ad ad

राजनीति


महिला उपप्रमुख भन्छन् : अब नगर हाँक्ने पालो हाम्रो

महिला उपप्रमुख भन्छन् : अब नगर हाँक्ने पालो हाम्रो

गोकुल जोशी
चैत ९, २०७८ बुधबार १५:८, काठमाडौँ

सरकारले आउँदो वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेको  छ। देश संघीय व्यवस्थामा गएपछि दोस्रो पटक हुन लागेको स्थानीय चुनावको तयारीमा दलहरु जुटिसकेका छन्। 

यो सँगै आसन्न स्थानीय तहको निर्वाचनमा कुन दलबाट को उम्मेदवार बन्लान् भन्ने चर्चा सुरु भएको छ। अघिल्लो चुनावमा अधिकांश स्थानीय तहका उपप्रमुखमा सीमित राखिएका महिलाहरुले यसपटक प्रमुखमा दाबी पेस गरिरहेका छन्।

संविधानले स्थानीय निर्वाचनमा एउटै दलबाट उम्मेदवारी दिँदा प्रमुख वा उप प्रमुखमध्ये एक जना महिला हुनुपर्ने व्यवस्थाले ‘चुलोचौको’मा खुम्चिएका महिलालाई नेतृत्वको मूल प्रवाहमा ल्याउने कोसिस गरेको छ। तर, वि.सं. २०७४ को निर्वाचनमा अधिकांश स्थानमा महिलालाई उपप्रमुखमा मात्र सीमित गरिएको थियो। चुनावमा विजयी भएर नगरको उपप्रमुख सम्हालिसकेका महिलाले नगरको नेतृत्व गर्नका लागि आफू सक्षम भएको भन्दै यसपटक मेयरमा दाबी गरेका छन् ।

केही महिला उपप्रमुखकाे भनाइ

कार्यसम्पादनमा पुरुष भन्दा महिला अब्बल : शारदा शर्मा विष्ट, पुनर्वास नगरपालिका, कञ्चनपुर
स्थानीय तहको पहिलो कार्यकाल भिन्न भिन्न परिवेशबाट काम गर्नु परेकाले चुनौतीपूर्ण रह्यो। कार्यक्षेत्रहरुमा काम गर्दा अप्ठ्यारा परिस्थिती सृजना भए पनि सबैसँग समन्वय गरेर जनमुखी काम गरेका छौँ। 

स्थानीय तहमा जनप्रतिनिधि आएपछि पाँच वर्षको यस अवधिमा थुप्रै विकास निर्माण कामहरु भएका छन्। यही बीचमा कोरोना महामारी फैलिएकाले त्यसले गर्दा कामका केही काममा बाधा पुर्याएको छ।

राज्यले स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला अनिवार्य गरेपछि महिला पनि नेतृत्व तहमा आएका छन्। पितृसत्तात्मक सोचका कारण यो सहजै स्वीकार्ने अवस्था त थिएन। 
राज्यले नै ३३ प्रतिशत सहभागिता तोकेकाले पद सुरक्षित गर्दै हामी जनताबाट पनि अनुमोदित भयौँ। तर पितृसत्तात्मक सोचले गर्दा पहिलो कार्यकालमा निकै चुनौतीको सामना गर्नु पर्यो। त्यसै कारण कार्यक्षेत्र भित्र रहेका कुराहरु सोचे अनुसार गर्न सकिएन। 

संविधानमा महिलाको सहभागिताको व्यवस्था उल्लेख नभएको भए वडा सदस्य पनि महिलाले पाउने अवस्था थिएन। अहिले देशभर महिला उपप्रमुखको संख्या बढी छ। 
पारदर्शिता, सुशासन, भ्रष्टाचार नियन्त्रण लगायत कार्यसम्पादनमा पुरुष मेयरको तुलनामा महिला उपप्रमुखको काम राम्रो मूल्याङकन देखिन्छ। 

अब महिलालाई उपप्रमुखमा मात्रै सीमित नराखेर समान सहभागिता, क्षमता योग्यताको आधारमा प्रमुख (मेयर) कै रुपमा अगाडि सार्नु पर्छ। उपप्रमुख महिलाको पद हो भन्ने मानसिकता छ। 

पालिकामा पुरुष प्रमुख भएको भन्दा महिला प्रमुख भएमा धेरै परिवर्तन आउँछ। त्यसैले महिलाले अब प्रमुखका लागि अगाडि आउनु पर्छ। र, पालिकाको नेतृत्व गर्ने मौका पाउनु पर्छ।

उपप्रमुखका रुपमा एक कार्यकाल काम गरेकाले अनुभव प्राप्त भएको छ। महिलाहरु पनि पालिका हाँक्न सक्षम छन्। मेयरका लागि पार्टीमा दाबी गर्छु। पार्टीले जिम्मेवारी दिए नगरपालिकाको नेतृत्व गर्न तयार छु।

महिलालाई उपप्रमुखमा मात्र सीमित गर्नु हुन्न : जुना जाग्री, जयपृथ्वी नगरपालिका, बझाङ
सामान्य महिलाले जनप्रतिनिधिका रुपमा जनताको सेवा गर्न पाउँदा निकै खुसी  छु। पाँच वर्षको यो कार्यकाल मेरा लागि सिकाइको महत्वपूर्ण पाठशाला बनको छ। 

उपप्रमुखको प्रमुख जिम्मेवारी न्याय सम्पादनको हो। तर कानूनको विषयमा ज्ञान नहुँदा काम गर्न सुरुमा गाह्रो भयो। सबैको सरसल्लाह, समन्वय गरेर न्याय सम्पादन गर्ने जटिल कार्य पनि सम्पादन गरेका छौँ। 

पहिलो कार्यकाल हुनाले हामीले शून्यदेखि सुरु गर्नु पर्यो। नीति नियम निर्माणदेखि कार्यालय व्यवस्थापनसम्म काम गर्दा निकै अनुभव प्राप्त भएको छ। 

महिला सशक्तीकरणका लागि नगरपालिकाबाट विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका छन्। विगतमा महिला घरबाहिर निस्किन डराउने, अभिभावक लिएर लिएर निस्कनु पर्ने अवस्था थियो। 

अहिले यो अवस्थामा सुधार आएको छ। महिलाहरु सचेत भएर बोल्न सक्ने भएका छन्। बजेट तर्जुमा गर्दा विकास निर्माणमा मात्रै लगाउने मानवीय विकासलाई बेवास्ता गर्ने गरिन्थ्यो। अहिले प्रत्येक वर्ष महिला सशक्तीकरणका लागि बजेट विनियोजना हुने गरेको छ।

स्थानीय तह प्रमुखको लागि महिला आफै अगाडि आउँदैनन्। आए पनि समाज र पार्टीमा पुरुषको जस्तो महिलामा सक्षमता हुँदैन भन्ने बुझाइ छ। तर त्यस्तो होइन। महिला हरेक क्षेत्रमा सक्षम छन्। महिलालाई निर्णायक तहमा ल्याउनु पर्छ। पुरुषको निर्णयमा चल्नु भन्दा महिला आफै निर्णय गर्न परिपक्व छन्।  

उपप्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा नेतृत्वको अनुभव प्राप्त भएकाले अब प्रमुखको जिम्मेवारी बहन गर्ने मौका पाउनु पर्छ। चुनावमा महिलालाई उपप्रमुखमा मात्र सीमित गर्नु हुन्न। 
नयाँ उम्मेदवार खोज्नु भन्दा त अनुभवीलाई नै उम्मेदवार बनाउनु ठिक हो। मेयर भन्दा बढी मत ल्याएको र नेतृत्व गर्न सक्षम रहेकाले पार्टीले टिकट दिनेमा विश्वस्त छु। 

महिलामाथि पुरुष नै हाबी : कलावती बोहरा, परशुराम नगरपालिका, डडेल्धुरा
चुनावताका जनतामाझ गरेका अधिकांश बाचाहरू पुरा भएका छन्। पुरा गर्न बाँकी केही कामहरु भइरहेका छन्। 

पहिलो कार्यकाल निकै चुनौतीपूर्ण रहे पनि यसबाट जस्तो सुकै कठिन काम पनि सहजै गर्न सक्ने अनुभव मिलेको छ। 

विगतको तुलनामा महिलालाई अहिले समाजले नेतृत्व तहमा स्वीकारे पनि निर्णय गर्ने तहमा भने महिलाको सहभागिता कम भएको देखिन्छ।

महिलाले न्यायिक समिति र अनुगमनमा निर्णय गर्ने गरेको भए पनि आर्थिक निर्णयमा कम समेट्ने गरिएको महसुस भएको छ।

पार्टीले प्रमुख, उपप्रमुखको टिकट वितरण गर्ने हुनाले पार्टी जस्तो निर्णय गर्यो त्यहीँ अनुसार चल्नु पर्छ। पुरुषहरूमा आंकाक्षी बढी हुन्छन्। महिलाहरुले प्रमुख दाबी गरे पनि पुरुष नै हाबी हुने गर्दछन्।

नगरको नेतृत्व गर्न हामी पनि सक्षम छौँ । मेयरका लागि दाबी गर्छौं। यसपटक नगरको नेतृत्व गर्ने मौका पाउनु पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .