ad ad

राजनीति


वडासम्मै तालमेलको मापदण्ड बनाइँदै, यस्तो छ सिट बाँडफाँटको आधार

वडासम्मै तालमेलको मापदण्ड बनाइँदै, यस्तो छ सिट बाँडफाँटको आधार

फाइल तस्बिर


सागर न्यौपाने
चैत २८, २०७८ सोमबार १७:२८, काठमाडौँ

पाँच दलीय गठबन्धनले स्थानीय निर्वाचनका लागि वडसम्मै गर्ने तालमेलको मापदण्ड र प्रक्रिया बनाउने भएको छ।

मंगलबार अपरान्ह ४ बजे बस्ने शीर्षसहित संयन्त्र र स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले तालमेलको मोडालिटी, उम्मेदवार मापदण्ड र प्रक्रियासहितको निर्णय गर्दैछ।

गठबन्धनले महानगर–उपमहानगरको तालमेल निर्णय केन्द्रबाट, नगरपालिकाको प्रदेशबाट, पालिकाहरुको जिल्लाबाट र वडाहरूको तालमेल निर्णय गाउँपालिकाको सिफारिसका आधारमा गर्ने सहमति गरिसकेको छ।

त्यहीअनुसार प्राय सबै पालिकास्तरसम्म पाँच दलीय गठबन्धनको संयन्त्र बनिसकेको छ। 

केन्द्रले सबै उम्मेदवारको मापदण्ड बनाइदिने तयारी गरेको हो। वैशाख ३० गते हुने चुनावका लागि आगामी वैशाख ११ गते उम्मेदवारी मनोनयन कार्यक्रम छ।  

सोमबार बसेको शीर्ष नेतासहितको गठबन्धनको बैठकपछि चुनावी तालमेलबारे सार्वजनिक अपिल गरेका छन्।

सोमबारको बैठकमा स्थानीय चुनावमा तालमेलको मोडालिटीबारे छलफल भएको थियो। 

‘ठाउँ विशेषका अवस्था, २०७४ प्राप्त गरेको मत संख्या र पछिल्लो अवस्था अनुसारको विश्लेषण गरिएको छ,’ नेकपा एकीकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य प्रकाश ज्वालाले नेपालखबरसँग भने, ‘अब हामी संख्या भागवण्डा कसरी गर्न सकिन्छ भन्नेमा छलफल गर्दैछौँ, स्थानीय तहको गठबन्धनबारे निर्णय भोलिको बैठकमा हुन्छ।’

गठबन्धनका दलहरुबीच तालमेलबारे समझदारी कायम गर्ने सहमति आजको बैठकमा भएको छ।

चितवनको भरतपुर महानगरपालिका, कञ्चनपुरका केही पालिका र रुकुममा पनि चुनावी तालमेलबारे कांग्रेस र माओवादीले अडान राखेका छन्।

केही स्थानीय तहमा कांग्रेसले गठबन्धनका दलहरूसँग संयन्त्र बनाउन भूमिकै नखेलेको भन्दै असन्तुष्टि जनाएका छन्।

यस्तो परिस्थितिमा सबै वडैसम्म बाँडफाँटको निर्णय नगरे स्थानीय अनुकूलताका आधारमा हुने र त्यसले जुन पार्टीसँग पनि तालमेल हुने खतरा देखेपछि गठबन्धनले पाँच दलबाहेक अन्यसँग तालमेल नगर्ने सहमति पनि गरेको छ।

‘स्थानीय तह मात्रै होइन, वडा सदस्य समेत सहमतिमा बाँडफाँट गछौं,’ एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालखबरसँग भने, ‘महानगर र उपमहानगरको टुंगो केन्द्रबाट लगाउँछौं, भोलि ४ बजे बैठक बसेर वडा तहसम्मको बाँडफाँटको मापदण्ड र प्रक्रियासहितको निर्णय गर्छौँ।’

एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन अन्तर्गत आफूले भाग पाएका स्थानबाट मात्रै उम्मेदवारी सिफारिस लिने आइतबार निर्णय गरेको छ। 

‘गठबन्धन गर्दा हामीले पाएको स्थानमा सिफारिस भई आएका नाममध्येबाट उम्मेदवार चयन गर्छौँ,’ महासचिव वेदुराम भुसालले भने, ‘गठबन्धनका अन्य दललाई परेका स्थानमा हाम्रा उम्मेदवार उठाउने छैनौँ।’

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको  स्थानीय चुनाव तयारी तथा अनुगमन समितिको आइतबार बसेको बैठकमा पाँच दलको संयन्त्रले देशभरबाट पठाएका रिपोर्टमाथि छलफल भएको थियो।

स्थानीय तहले सुझावसहितको पठाएका सुझावमा कुन पार्टीको अवस्था कस्तो छ? गठबन्धन गर्दाको परिस्थिति कस्तो हुन्छ लगायत विश्लेषण समेत गरिएको छ। 

त्यही विश्लेषणको आधारमा वडैतहसम्म तालमेल गर्न सकिने तर केही असन्तुष्ट स्थानीय तहमा पनि पाँच दलबाहेकसँग मिल्न नपाउने निर्णय गरेपछि गठबन्धन बलियो बनेको उनीहरुको ठहर छ।

गठबन्धनमा कांग्रेस पहिलो, दोस्रो माओवादी केन्द्र छ। नेकपा एमालेसँग विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पोजिसन तेस्रो भएको दाबी गरिरहेको छ।

‘देशव्यापी संगठन र कमिटीकै आधारमा हामी बलियो अवस्थामा छौँ, सुदुरपश्चिम, कर्णाली र मधेस प्रदेशमा गठबन्धनको दलभन्दा हामी अगाडी छौँ,’ सम्मानित नेता खनालले दाबी गरे।
जसपाले २०७४ को स्थानीय तहको निर्वाचनमा एक महानगरसहित ३४ तहमा प्रमुख जितेको थियो। 

राष्ट्रिय जनमोर्चा केही जिल्लामा बलियो अवस्थामा छ।

मोडालिटी बन्दा अघिल्लो चुनावमा जितेको संख्या, अहिलेको अवस्थालाई आधार मानिने र कतिपय अवस्थामा व्यक्ति विशेषको प्रभाव पनि हेरेर निर्णय गरिने नेताहरु बताउँछन्। 
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले देशव्यापी प्रभावलाई पहिलो आधार बनाइने बताए।

यस्तै एमालेले जितेको स्थानको बाँडफाँट दोस्रो आधार बनाइने बताए। अन्य आधारबारे मंगलबारको बैठकमा छलफल हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .