ad ad

राजनीति


सुदूरपश्चिममा उल्टो भूमिकामा कांग्रेस: सत्ता साझेदार दलविरुद्ध एमालेसँग गठबन्धन

सुदूरपश्चिममा उल्टो भूमिकामा कांग्रेस: सत्ता साझेदार दलविरुद्ध एमालेसँग गठबन्धन

गोकुल जोशी
चैत १७, २०७८ बिहिबार ९:५२, काठमाडौँ

केन्द्रमा सरकार एवं सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाकै गृहप्रदेश सुदूरपश्चिममा भने प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग मिलेको छ। 

संघीय सरकारमा सत्ता साझेदार रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा भने आफूलाई बेवास्ता गर्दै एकलौटी ढंगले सरकारले सञ्चालन गरिरहेको भन्दै कांग्रेस रुष्ट भएको हो। 

बुधबार नेपाली कांग्रेस र नेकपाका एमालेका प्रदेश सांसदबीच भएको छलफलमा मिलेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने सहमति बनेको हो। 

नेकपा एमाले विभाजनपूर्व सुदूरपश्चिममा माओवादी केन्द्र र एमाले (माधव समूह) को गठबन्धन सरकार थियो। नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा थियो। एमालेबाट अलग भएर माधवकुमार नेपालको नेतृत्वमा गठित एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभामा १४ सांसदसहित सबैभन्दा ठूलो दल बन्यो। त्यसपछि एमाले सरकारबाट बाहिरियो भने एकीकृत समाजवादीको समर्थनमा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट नेतृत्वकै सरकारले निरन्तरता पायो।

केन्द्र तथा अन्य प्रदेशमा जस्तै सुदूरपश्चिममा पनि कांग्रेस सरकारमा सहभागी हुन चाहन्थ्यो। तर केन्द्रमा गठबन्धन सरकार बनेको लामो समय भइसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस सहभागी हुन पाएको छैन। केन्द्रको गठबन्धनमा नेतृत्वकर्ता आफूलाई बेवास्ता गरेको भन्दै कांग्रेस यहाँ प्रतिपक्ष एमालेसँग मिलेर प्रतिपक्ष भूमिकामा सक्रिय हुन लागेको हो। 

प्रदेश गठबन्धनबारे बुधबार कांग्रेसका प्रदेश सांसद डिल्लीराज पन्त, भरतबहादुर खड्का र अम्बि थापा तथा एमालेका प्रकाशबहादुर शाह, लीलाधर भट्ट, हर्कबहादुर कुँवर र बलदेव रेग्मीबीच संयुक्त छलफल भएको हो। 

जम्मा ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, कांग्रेसका १२, एमालेका १०, जसपाका र लोसपाका एक/एक सांसद छन्। 

सरकारमा रहेको माओवादी केन्द्र र एकीकृत समाजवादीसँग सरकार बनाउन आवश्यक २७ सांसद छन् भने सरकार बाहिर रहेका पार्टी गठबन्धन भए पनि अल्पमतमा छन्। 

दुवै पार्टी प्रतिपक्षमा रहेकाले कसरी सबल प्रतिपक्षको भूमिका निर्वाह गर्न सकिन्छ भनेर छलफल गरिएको बैठकमा सहभागी कांग्रेसकी प्रदेश सांसद अम्बी कुमारी थापाले बताइन्। 

‘लिखित कुनै सहमति भएको छैन’, नेपालखबरसँग उनले भनिन्, ‘परिस्थिति र आवश्यकताअनुसार गठबन्धन गरेर जानुपर्छ भन्नेमा एकमत भएका छौं।’

कांग्रेसका प्रदेश सांसद भरत खड्का केन्द्रको भन्दा पनि प्रदेशको आवश्यकताअनुरूप गठबन्धन गर्नुपर्नेमा जोड दिए। 

‘एकतर्फी रूपमा सरकारले काम गर्दै आएको छ। त्यसको भागीदार हामी किन बन्ने? केन्द्र सत्ता गठबन्धन तोडेर नयाँ समीकरण बनाउनुपर्ने देखिएको छ’, उनले भने।

एमालेका प्रदेश संसद लीलाधर भट्टले कांग्रेस र एमालेबीच सरकारका गलत प्रवृत्तिविरुद्ध सशक्त भएर अघि बढ्ने सहमति भएको जानकारी दिए। 

‘कांग्रेस सत्ता पक्षीय हो कि प्रतिपक्ष हो भनेर भूमिका स्पष्ट भएन। भूमिका स्पष्ट गर्न भनेका छौं’, उनले भने, ‘प्रतिपक्ष भूमिकामा हो भने प्रदेश सरकारका विकृति, विसंगतिलगायत मुद्दाविरुद्ध सहकार्य गरेर जान सकिन्छ भन्ने छलफल भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .