ad ad

राजनीति


एमाले ललितपुर महानगरको शेर हो, अब गठबन्धनले भ्याउँदैन : हरिकृष्ण व्यञ्जनकार

एमाले ललितपुर महानगरको शेर हो, अब गठबन्धनले भ्याउँदैन : हरिकृष्ण व्यञ्जनकार

हरिकृष्ण व्यञ्जनकार


सागर न्यौपाने
चैत २९, २०७८ मंगलबार २१:५, काठमाडौँ

ललितपुर महागरपालिकामा गत पाँच वर्षमा १० हजार मतदाता थपिएका छन्। वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा यही मत निर्णायक हुने देखिएको छ।

२०७४ को स्थानीय चुनावमा ललितपुर महानगरमा  महिला ५८ हजार ३३३ र पुरुष ५४ हजार ५८९ गरी कुल एक लाख १२ हजार ९२२ मतदता थिए। अहिले बढेर महिला ६३ हजार ४३७ र पुरुष ५९ हजार ४५३ गरी कूल एक लाख २२ हजार ८९० पुगेका छन्।

२०७४ को चुनावमा मेयर पदमा जम्मा ३ सय २६ मत अन्तरले कांग्रेसका चिरिबाबु महर्जनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पराजित गरेका थिए। 

एमालेले व्यञ्जनकारलाई फेरि उम्मेदवार बनाउने भएको छ। पाँच दलीय गठबन्धनले ललितपुर महानगरको उम्मेदवार घोषणा नगरे पनि २०७४ मा जितेकै पार्टीलाई टिकट दिने तयारी छ। त्यसो हुँदा अहिलेका प्रमुख महर्जनले टिकट पाउने लगभग निश्चित छ।

२०७४ बैशाख ३० गते पहिलो चरणमा भएको मतदानको नतिजा १० दिनपछि अर्थात् जेठ १० गते सार्वजनिक भएको थियो। महानगरपालिका जितेका महर्जनले २४ हजार ६ सय ४२ मत ल्याएका थिए भने एमालेका व्यञ्जनकारले २४ हजार ३ सय १६ मत ल्याए। त्यसबेला एमालेले राप्रपासँग चुनावी तालमेल गरेको थियो। 

नेकपा माओवादी केन्द्र तेस्रो बनेको थियो। माओवादीका उम्मेदवार दिनेश महर्जनले १० हजार ६६१ मत ल्याए।

त्यसबेला प्रमुख र उपप्रमुख दुवैमा कांग्रेस विजयी भएको थियो। उपप्रमुख गीता सत्यालले १९ हजार ८१९  मत ल्याएर विजयी हुँदा साझा पार्टीकी शोभा शाक्यले १४ हजार २४० मत ल्याइन्। 

एमालेसँगको गठबन्धनबाट उपप्रमुख उम्मेदवार बनेका राप्रपाका बाबुकाजी थापाले १० हजार ५४७ मत प्राप्त गरे।

अघिल्लो पटकको चुनावमा कांग्रेस र एमालेबीच बराबरीको प्रतिस्पर्धा देखिएको थियो। जम्मा ३ सय २६ मतले मात्र पराजित भएका व्यञ्जनकार यसपटक हारको बदला लिने योजनामा छन्। 

आक्रामक चुनावी योजना, घरदैलो अभियान, दैनिक मतदाताको घरघर पुग्न उनलाई भ्याइनभ्याइ छ। तर, सत्ता साझेदार दलबीच गठबन्धन हुँदा एमालेलाई सहज हुने छैन। 

एमालेको मत यसपटक धेरै काटिने नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण थापाले बताए। सो पार्टीले महानगरको १५, ३ र २ नम्बर वडा अध्यक्षमा दाबी गरेको छ।

‘गठबन्धनमा रहेको हाम्रो मत अन्त जाँदैन, एमालेको मत काट्छौँ,’ थापाले नेपालखबरसँग भने, ‘महानगरमा एमाले प्रतिस्पर्धी होइन, गठबन्धन नै बलियो छ।’

पहिलो स्थानीय तहको निर्वाचनमा एमाले र राप्रपा तालमेल गरेर आएको मत अब नआउने थापाले जिकिर गरे। 

‘निर्णायक मत हामीसँग छ, त्यसबेला त राप्रपासँग तालमेल भएको थियो, अब एक्लै उठ्दा पहिला पाएको मत पाउँदैन,’ थापाले थपे।

तर, एमालेका महानगर प्रमुख पदका प्रस्तावित उम्मेदवार  व्यञ्जनकारले आफू बलियो उम्मेदवार भएको ठोकुवा गरे। उनले एकीकृत समाजवादीमा कोही नगएको, माओवादी र कांग्रेस कमजोर हुँदै गएको दाबी गरे।

‘हामी महानगरको शेर हौँ भने गठबन्धन स्याल हुन्,’ व्यञ्जनकारले नेपालखबरसँग भने, ‘जनताको प्रवाह हाम्रो पार्टीमा बढेको छ। माधव नेपालको पार्टीमा जम्मा २६ जना गएका छन्। माओवादी निकै खस्किएको छ। कांग्रेसप्रति जनता खुसी छैनन्। चिरिबाबुले केही काम गरेनन्। उनीसँग जातीय समुदाय रिसाएका छन्।’

उनले आफू बलियो उम्मेदवार भएको पनि बताए।

‘२०७४ को चुनाव हामीले आफ्नै कमजोरी र तयारी गर्न नजानेर हारेका हौँ, जनतालाई कन्भिन्स पनि गर्न सकेनौँ, त्यसबेला भएका थुप्रै गल्ती अहिले सुधार गरेका छौँ। जितको बलियो आधार यही हो, अब गठबन्धनले भ्याउँदैन,’ उनले भने।  

अघिल्लो पटक पाएको मत संख्या कायम राखेर र अहिले थपिएको मतको आधा बढी तान्न सके महानगरमा सहज जित हात पार्न सकिने एमालेको आकलन छ। त्यही भएर उसले अघिल्लो पटक चुनावमा उठेकै व्यञ्जनकारलाई फेरि उम्मेदवार बनाउन लागेको हो।

व्यञ्जनकार एमालेको केन्द्रीय सदस्य तथा ललितपुर सहइन्चार्ज छन्। उनी २०७० देखि २०७५ सम्म एमालेको जिल्ला अध्यक्ष भएका थिए। २०७५ जेठ ३ गते माओवादी केन्द्रसँग एकता गरेर बनेको नेकपाको पनि उनी २०७७ सम्म जिल्ला अध्यक्ष थिए।

थपिएका मतदाता एमालेकै पक्षमा आउने व्यञ्जनकारले विश्वास व्यक्त गरे।

ज्यापु समाज, च्यासल, भोलढोका लगायतका ठाउँबाट व्यञ्जनकारलाई राम्रो मत खस्ने एमालेको आकलन छ। महर्जन, अवाले समाजको मत तान्ने प्रयासमा व्यञ्जनकार छन्।

१०, १६, ९ नम्बर वडामा एमाले बलियो छ।

कांग्रेसभित्र हानथाप
ललितपुर महानगर कांग्रेसले पाउने निश्चित भएपछि उम्मेदवारका आकांक्षी पनि बढ्न थालेका छन्।

महाधिवेशन प्रतिनिधि प्रेमकृष्ण महर्जन, राजेश महर्जन र महासमिति सदस्य भरतलाल न्याछ्औँ पनि उम्मेदवारका आकांक्षी छन्।

तर, प्रमुख चिरिबाबु महर्जन प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवानजिकका नेता भएकाले टिकट उनैले पाउने कांग्रेस नेताहरु बताउँछन्। चिरिबाबु पुल्चोक क्षेत्रका हुन्। 

गठबन्धनका दलले इमानदार भएर मत दिए एमालेले चुनौती दिन नसक्ने कांग्रेसका नेताहरुको भनाइ छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .