स्थानीय तहको नेतृत्व तहमा थारु समुदायको प्रतिनिधित्व गर्ने महिला जनप्रतिनिधि औँलामा गन्न सकिने मात्रै छन्। ती मध्येकी एक हुन्, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका उपप्रमुख रमिता राना।
उनी वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट उपमेयरको उम्मेदवार बनिन्। देश संघीयतामा गएपछि पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा प्रमुख वा उपप्रमुखमध्ये एक महिला अनिवार्य हुनुपर्ने व्यवस्थाले महिलालाई मूलधारमा ल्याउन कोसिस गर्यो।
यद्यपी अधिकांश ठाउँमा प्रमुख राजनीतिक दलहरुले महिलालाई उपप्रमुखको टिकट दिएर चुनावी प्रतिस्पर्धामा उतारे।
कृष्णपुर नगरपालिकाकी उपमेयर राना पनि एमालेको तर्फबाट उपमेयरमा प्रतिस्पर्धा गर्दै विजयी भइन्। त्यतिबेला उनी उमेरले ३० वर्ष पुगेकी थिइन्।
रानाले नेपाली कांग्रेसका तर्फबाट उपमेयरकी उम्मेदवार भुवनेश्वरी जोशीलाई १२ सय बढी मतान्तरले पराजित गरेकी थिइन्। उमेरका आधारमा सुदूरपश्चिम प्रदेशकी ‘कान्छी’ उपमेयरका रुपमा जनप्रतिनिधिमा निर्वाचित भएपछि त्यस बेला उनले निकै चर्चा पनि बटुलेकी थिइन्।
उनै उपप्रमुख रानाले स्थानीय तहको पाँच वर्षको कार्यकालको मैझारो पुग्दै गर्दा आसन्न चुनावमा प्रमुखमा प्रतिस्पर्धा गरेर कृष्णपुर नगरपालिकाको मेयर बन्ने सपना बुनेकी छिन्। उपप्रमुखमा पाँच वर्ष काम गर्दा अनुभव बटुलेकोले आफूले नगर हाँक्ने अवसर पाउनु पर्ने भन्दै उनले पार्टीमा लबिङ पनि थालेकी छन्।
राजनीतिक यात्रा
वि.स. २०४४ सालमा बेदकोट नगरपालिका–६ सिसैयामा जन्मिएकी उपमेयर राना सानै उमेरदेखि राजनीतिमा सक्रिय भइन्। सुरुमा कुनै पार्टीमा आवद्ध नभए पनि उनी थारु समुदायको नेतृत्व गर्दै विभिन्न कार्यक्रममा सहभागी हुने गर्थिन्।
थारु समुदायको उत्थानका लागि सक्रिय राना आफ्नो मामाको प्रेरणाले पार्टीमा संगठित भएर राजनीति सुरु गरेको बताउँछिन्।
‘बिहे गर्नु भन्दा पहिले जनजाती महासंघमा आवद्ध थिएँ। हामी वर्गको लडाईँमा थियौँ। त्यति बेला कुनै पार्टीको झण्डा बोकेको थिइन,’ उनले भनिन्, ‘२०५४ सालमा मामा एमालेका निर्वाचित वडाध्यक्ष हुनुहुन्थ्यो। उहाँबाट राजनीति सिक्दै सक्रिय भएँ।’
रानाको परिवारको आर्थिक स्थिती कमजोर थियो। उनका एक दाइ, दिदी र तीन बहिनी छन्। ठूलो परिवार तर आर्थिक स्थिती नाजुक हुनाले उनीहरुलाई जीविकोपार्जन, शिक्षा दीक्षाका लागि समस्या हुने गर्थ्यो।
आमाबुबाको कुनै रोजगारी थिएन। दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्थे। कमजोर आर्थिक स्थितिका बाबजुत उपमेयर रानाले कक्षा १२ सम्मको अध्ययन गरेकी छिन्।
वि.सं. २०६३ सालमा घटाल माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेकी रमिताले कक्षा १२ महेन्द्रनगरको बालजागृती कलेजबाट पास गरिन्।
कक्षा १२ सम्मको अध्ययन पश्चात् उनी वैवाहिक बन्धनमा बाँधिइन्। बेदकोटको सिसैयाबाट बिहे गरेर उनी कृष्णपुर नगरपालिका–४ गइन्।
बिहे गरेपछि पनि उनको राजनीतिक यात्रा रोकिएन। बरु राजनीतिक यात्रा थप सफलतातिर उन्मुख भयो। उनले घरपरिवार र राजनीतिलाई सँगै अगाडि बढाइन्।
‘श्रीमानको साथ सहयोगले यहाँसम्म पुग्न सफल भएकी हुँ,’ उपमेयर राना भन्छिन्, ‘घर राम्रो नहुँदा राजनीति गर्न सकिँदैन। राजनीतिक यात्रामा श्रीमानले सहयोग नगर्नु भएको भए यहाँसम्म पुग्ने थिइन।’
रानाका दुई छोरी छन्। श्रीमान् घरायसी कामकाजमा गर्छन्। महिला सशक्तीकरण, महिला शोषण, हिंसा तथा हक अधिकारका लागि वकालत गर्न राजनीतिमा लागेको उपमेयर राना बताउँछिन्।
‘रहरले राजनीति गरेको होइन। महिला शोषण, हिंसामा तथा हक अधिकार सुनिश्चित गर्न लडाइँ गर्छु भनेर राजनीति गरेको हो,’ उनले भनिन्, ‘समाजलाई समृद्धि पथमा डोर्याउन खाका कोरेको र त्यहीँ पुरा गर्न यो क्षेत्रमा लागेकी हुँ।’
‘महिला सशक्तीकरणमा उल्लेख काम’
आफू कृष्णपुर नगरपालिकाको उपमेयरमा विजयी भए पश्चात् महिला सशक्तीकरणका लागि उल्लेख्य कामहरु भएको उनी बताउँछिन्।
‘संघीयताको पहिलो अभ्यास भएकाले यो अवधि निकै चुनौतीपूर्ण रह्यो। यसका बाबजुत पनि हामीले महिला सशक्तीकरणका लागि उल्लेख्य काम गर्न सफल भएका छौँ,’ उनले भनिन्।
उपमेयर रानाका अनुसार हिंसा सहेर बसेका महिलाले न्यायका लागि अदालत धाउनु पर्ने र प्रक्रिया लामो र खर्चिलो हुँदा न्यायबाट वञ्चित हुनु पर्ने अवस्था थियो। ती समस्यालाई स्थानीय तहको न्यायिक समितिबाट हल गरेर महिलालाई सहजता मिलेको उनी बताउँछिन्।
‘हिंसामा रहेका महिलाको लागि स्थानीय तहबाट सेवा गर्ने मौका मिल्यो,’ उनले भनिन्, ‘हिंसा पीडित बालबालिका र महिलाका लागि बजेट विनियोजन गर्न जोडबल गरेँ। फलस्वरुप प्रत्येक वर्ष नगरपालिकाबाट पाँच लाख बजेट विनियोजन हुने गरेको छ।’
चुलोचौकामा सीमित रहेका महिलाहरुलाई क्षमता मूलक तालिम प्रदान गरेर आत्मनिर्भर, आफ्ना हक अधिकार, हिंसाको विरुद्ध आवाज उठाउन सकून् भनेर क्षमता अभिवृद्धि तालिमहरु सञ्चालन गरिएको उनको भनाई छ।
‘महिलालाई आत्मनिर्भर बनाएर क्षमता अभिवृद्धि गर्ने सपना थियो। त्यही अनुसार महिलाको क्षेत्रमा काम भएका छन्,’ उनले भनिन्, ‘तर कोरोना तथा प्राकृतिक प्रकोपले गर्दा लक्षित वर्गका केही कार्यक्रम कटौती गर्नु परेकाले सोचे अनुसार गर्न सकिएको छैन।’
भौतिक विकास भन्दा पनि जनताले खुसी साथ जीवन बिताउने वातावरण सृजना गर्नु पर्नेमा उपमेयर रानाले जोड दिइन।
‘विकासको निर्माणको आज भएन भने भोली होला। तर जनताले दिनभर काम गरेर बेलुका मिठो निन्द्राको वातावरण बनाउनु पर्छ,’ उनले भनिन्, ‘पिच रोडमा हिँड्ने व्यक्तिले शान्तिपूर्वक खान, हिँड्न पाएको छैन भने पिच रोड बनेको साध्य हुँदैन।’
‘सुशासनका लागि महिला नेतृत्व आवश्यक’
सुशासन कायम गर्नका लागि महिला वर्गले नेतृत्वमा आउनु आवश्यक रहेको उनी बताउँछिन्।
‘महिला मेयर भएको ठाउँमा सबैभन्दा कुशलतापूर्वक काम गरेको उदाहरण छन्। महिला मेयर भएको ठाउँमा भ्रष्टाचार भएको सुन्न पाएका छैनौँ,’ उनले भनिन्, ‘त्यसैले सुशासनका लागि महिलाको नेतृत्व आवश्यक छ।’
‘महिलालाई उपमा सीमित राख्नु हुन्न’
समाजमा जरा गाडेर बसेको पितृसत्तात्मक सोचले गर्दा महिलाहरु पछाडी परेको उनको भनाई छ।
‘पुरुषहरु त सोच्छन् नै। महिलाहरु पनि आफै नेतृत्व गर्न सक्दैनौँ कि भन्ने सोच्छन्,’ उनले भनिन्, ‘अहिले पनि यो सोच समाजमा व्याप्त छ।’
समाजले महिलाको नेतृत्व नस्वीकार्दा महिलाले चुनौतीबीच काम गर्नु परेको उपमेयर राना बताउँछिन्। राजनीतिक दलले यस पटकको चुनावमा महिलालाई प्रमुख नेतृत्व दिनु पर्नेमा उनले जोड दिइन्।
‘२०७४ सालमा महिलाहरुलाई उपमा थन्क्याइयो। अब महिलालाई प्रमुख दिएर पुरुषलाई उपप्रमुख बनाउनु पर्छ,’ उनले भनिन्, ‘पार्टीले अझै महिलालाई उपमै सीमित राख्नु हुन्न। महिलालाई कुशलता देखाउने अवसर दिनु पर्छ।’
Shares
प्रतिक्रिया