जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य प्रमोद साहमाथि आक्रमण घटना प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
सांसदमाथि आक्रमण गर्ने सर्लाहीको इश्वरपुर नगरपालिका ६ बयलबासका दुई जनालाई पक्राउ गरेको सर्लाहीका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए। यद्यपी उनीहरुको नाम अहिले प्रहरीले गोप्य राखेको छ।
घटना विषयमा अनुसन्धान जारी रहेको एसपी प्रसाईले बताए।
शनिबार बिहान सडक विस्तारको क्रममा परेको फुलजोर युवा क्लबको घर राख्ने की सार्ने विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको थियो। सोही क्रममा सांसद साहमाथि आक्रमण भएको थियो।
ढुंगाले लागेर उनको टाउकोमा गहिरो घाउ लागेको छ। उनलाई थप उपचारको लागि शनिबार दिउँसो हेलिकप्टरबाट काठमाडौं लगिएको छ। काठमाडौंको मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको छ।
जनता समाजवादी पार्टीले नेकपा एमालेका कार्यकर्ताहरुले सांसद साहमाथि आक्रमण गरेको आरोप लगाएका छन्। जसपाले दोषीलाई कारबाहीको मागसमेत गरेको छ।
गृहमन्त्री बालकृष्ण खाँण आइतबार अस्पताल पुगेर घाइते सांसद साहको स्वास्थ्य अवस्थाबारे जनकारी लिँदै घटनाको छानबिन र दोषीमाथि कारबाही गर्ने बताएका थिए।
Shares
प्रतिक्रिया