ad ad

राजनीति


एमालेको चुनावी अभियान : लौरो टेकेर दार्चुलाका दुर्गमबस्ती पुगे पूर्वमन्त्री ठगुन्ना

एमालेको चुनावी अभियान : लौरो टेकेर दार्चुलाका दुर्गमबस्ती पुगे पूर्वमन्त्री ठगुन्ना

गोकुल जोशी
चैत १५, २०७८ मंगलबार १५:५५, महेन्द्रनगर

दार्चुलाका सांसद तथा पूर्व–संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाको साथमा १०/१५ जना अरु पनि छन्।  उनीहरुले काँधमा झोला भिरेका छन् भने हातमा लौरो बोकेका छन्। 

त्यही लौरोको सहाराले डाँडाकाँडा छिचोल्दै टोली अगाडि बढिरहेको छ। 

सांसद ठगुन्नाले दार्चुलाको अपिहिमाल गाउँपालिका–३ को दुर्गम बस्ती क्षेत्ती जाँदै गरेको तस्बिर सार्वजनिक गरेका छन्। 

दार्चुलाको अपि हिमालको काखमा अवस्थित क्षेत्ती अति दुर्गम बस्ती अन्तर्गत पर्दछ। क्षेत्ती भन्दामाथि कुनै मानवीय बस्ती छैन। त्यसैले यसका सन्दर्भमा ‘नङमाथि मासु छैन, क्षेत्तीमाथि गाउँ छैन’ भन्ने कथन नै प्रख्यात छ।

यही विकट र अनकन्टार गाउँका बासिन्दासँग भेटघाट तथा उनीहरुका समस्या बुझ्न १४ घण्टा हिँडेर सांसद ठगुन्ना, एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामी लगायतको टोली त्यहाँ पुगेको छ। 

यस क्रममा राजनीतिक दलका नेताहरु पहिलो पटक गाउँमा पुगेको भन्दै स्थानीयले उनीहरुको भव्य स्वागत गरेका छन्। लौरो टेक्दै क्षेत्ती पुगेका सांसद ठगुन्नालाई क्षेत्तीबासीले अर्गानिक खान्की खुवाए र आफ्ना समस्याहरु सुनाए। 

‘निक्कै दुर्गम र अप्ठेरो भूगोलमा रहेकाले क्षेत्ती गाउँमा सामान्यतह बाहिरबाट कोही पुग्दैनन्। एमालेको टोली स्थानीय तह चुनावलाई लक्षित गरी त्यहाँ पुगेको हो,’  टोलीमा संलग्न अनेरास्ववियुका केन्द्रीय सदस्य राजेशसिंह विष्टले भने, ‘यस अवसरमा माननीयज्यू समक्ष स्थानीयले आफ्ना समस्या राखे। उहाँले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।’

उनका अनुसार क्षेत्तीमा १७ घरधुरीको बसोबास छ।  घर र जग्गाको लालपूर्जा नहुँदा उनीहरु सदियौँदेखि ठगिएका छन् भने सञ्चारको सुविधा नहुँदा सञ्चारविहीन हुनु परेको छ।

‘मठ–मन्दिर छैनन्, तर सबै जग्गा गूठिको नाममा रहेको छ,’ उनले भने, ‘स्थानीयले जग्गाको लालपूर्जा नहुँदा बैंकमा धितो राखेर ऋण समेत लिन नपाएको गुनासो गरेका थिए।’ 

दार्चुलाको गोकुलेश्वर हुँदै सांसद ठगुन्नाको टोली चैत्र १२ गते बिहानपख गाडीमा मकरीगाड पुग्यो। मकरीबाट माथी गाडी जाने बाटो छैन। त्यहाँबाट पैदल यात्रा तय गरेको सांसदको टोली बेलुकी १० बजेतिर क्षेत्ती पुगेको थियो। 

क्षेत्तीसम्मको यात्रा निकै कठिन छ। मकरीगाड, कोट, खण्डेश्वरी, थुम्ती, कालिछयुँ, राताभिटा, मादेउफाकला, बथेलढुंगा, कटलिगाड, चोरा डाँडा, पाथा, सिमार कसौंती, तोत्थी, रङघाणी, घाँजिर बस्ती पार गरेर क्षेत्ती पुग्न सकिन्छ।

‘मकरी गाडबाट निरन्तर १४ घण्टाको कठिन पैदल यात्रापछि क्षेत्ती गाउँ पुग्यौँ,’ बिष्टले भने, ‘बाटोमा केही साथीहरु बिरामी पर्नु भयो, उहाँहरुलाई नजिकका गाउँमा छाडेर माननीयज्यूको टोली गन्तब्यमा पुगेर जनताको पीरमर्का सुनेको छ।’

सांसदको टोलीमा रहेका एमाले दार्चुलाका उपाध्यक्ष चरन बुढाथोकीको खुट्टामा समस्या भएपछि उनी खण्डेश्वरीमै रोकिए। पूर्व जिल्ला अध्यक्ष रामदत्त जोशीको पनि बाटोमै खुट्टा मर्केपछि पाथा भन्ने ठाउँमै रोकिएका थिए। 

एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका ठगुन्ना चुनावी अभियान अन्तर्गत अपि हिमालको काखको बस्ती क्षेत्ती पुगेका थिए।

‘एक पाइला चाल्न पनि कठिन, हातखुट्टा लत्रक्क गल्ने, खपि नसक्नु  चिसो, अक्सिजनको लेभल कम हुँदै जानु लगायतका अनेक समस्या आए,’ बिष्टले भने, ‘तर, क्षेत्तीमा स्थानीयसँग भेट गरेर भलाकुसारी गर्ने मौका पाउनु ठूलो अहोभाग्य हो।’

सांसद ठगुन्नाको टोली अहिले दार्चुलाका दुर्गमबस्तीका स्थानीयसँग साक्षात्कार गर्न गाउँ गाउँ पुगिरहेका छन्। दुर्गमबस्ती क्षेत्तीबाट फर्किएपछि सांसद ठगुन्ना मंगलबार दुहुँ पुगेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .