ad ad

राजनीति


गठबन्धनमा भागबण्डाः यी हुन् एकीकृत समाजवादीले पाउने २६ स्थानीय तह

गठबन्धनमा भागबण्डाः यी हुन् एकीकृत समाजवादीले पाउने २६ स्थानीय तह

सागर न्यौपाने
चैत ३०, २०७८ बुधबार २१:५२, काठमाडौँ

मंगलबार बेलुका बसेको सत्ता साझेदार पाँच दलको बैठकले एमालेबाट स्थानीय जनप्रतिनिधि  एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका ठाउँमा अन्य दलले उम्मेदवार नउठाउने सहमति गर्यो। सो सहमतिपछि एकीकृत समाजवादी पार्टी हौसिएको छ। 

सो पार्टीले एमाले छाडेर आफ्नो पार्टीमा आएका देशभरका जनप्रतिनिधिहरुको विवरण संकलन गरिरहेको छ। उपमहासचिव विजय पौडेल नेतृत्वको टोलीले एमालेबाट आएका जनप्रतिनिधिको नामावली तयार पारिरहेको छ।

अहिलेसम्म कुन जिल्लाबाट कति जनप्रतिनिधि आफ्नो पार्टीमा खुले भन्ने यकिन विवरण सो पार्टीसँग छैन। सोही कारण बुधबार दिउँसो पनि केन्द्रीय कार्यालयले पार्टी प्रवेश गरेका जनप्रतिनिधिबारे जानकारी लिइरहेको थियो।

वडा अध्यक्ष, सदस्यसमेत १५ सय जनप्रतिनिधि आफ्नो पार्टीमा खुलेको केन्द्रीय सचिव गंगालाल तुलाधरले दाबी गरे। 

‘खुल्ने क्रम जारी छ,’ तुलाधरले नेपालखबरसँग भने, ‘अहिलेसम्म सबै प्रदेश र जिल्लाको अन्तिम विवरण केन्द्रमा आइसकेको छैन।’

तर, एमालेले जितेका २ सय ९८ वटा स्थानीय तहका प्रमुख/अध्यक्षमध्ये २६ जना मात्रै एकीकृत समाजवादीमा खुलेको तथ्य नेपालखबरले फेला पारेको छ।

नेपालखबरले देशभरका एकीकृत समाजवादीका नेताहरुसँग सम्पर्क गरेर पाएको जानकारीअनुसार सुदूरपश्चिममा सबैभन्दा बढी ८ जना, बागमतीमा ७, कर्णालीमा ५, प्रदेश १ मा ४ र मधेश प्रदेशमा २ जनागरी २६ जना नगर/गाउँ प्रमुख/अध्यक्ष एमालेबाट समाजवादीतिर खुलेका छन्।

लुम्बिनी, गण्डकी प्रदेशमा कुनै पनि नगर/पालिका प्रमुख एकीकृत समाजवादीमा खुलेका छैनन्। 

यस हिसाबले मंगलबारको सहमति पालना भए २६ स्थानीय तह एकीकृत समाजवादीको भागमा पर्ने पक्का भएको छ।

अन्य स्थानको हकमा संगठन र अहिलेको अवस्थालाई हेरेर बाँडफाँट गर्ने सहमति पाँच दलले गरेका छन्। एकीकृत समाजवादीले एमालेले जितेकामध्ये ५० प्रतिशत स्थान आफूले पाउनुपर्ने प्रस्ताव गठबन्धनमा राखेको छ। 

कर्णाली प्रदेश
कर्णाली प्रदेशमा १० जिल्ला छन्। जसमध्ये कालिकोट, डोल्पा दैलेख र सल्यानमा एमालेबाट निर्वाचित जनप्रतिनिधि एकीकृत समाजवादी प्रवेश गरेका छन्।

एकीकृत समाजवादी कर्णाली प्रदेश कार्यालय सचिव वसन्तकुमार विश्वकर्माले दिएको जानकारीअनुसार कर्णाली प्रदेशमा जम्मा ४ जिल्लाबाट ५ जना प्रमुख/अध्यक्ष खुलेका छन्। पाँच दलीय सहमति अनुसार ती सबै नगर/पालिका समाजवादीले पाउने छ।

डोल्पाको ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाही, दैलेखका महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाही,  सल्यानको सिद्धकुमाख गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउने, कालिकोटको नरहरिनाथ गाउँपालिका प्रमुख धीरबहादुर विष्ट, शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाइँले एकीकृत समाजवादी रोजेका छन्।

त्यस्तै, मुगको सोरु गाउँपालिका उपाध्यक्ष राज्यलक्ष्मी मल्ल बम, दैलेखको नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, खत्याड गाउँपालिका उपाध्यक्ष जयनन्दा रावल, मुगुम कार्मारोङ गाउँपालिका उपाध्यक्ष छिरिङ तामाङ, दैलेखको महाबु गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी बुढा, सल्यानको कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा, कालिकोटको शुभकालिका गाउँपालिका उपाध्यक्ष पुष्पाकुमारी शाही, सिञ्जा गाउँपालिका उपाध्यक्ष जन्मकन्या खत्री, ठाँटीकाँध गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंह र कालिकोटको ठाडाचक्र नगरपालिका उपप्रमुख विजया विष्ट पनि एकीकृत समाजवादीमा छन्।  

सुदूरपश्चिम प्रदेश
एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सचिव सुरेन्द्रमान कार्कीले नेपालखबरलाई दिएको जानकारी अनुसार सुदूरपश्चिममा एमालेबाट निर्वाचित गाउँ/नगरपालिका प्रमुखको संख्या ८ छ। यस्तै उपमेयर/उपाध्यक्ष ५ सहित  १३ जना खुलेका छन्।  

एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन हुँदा सुदूरपश्चिमका १३ जना एमालेबाट विजयी स्थानीय तह प्रमुख र उपप्रमुखले समाजवादीमा सनाखत गरेका थिए। यद्यपी अहिले सुदूरपश्चिममा समाजवादीको स्थानीय तह प्रमुख उपप्रमुखको संख्या १७ पुगेको एकीकृत समाजवादीकी सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले जानकारी दिइन्।

पछिल्लो समय कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर असोक कुमार चन्द, डडेल्धुराको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्ट तथा बझाङको छबिसपाथीभेरा गाउँपालिका अध्यक्ष अक्कल बहादुर धामी र उपाध्यक्ष राधिका रताला समाजवादीमा खुलेका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिकाका मेयर जीवन थापा, कैलालीको घोडाघोडी नगरपालिकाकी उपमेयर प्रेमकुमारी थापा, गोदावरी नगरपालिकाका उपमेयर रत्ना कडायत र मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पूजादेवी बुढामगर, डोटीको पूर्वी चौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटी र दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्का एकीकृत समाजवादीमा छन् । 

यस्तै बझाङको केदारस्युँ गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारी र उपाध्यक्ष निशा धामी, अछामको साँफेबगर नगरपालिकाका मेयर कुल बहादुर कुँवर, उपमेयर बिर्मलादेवी बुडथापा र चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले एकीकृत समाजवादी रोजेका थिए ।

बागमती प्रदेश 
एकीकृत समाजवादी बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले दिएको जानकारी अनुसार प्रदेशमा ७ प्रमुख र १० उपप्रमुख एमालेबाट प्रवेश गरेका छन्। 

जसमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख कृष्णहरि थापा, रामेछापको मन्थली नगरपालिकाको प्रमुख रमेशकुमार बस्नेत, काभ्रेको मण्डन–देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबा, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका प्रमुख जीवन लामा, कैलाश गाउँपालिका प्रमुख टंक मोक्तान, धादिङको धुनीबेँसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य र गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ छन्।

लुम्बिनी प्रदेश 
लुम्बिनी प्रदेशमा एमालेबाट गाउँ/नगरपालिका प्रमुख एकीकृत समाजवादीमा प्रवेश गरेका छैनन्।

संघीय सांसद रहेका प्रदेश अध्यक्ष मेटमणि चौधरीका अनुसार प्रदेशभरमा एमालेबाट जम्मा दुई जना नगरपालिका उपप्रमुख र १ जना गाउँपालिका उपाध्यक्ष समाजवादीमा खुलेका छन्।  वडाध्यक्ष र वडासदस्य भने निकै खुलेको उनले बताए।

गण्डकी प्रदेश 
गण्डकी प्रदेशमा पनि एकीकृत समाजवादी कमजोर अवस्थामा छ। गण्डकीमा ११ जिल्ला छन्। स्याङ्जाको आँधीखोला गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेल मात्र एकीकृत समाजवादीमा खुलेकी छन्। 

त्यसबाहेक केही स्थानीय तहका वडाध्यक्ष खुलेको एकीकृत समाजवादी गण्डकी प्रदेश अध्यक्ष रामजी शर्माले नेपालखबरलाई बताए। 

‘हाम्रो प्रदेशमा केपी ओलीले टिकट दिँदै माधव नेपाल पक्षलाई अन्याय गरेका थिए,’ शर्माले भने, ‘ओलीको चरम गुटबन्दीको निसानामा यो प्रदेश पर्यो, अहिले हामी कमजोर देखिनुको कारण यही हो।’

मधेश प्रदेश 
मधेश प्रदेशमा आफू बलियो रहेको दाबी गरेको एकीकृत समाजवादीमा सिरहा र सर्लाही गरी दुईवटा स्थानीय तहका प्रमुख मात्र एमालेबाट आएका छन्। आठ जिल्ला रहेको प्रदेशमा महोत्तरी र पर्सामा सो पार्टी शून्य छ।

धनुषाबाट दुई जना उपाध्यक्ष, रौतहटबाट दुई जना उपाध्यक्ष समाजवादी खुलेको सो पार्टीका प्रदेश अध्यक्ष रामचन्द्र यादवले नेपालखबरलाई जानकारी दिए। 

‘मधेश प्रदेशमा हामी बलियो अवस्थामा छौँ, मेयर/पालिका अध्यक्ष धेरै नखुले पनि धेरै वडाध्यक्ष र सदस्यहरु हाम्रो पार्टीमा खुल्नुभएको छ,’ यादवले नेपालखबरसँग भने, ‘अझै खुल्नेक्रम जारी छ।’

प्रदेश १
नेकपा एमाले छोडेर एकीकृत समाजवादीमा जाने संख्या यो प्रदेशमा पनि निकै कम छ।

नेपालखबरलाई बुधबार बेलुका नेताहरुले दिएको जानकारी अनुसार उदयपुरको त्रियुगा नगरपालिका प्रमुख वलदेव चौधरी र इलामको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई एकीकृत समाजवादीमा छन्।  

त्यसबाहेक दुई वटा गाउँपालिका अध्यक्ष पनि एमाले छोडेर एकीकृत समाजवादीमा छन्।  

सच्याइएको** यसै समाचारमा कञ्चनपुरको  पुनर्वास नगरपालिका उपप्रमुख शारदा शर्मा विष्टको नाम पनि समावेश भएकोमा उनले आफू एमालेमै रहेको प्रष्टिकरण दिएकाले उनको विवरण हाइएकोछ। -सम्पादक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .