ad ad

राजनीति


धनगढीको नेतृत्वमा गठबन्धनका तीनै दलको दाबी, स्वतन्त्र उम्मेदवार हमाल चुनौती

उम्मेदवार नटुंगिँदै थालियो चुनावी कार्यक्रम
धनगढीको नेतृत्वमा गठबन्धनका तीनै दलको दाबी, स्वतन्त्र उम्मेदवार हमाल चुनौती

फाइल तस्बिर


गोकुल जोशी
चैत १९, २०७८ शनिबार २१:६, काठमाडौँ

सुदूरपश्चिमको एक मात्रै उपमहानगरपालिका धनगढीमा स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावकेन्द्रित अभियानलाई तीव्र पारेका छन्। 

धनगढी उपमहानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका उद्योगी गोपाल हमाल पनि चुनावी प्रचार व्यस्त छन्। 

सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गर्ने निर्णय गरेपछि स्थानीय नेता तयारीमा जुटेका छन्।

यसका लागि कांग्रेस, माओवादी र एकीकृत समाजवादीले छलफल अगाडि बढाएका हुन्। 

वि.सं. २०७४ को चुनावमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई झिनो मतान्तर (२ हजार ७ सय) ले हराउँदै कांग्रेसका नृपबहादुर वड मेयर बनेका थिए।

उनै हमाल यसपटक फेरि उम्मेदवार बन्ने भएपछि धनगढी उपमहानगरमा कांग्रेसलाई जित हासिल गर्न चुनौती देखिएको छ। 

पार्टीको केन्द्रीय समितिको निर्णयानुसार आवश्यकता हेरेर सत्ता साझेदार दलबीच चुनावी तालमेल गर्ने विषयमा छलफल भइरहेको कांग्रेस कैलाली जिल्ला सभापति नारायण भट्ट बताउँछन्।

‘पार्टीले आवश्यकता र परिस्थितिअनुसार चुनावमा तालमेलको निर्णय गरेको छ। कहाँ र कसरी तालमेल गर्ने भनेर केही स्पष्ट गरेको छैन’, उनले नेपालखबरसँग भने, ‘अहिले हामीले गठबन्धनमा रहेका दलहरू भित्र छलफल चलाइरहेका छौं।’ 

कांग्रेसले धनगढी उपमहानगरपालिकामा प्रमुख, उपप्रमुखसहित बहुमत नछाड्ने अडान लिएको छ। 

‘मेयर, उपमेयरसहित कांग्रेसले १२ वडा पनि जितेको थियो। त्यसैले मेयर उपमेयर छोड्दैनौँ’, सभापति भट्टले भने, ‘बहुमत आफूसँग राखेर अन्यमा बाँडफाँड हुन्छ।’

कैलालीका टीकापुर, लम्की, अत्तरिया, जोशीपुर, बर्दगोरिया, जानकीलगायत महत्त्वपूर्ण ठाउँ कांग्रेसले नछाड्ने उनको दाबी छ। ‘यी क्षेत्रमा केही गिभ एन्ड टेक हुनसक्छ’, उनले भने, ‘तर धनगढी हामी छोड्दैनौँ।’

२०७४ सालको चुनावमा कमजोर उपस्थिति देखिएको नेकपा माओवादी र एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी धनगढीमा गठबन्धनको फाइदा उठाउँदै नेतृत्व हत्याउने दाउमा छ। 

माओवादी र समाजवादी नेतृत्वमा दाबी गरेर नगरमा आफ्नो शक्ति सुरक्षित गर्ने प्रयासमा छ। गठबन्धनभित्र माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि दल धनगढी उपमहानगरपालिकाको नेतृत्वमा दाबी गरेका छन्। 

माओवादी केन्द्रले धनगढी उपमहानगरमा प्रमुख वा उपप्रमुखमध्ये एउटा पाउनुपर्ने नेता बलबहादुर ऐर बताउँछन्।

‘बाँडफाँडका विषयमा केन्द्रबाटै टुंगो लागेर आउने देखिन्छ’, उनले भने, ‘मेयर र उपमेयरमा हाम्रो दाबी हो। एक हामीले पाउँछौँ।’

धनगढी उपमहानगरको नेतृत्वमा एकीकृत समाजवादीले पनि दाबी गर्ने नगर कमिटी अध्यक्ष मदन रेग्मी बताउँछन्। ‘स्वाभाविक रूपले हामी नेतृत्वमा दाबी गर्छौं’, उनले भने, ‘नेतृत्व नपाए सशक्त भूमिका चाहिन्छ।’ 

सत्ता साझेदार जनता समाजवादी पार्टीले चाहिँ धनगढी उपमहानगरपालिकाको उपमेयर पदमा दाबी गरेको छ। ‘सम्मानजनक ठाउँ पाएमा गठबन्धन गर्छाैं। नभए हामी एक्लै चुनाव लड्ने हो’, जसपा कैलालीका अध्यक्ष गयाप्रसाद कुस्मीले भने, ‘गठबन्धन बैठकमा उपमेयरमा दाबी गरेका छौँ।’

केन्द्र हुँदै स्थानीय तहसम्म गठबन्धन हुनुपर्नेमा आफूहरूले प्रदेशमा गठबन्धनको अनुभूति गर्न नपाएको उनको गुनासो छ।   ‘संघमा मात्रै गठबन्धन भएर हुँदैन। प्रदेश र स्थानीय तहमा पनि हुनुपर्छ’, उनले भने, ‘प्रदेश सरकारलाई हाम्रो समर्थन छ। तर प्रतिपक्षमा बस्न बाध्य छौँ।’

जसपाको बलियो पकड रहेको कैलालीका टीकापुर, भजनी, कैलारी, गौरीगंगामा नेतृत्वमा नै दाबी गरहेको उनको भनाइ छ। 

यस्तै सुदूरपश्चिममा तुलनात्मक रूपमा राष्ट्रिय जनमोर्चाको उपस्थिति कमजोर छ। निर्वाचन लक्षित कार्यक्रम भइरहेको बताउँदै जनमोर्चाका नेता रामबहादुर कार्कीले पार्टीको केन्द्रीय कमिटीको निर्णयअनुसार आफूहरू अगाडि बढ्ने बताए। 

‘अहिले यहाँ हाम्रा निर्वाचित जनप्रतिनिधि छैनन्। केही ठाउँमा थोरै मतले पराजित भएका छन्’, उनले नेपालखबरसँग भने,  ‘ती ठाउँमा हाम्रो दाबी रहन्छ। धनगढीको नेतृत्वमा हाम्रो दाबी रहँदैन।’

अहिले धनगढी उपमहानगरपालिकामा कांग्रेसका नृपबहादुर वड मेयर र सुशीला भट्ट मिश्र उपमेयर छन्। कूल १९ वटा वडा रहेको उपमहानगरका १२ वटा वडा कांग्रेसले जितेको छ।

यस्तै माओवादी केन्द्रले ५ वटा वडा जितेको थियो। नेकपा एमालेले धनगढीका २ वटा वडामा विजय प्राप्त गरेको थियो। एमाले विभाजन भएपछि धनगढीका एमालेबाट निर्वाचित एक वडाध्यक्ष एकीकृत समाजवादीमा लागेका छन्।

याे पनिधनगढी उपमहानगर : दललाई स्वतन्त्र उम्मेदवार हमाल भारी!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .