिनन्।
‘नयाँ शक्ति’ छाडेको तीन वर्षपछि करिश्मा फेरि औपचारिक रुपमा राजनीतिमा आएकी छन्। करिश्माको राजनीतिक यात्रा मंगलबारदेखि नेकपा एमालेमा जोडिएको छ। अबिर र खादा लगाइदिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई स्वागत गरे।
करिश्मा राजनीतिमा सक्रिय हुन खोज्दा धेरैले किन? भन्ने प्रश्न गरिरहेका थिए। सबैका किन भन्ने प्रश्नको एकमुष्ट जवाफ दिँदै भनिन् ‘समाज परिवर्तनका लागि राजनीति नै चाहिने रहेछ।’
एमाले प्रवेश गर्दै गर्दा करिश्माले भनिन्, ‘मैले तीन दशक कलाकारितामा बिताएँ। कलाकारिताबाट पनि मैले यही मुलुकका लागि काम गरेकी हुँ।’
कला क्षेत्रबाट उनले नाम, दाम र अन्तर्राष्ट्रियस्तरमै ख्याति कमाइन्। कलाकारिताको बाटो फर्किएर हेर्दा उनलाई लाग्यो, ‘धेरै पाएकी छु। तर त्यो मात्रै सबैथोक हो र? त्यो भन्दा अगाडि जाने बाटो छैन त?’ यही प्रश्नमा रुमल्लिरहेकी करिश्माको अगाडिको बाटो बनेर देखियो राजनीति। त्यसपछि उनले कलाकार करिश्माबाट कमरेड करिश्मा बन्ने निधो गरिन्।
करिश्माले एमाले प्रवेश गर्ने चर्चा सुरु भएसँगै उनलाई विभिन्न पार्टीबाट प्रस्ताव आएका थिए। तर एमाले छानिन्। एमालेमा के त्यस्तो चिज छ, जुनले करिश्मालाई आकर्षित गर्यो। औपचारिक रुपमा पार्टी प्रवेशपछि एमाले छान्नुका ३ कारण बताइन्।
उनले भनिन्, ‘एमाले पार्टीप्रति आकर्षण बढ्नुको पहिलो कारण हो महिला सहभागिता।’ एमालेमा लाग्दा महिलालाई अग्रपंक्तिमा ल्याउन सकिने उनको बुझाइ छ।
करिश्माले एमाले अध्यक्ष ओलीको व्यक्तित्वबाट प्रभावित भएर पनि यो पार्टी छानेको बताएकी छिन्। उनले भनिन्, ‘म केपी ओलीको व्यक्तित्वबाट पनि प्रभावित छु । म अरू राजनीतिज्ञसँग भेट्छु, तर उहाँमा जति हरेक कुराको जानकारी, विभिन्न वर्गका मानिससँग छिट्टै कनेक्ट हुन सक्ने प्रतिभा अरूसँग भेट्दिनँ। हरेक भेटमा उहाँको त्यो प्रतिभाबाट म प्रभावित भएँ।’
हुन त एमालेप्रति करिश्माको झुकाव बढ्नुका थुप्रै कारण छन्। उनलाई यो पार्टीले बोकेको विकासे एजेण्डा पनि निक्कै मन परेको छ। करिश्माले देश विकासको रियल एजेण्डा बोक्ने पार्टी नै एमाले भएको बताइन्।
उनले एमाले रोज्नुको अर्को कारणमा पार्टीको लोकप्रियता भएको बताएकी छिन्। कामका सिलसिलामा पुगेका हरेक ठाउँका जनतासँग ‘कुन पार्टी मन पर्छ?’ भनेर प्रश्न गर्ने गरेको उनले सुनाइन्। अधिकांशले ‘एमाले’ भनेर दिएको उत्तरले पनि आफूलाई यो पार्टीप्रति झुकाव बढाएको उनको तर्क छ।
करिश्मालाई पार्टी प्रवेशको मञ्चमा उभिएको देखेर लामो समय राजनीति गरेका मानिसले प्रश्न गरिरहेका होलान् भन्ने लागेको रहेछ। ‘वर्षौँदेखि पार्टीलाई योगदान दिनुभएको, जीवन नै यही पार्टीमा बिताउनु भएको अग्रज हुनुहुन्छ। उहाँहरुलाई लाग्ला यो मान्छे किन पार्टीमा आएको?,’ उनले भनिन्।
पार्टी अगाडि बढ्न पनि नयाँ सदस्य थपिनुपर्ने तर्क गर्दै करिश्माले भनिन् ‘पार्टीमा आउने भन्नासाथ साथीहरुलाई लागेको छ, म केही बार्गेनिङ, सौदाबाजी गर्न यहाँ आएको छु। तर मेरो कुनै ठूलो माग छैन। कुनै सौदाबाजी छैन। म नितान्त एमालेको कार्यकर्ता भएर काम गर्न आएकी हुँ।’
पार्टीसँग कुनै माग छैन भन्दै गर्दा करिश्माले जोडिन्, ‘पार्टीले मेरो योगदान र क्षमता हेरेर कुनै भूमिका दियो भने पछि हट्दिनँ।’ करिश्माले पार्टी प्रवेशपछिको आफ्नो यात्रा सुनौलो हुने अपेक्षा राखेको समेत बताइन्।
करिश्माले आफ्नो राजनीतिक यात्रा सुनौलो रहेको बताइरहँदा नयाँ बाटो त्यति सहज देखिएको छैन। हरेक पटक चुनाव नजिँकिदा कलाकारले पार्टी प्रवेश गर्ने, उनीहरुलाई टिकट दिने आश्वासनसहित प्रचारमा लगाउने र साथ छोड्ने प्रचलन पुरानै हो। करिश्मा पनि लगभग यही नियति नजिकबाट गुज्रिएकी कलाकार हुन्। कलाकार ‘देशका गहना’ हुन् भनिन्छ। हरेक चुनावताका कलाकार पार्टीका गहनाकै रुपमा प्रयोग हुँदै आएका छन्।
तर प्रयोग गरेपछि पार्टीले भूमिका नदिने प्रचलन पनि छ। अर्कोतिर कलाकारमा पनि पार्टी बदलिरहने प्रवृत्ति देखिएको छ। करिश्मामा पनि त्यही प्रवृत्ति देखिएको छ।
निर्वाचनको मुखैमा एमाले प्रवेश गरेकी करिश्मा निर्वाचनपछि ‘कमेरड’बनेर देश रुपान्तरणका लागि दौडिने हुन् फेरि विमति राखेर अन्तै मोडिने हुन्? धेरैको चासो बनेको छ।
हरेक चुनाव अगाडि पार्टी प्रवेश गर्ने कलाकारको लहर चल्छ। चुनावकै छेकोमा पार्टीले ‘पपुलर’ कलाकारलाई प्रवेश गराएर माहोल आफूतर्फ तान्ने प्रयत्न गर्छन्। कलाकारलाई टिकट दिने आश्वासन दिन्छन्।
करिश्माले पनि पार्टी प्रवेशपछि कार्यकर्ता भएर काम गर्न आएको बताइन्। तर घुमाउरो शैलीमा पार्टीले जिम्मेवारी दिने आश्वासन दिएको कुरा सुनाइन्। चुनावताका कलाकार भित्र्याएर टिकटको आश्वासन दिने र अन्तिममा निराश पार्ने प्रचलन नेपाली राजनीतिमा पुरानो भइसकेको छ।
देशका गहना भनिने कलाकार पनि पार्टीका गहना भएर राजनीतिक सभा–सम्मेलनमा भीड जुटाउने माध्यम बनिरहेकै छन्। तर कलाकार पार्टी प्रवेश गर्ने र भनेजस्तो भूमिका नपाएपछि छोडेर जाने प्रचलन कुनै पनि पार्टीलाई छोएको देखिँदैन। करिश्मा यसपटक पनि ‘नेता बन्न नसकेर अभिनयमै फर्किने त होइनन्?’ धेरैले प्रश्न गरिरहेका छन्।
भिडिओ
Shares
प्रतिक्रिया