माओवादी केन्द्रले जनकपुरधाममा मंगलबार चुनाव लक्षित मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो। जसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलसहितका नेताहरु सहभागी भए।
तर मधेसमा माओवादीका प्रभावशाली नेता मातृकाप्रसाद यादव अनुपस्थित हुँदा सो पार्टीभित्र हलचल भएको छ। मधेश प्रदेशमा पार्टीको महत्वपूर्ण चुनावी कार्यक्रममा यादव उपस्थित नहुनु अर्थपूर्ण मानिएको छ। उनको अनुपस्थितिलाई लिएर प्रशिक्षणमै सम्बोधनको क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाए।
यादवको अनुपस्थितिलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ। हुन त यादव प्रचण्डलाई स्वागत गर्न जनकपुर विमानस्थलमै पुगेका थिए। तर, उनी निकै निराश देखिन्थे। प्रचण्ड विमानबाट ओर्लिने बित्तिकै पार्टीका नेता कार्यकर्ता मालाले स्वागत गर्न तछाडमछाड गरिरहेका थिए। यादव भने विमानस्थलको विशेष अतिथि गृह छेउमा माला लिएर एक्लै उभिएका थिए।
पार्टीको त्यस्तो महत्वपूर्ण कार्यक्रममा यादव किन सहभागी भएनन् त? यादवले नेपालखबरलाई ‘तिलको तार बनाइँदै छ’ अर्थात झिनोमसिनो कुरालाई नम्बराइँदै छ भन्ने जवाफ दिए।
अध्यक्ष प्रचण्डले नै तपाईं सहभागी नभएको विषयमा असन्तुष्टि जनाए नि?
नेपालखबरको प्रश्नमा यादवले भने, ‘प्रचण्डजीको पेटमा कुरा पच्दैन। जे मनमा लाग्छ बोलिहाल्नु हुन्छ।’
त्यसो भए किन जानु भएन पार्टीको महत्वपूर्ण कार्यक्रममा?
यादवले भने, ‘मलाई सोधेनन्, म गइनँ। भयो नि भेला। देशभक्त नेता, क्रान्तिकारीले प्रशिक्षण दिनुभयो। कुरा केही छैन।’
मधेसमा माओवादी केन्द्रमा दुई खेमा प्रष्ट देखिएको छ। एक, प्रचण्ड पक्षको माओवादी खेमा र अर्को बरिष्ठ नेता श्रेष्ठको पूर्व एकता केन्द्र खेमा।
अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन भएको विषयलाई लिएर पछिल्लो समय माओवादीभित्र देखिएको अन्तरविरोधले मधेसमा खटपट बढेको छ।
प्रचण्ड पक्षीय एक नेताका अनुसार एमसीसी पास गरेको विषयलाई लिएर असन्तुष्ट रहेका श्रेष्ठ पनि प्रशिक्षण भेलामा सहभागी भएको करण देखाउँदै यादव अनुपस्थित भएका हुन्।
‘प्रचण्डलाई नै राष्ट्रघाती, आत्मसमर्पणवादी भएको आरोप लगाउने श्रेष्ठ सहभागी भएको प्रशिक्षणमा किन जाने भनेर यादव अनुपस्थित हुनु भएको हो’, ती नेताले भने।
Shares
प्रतिक्रिया