ad ad

राजनीति


पोखराबाट गठबन्धनको शक्ति परीक्षण, माधवको राजनीतिक परीक्षा

पोखराबाट गठबन्धनको शक्ति परीक्षण, माधवको राजनीतिक परीक्षा

फाइल फोटो


सागर न्यौपाने
बैशाख ६, २०७९ मंगलबार २३:३४, काठमाडौँ

नेकपा एमालेको बलियो पकड रहेको पोखरा महानगरपालिकामा गठबन्धनका नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले दाबी गरेका थिए।

२०७४ को स्थानीय तह निर्वाचनमै ६० हजार भोट ल्याएर एमालेले जितेको पोखरा अन्तत: समाजवादीको भागमा परेको छ। 

पोखरालाई लिएर दुई दलबीच दाबी भइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार निकै उत्साहित देखिन्थे।

बिहान गठबन्धनका शीर्ष नेताहरुको बालुवाटार बैठकमा सहभागी भएर दिउँसो पार्टी कार्यालय पेरिस डाँडाको पत्रकार सम्मेलनमा पुगेका प्रचण्डले गठबन्धन जोगाउन कांग्रेस सभापति शेरबहादुर देउवा निकै गम्भीर र लचक भएको बताएका थिए। 

सोमबारसम्म महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटमा कुरा नमिलेर गठबन्धन नै संकटमा थियो। 

कांग्रेसले सबैभन्दा बढी स्थानीय तह दाबी गरेपछि गठबन्धनकै नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) असन्तुष्ट थिए।

कांग्रेसलाई जिल्लाबाट आफ्नो अडान नछोड्न नेताहरुले दबाब बढाउँदै लगेका थिए।

तर, त्यहीबेला बसेको शीर्ष नेताहरुको बैठकमा देउवाले गठबन्धन जोगाउन हदैसम्म लचक हुन तयार रहेको बताएपछि बैठकबाट सिधै पार्टी कार्यालय पुगेका प्रचण्ड उत्साहित देखिए।

प्रचण्डले पत्रकार सम्मेलनमा सुनाए, ‘अब गठबन्धन दरिलो हुनेछ, गठबन्धनमा कुनै समस्या आउने छैन, महानगर र उपमहानगरपालिकाको बाँडफाँट पनि टुंगो लगाउँछौं।’

प्रचण्डले भनेजस्तै सोमबार शीर्ष नेता र स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिसहितको संयन्त्रको सोमबार दुई पटक बसेको बैठकले भरतपुर, विराटनगर, वीरगञ्ज,

काठमाडौं र ललितपुर महानगरको बाँडफाँटमा समझदारी जुटायो। तर, पोखरा महानगरमा कांग्रेस र एकीकृत समाजवादीबीच कुरा मिलेन।

त्यसपछि बैठक मंगलबार फेरि बस्ने गरी सकियो। मंगलबार बिहानै प्रधानमन्त्री देउवाले कास्की र चितवन जिल्ला सभापतिहरुलाई काठमाडौं बोलाए।

जिल्लामा बसेर केन्द्रमा बनेको गठबन्धनविरुद्ध उत्रिएपछि देउवाले मंगलबार नै आउने गरी सबैलाई काठमाडौं डाकेका थिए।

मंगलबार बिहानै कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की जिल्ला सभापति किशोरदत्त बरालसहित नेता यज्ञबहादुर थापाले प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेट गरे।

देउवाले पोखरा महानगरपालिकामा विवाद नगरी गठबन्धनबाट जसले टिकट पाउँछ त्यही उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिए।

उनले अनावश्यक विवाद नगर्न र एकतावद्ध हुन पनि अह्राए।

‘हामीले यो गठबन्धन बनाएका छौँ, सबै ठाउँमा कांग्रेसले पाउने भन्ने हुँदैन,’ देउवाको भनाइ थियो, ‘जसको भागमा परे पनि गठबन्धन कै उम्मेदवार जिताउन लाग्नू, सबैजना एकतावद्ध भएर खटिनू।’

कार्यकर्तालाई पनि चुनावी अभियानमा दृढ भएर लाग्न देउवाले निर्देशन दिएका थिए। 

त्यसलगत्तै देउवाले बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र चितवन सभापति राजेश्वर खनाललाई बालुवाटार बोलाएर मतमात्रै नभएर मन हेरेर सत्ता गठबन्धन बलियो बनाएर जान निर्देशन दिए।

‘प्रधानमन्त्रीले हामीहरुलाई  गठबन्धन बलियो बनाएर जाने कुरामा मन र मत मिलाएर जानु पर्छ भन्नुभयो,’ प्रदेश सभापति बानियाँले नेपालखबरसँग भने, ‘मतमात्रै हेरेर हुन्न, मन पनि बुझाउनु पर्छ भन्नुभयो।’

उनका अनुसार सभापति देउवाले दुवै सभापतिलाई भरतपुर महानगरपालिकाबारे आवेग र उत्तेजनामा नआउन पनि सचेत गराए। 

‘गठबन्धनको भागबण्डालाई लिएर आवेग र उत्तेजनामा आउनु हुन्न। पद प्राथमिकताभन्दा पनि पद्धति हेर्नुपर्छ,’ देउवाको भनाइ उदृत गर्दै बानियाँले भने, ‘उहाँले गणेशमानजीले प्रधानमन्त्री पद त्याग गरेको पनि स्मरण गराउनु भयो।’

गठबन्धनको गाँठो परेको भरतपुर र पोखरा महानगरकै विषयमा स्थानीय पार्टीलाई आश्वस्त पारेपछि बल्ल देउवा शीर्ष नेतासहितको स्थानीय चुनाव तयारी तथा अनुगमन समितिको बैठकमा बस्न तयार भए।

साढे ११ बजेको लागि बोलाइएको बैठक दिउँसो २ बजे हुँदै ३ बजे सार्नुको कारण देउवाले लिएको समय थियो।

मंगलबार दिउँसो बसेको शीर्ष नेतासहितकोे बैठकले पोखरा महानगरपालिका एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीलाई दिने सहमति ग¥यो।

पोखरामा सहमति जुटेसँगै ६ वटै महानगरपालिकाको उपप्रमुखहरूको पनि टुंगो लाग्यो।

सहमतिअनुसार नेपाली कांग्रेसले बीरगञ्ज, चितवनको भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुख पाएको छ।

यस्तै, माओवादी केन्द्रले ललितपुरको महानगरपालिकाको उपप्रमुख पाएको छ। नेकपा एकीकृत समाजवादीले काठमाडौं र जनता समाजवादी पार्टी (जसपा)ले विराटनगरको उपप्रमुख पाएको छ।

मंगलबार बसेको बैठकले पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई दिने सहमति गरेपछि उपप्रमुखको पनि टुंगो लागेको हो। ११ वटा उपमहानगरपालिकाको पनि टुंगो लाग्दैछ। 

पोखराबाट समाजवादीको परीक्षण 
अघिल्लो चुनावमा सहभागी नभएकोले पोखरा महानगरपालिकामा एकीकृत समाजवादी पार्टीका जनमत कति छ, यसै भन्न सकिँदैन।

तर, २०७४ कै चुनावलाई आधार मान्ने हो भने एमाले पछिको बलियो कांग्रेस देखिन्छ।

पोखरा महानगरपालिकामा ३३ वडा छन्। प्रमुख पदमा नेकपा एमालेबाट मानबहादुर जिसी ६० हजार १ सय १८ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका 

रामजी कुँवर ४६ हजार ४ सय १६ मत ल्याएका थिए। यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका हुमबहादुर गुरुङ ३ हजार १ सय ७० मत ल्याएका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी गीता गुरुङले २ हजार २ सय ७२ मत पाइन। अघिल्लो चुनावमा माओवादी र कांग्रेसबीच तालमेल थियो। 

यस्तै उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ५६ हजार ४ सय ४८ मत ल्याएर विजयी हुँदा कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत ल्याइन्। 

माओवादी केन्द्रकी गोमा ढकालले ८ हजार ७ सय ९६ मत पाइन। राप्रपाका रमेश बहादुर खत्रीले २ हजार ८ सय ४० मत ल्याए।

पाँच वर्ष अगाडिको मत संख्या हेर्दा एमाले नै बलियो देखिन्छ।

दोस्रो भएको कांग्रेसको जनमत त्यसबेला पनि राम्रो थियो। अहिले एमाले विभाजन भएको बेलामा सजिलै जित्न सकिने विश्लेषण उनीहरुको भएरै पोखरा महानगरपालिका छोड्न कांग्रेस तयार थिएन।

तर, गठबन्धनका  लागि हदैसम्म लचक भएर देउवाले माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीलाई पोखरा छोड्न तयार भएपछि अब गठबन्धनको परीक्षा त्यहीँबाट सुरु भएको छ। समाजवादी पार्टीको परीक्षण पनि पोखराबाटै हुनेछ।

अहिले सबैको ध्यान पोखरामै छ। एकीकृत समाजवादीले पोखरा महानगर प्रमुख कसलाई उठाउँछ भन्ने जिज्ञासा छ।  अहिले धर्मराज आचार्यको नाम बढी चर्चामा छ।

उम्मेदवार जो भएपनि गठबन्धनको परीक्षा त्यहाँबाट किन सुरु हुनेछ भने, जग नै नभएको पार्टीलाई महानगरको नेतृत्व बनाउने गरी टिकट दिने सहमति जुटेको छ।

हुन त एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पोखरामा उनको पार्टीको मत १२ हजारभन्दा बढी मत रहेको दाबी गरेका छन्।

कांग्रेसको पचास हजार मत, माओवादी केन्द्रको पाँच वर्ष अगाडिकै मतलाई आधार मान्दा पनि झण्डै दश हजार मत देखिन्छ।

एउटै गठबन्धनमा रहेकाले यी सबैको मत परेमा एकीकृत समाजवादीलाई चुनाव जित्न गाह्रो देखिँदैन। तर, के कांग्रेसको मत सबै एकीकृत समाजवादीकै उम्मेदवारलाई खस्ला त? 
माधव नेपालले भनेको जस्तै १२ हजार मत ल्याउन उनी सक्छन् त? 

यहीँबाट उनको नयाँ पार्टीको आगामी यात्रा कस्तो हुने देखिनेछ।

गठबन्धनका दलहरुले बाँडफाँट गरेकामध्ये पोखराबाहेक सबै महानगरमा पार्टीहरूको जनमत छ।

कांग्रेसले चितवनको भरतपुर पाउनुपर्ने दाबी गरेपनि त्यहाँ माओवादी केन्द्र बलियो बनिसकेको छ। पाँच वर्षमा रेनु दाहालले आफ्नो पक्षमा जनमत ल्याउने गरी काम गरेकी छन्।

तर, पोखरा महानगरपालिकामा एकीकृत समाजवादी नयाँ पार्टी, नयाँ उम्मेदवार र जनमत नै प्रष्ट नभई होमिँदैछ।

कांग्रेसका सबै कार्यकर्ता, कांग्रेस समर्थकले मत हाल्ने वातावरण बन्छ कि बन्दैन ? अहिले यसै भन्न कठिन हुन्छ।

तर, एक्लै लड्दा समेत ६० हजार बढी मत ल्याएका एमाले उम्मेदवारलाई जित्ने निकै ठूलो मिहिनेत गर्नुपर्ने देखिन्छ।

पचास हजारभन्दा बढी मत भएको कांग्रेसले १२ हजार मत पनि नभएको पार्टीलाई सबै मत खन्याउन सक्ला ? 

यदि सकेको खण्डमा गठबन्धन आगामी प्रदेश र संघीय निर्वाचनसम्म जाने देखिन्छ।

पोखरा जस्तो एमालेको बलियो प्रभाव भएको ठाउँमा जितेको अवस्थामा देशका कुनै पनि तह जित्न एमालेलाई निकै कठिन देखिन्छ।

तर, कांग्रेसको आन्तरिक विवाद, दुई खेमामा विभाजित कार्यकर्ता र तिनले अचाउन सक्ने मतदातालाई सजिलै माथिको आदेश लागू गाह्रो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .