स्थानीय तह निर्वाचनको मुखमा नेकपा एमालेबाट विजयी कञ्चनपुरको वेदकोट नगरपालिकाका नगर प्रमुख (मेयर) अशोककुमार चन्दले पार्टी छाडेका छन्। मेयर चन्दले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेशको तयारी गरेका छन्।
नेकपा एकीकृत समाजवादी वेदकोट नगर कमिटीको आयोजनामा आइतबार वेदकोट–३ मा आयोजना हुने चुनावकेन्द्रित आमसभामा एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका चन्दसहित त्यहाँका अधिकतर नेता, कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गर्ने कार्यक्रम रहेको एकीकृत समाजवादी कञ्चनपुरका अध्यक्ष जीवनबहादुर थापाले जानकारी दिए।
‘वेदकोटका मेयर साब, तीन जना वडाध्यक्ष लगायत नगरका एमालेका पुराना साथीहरु हामीसँग आउँदै हुनुहुन्छ,’ उनले नेपालखबरसँग भने, ‘आज दिउँसाे २ बजे नगर कमिटीले आमसभा राखेको छ। सोही आमसभामा उहाँहरु पार्टी प्रवेश गर्ने तयारी छ।’
उनका अनुसार मेयर चन्दसहित एमाले छाडेर एकीकृत समाजवादी प्रवेश गर्नेहरुलाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्ने कार्यक्रम छ। एमाले त्यागेर समाजवादी प्रवेश गर्ने तयारी गरेका मेयर चन्द एमालेमा दसबुँदे पक्षधर हुन्।
मेयर चन्दसहित वेदकोट नगरपालिकाको एमालेको ठूलो पङ्क्ति एकीकृत समाजवादीमा समाहित हुने तयारी गरेपछि एमाले कञ्चनपुरमा खैलाबैला मच्चिएको छ।
गत पुस अन्तिम साता भएको एमाले जिल्ला अधिवेशनमा माओवादी पृष्ठभूमिका वीरबहादुर थापा पातल समूहबाट मेयर चन्द सचिवमा चुनाव लडेका थिए। उनी भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट प्यानलका पल्लवराज भट्टसँग ७ मतले हारेका थिए।
एमाले कञ्चनपुरको अध्यक्षमा माओवादी पृष्ठभूमिका पातललाई हराउँदै भीमदत्तका मेयर विष्ट विजयी भएका थिए।
त्यसपछि अध्यक्ष विष्ट र जिल्ला इन्चार्ज निरुदेवी पाललगायतले पातल समूहमा लागेका नेता, कार्यकर्ताहरुलाई पार्टीमा अवसर नदिएको र पेलेरै लैजाने रणनीति लिएको भन्दै रुष्ट बनेको चन्दपक्षीय वेदकोटका नेता कार्यकर्ताले एमाले त्याग्न लागेको बताएका छन्।
यस विषयमा स्वयं मेयर चन्दको प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।
Shares
प्रतिक्रिया