उम्मेदवार टुंगो लगाएर आइतबार घोषणा गर्ने तयारी भइरहँदा नेपाली कांग्रेस चितवनका पाका नेता कृष्णलाल सापकोटा भने पाँच दलीय गठबन्धनको निर्णयविरुद्ध दबाब बढाउन जुटेका भेटिए।
शनिबार उनी भरतपुरस्थित जिल्ला पार्टी कार्यालयमा डाकिएको भेलालाई सम्बोधन गर्दै ‘रुख चिह्न’ मा मतदान गर्न कार्यकर्ताहरूलाई आव्हान गरिरहेका थिए।
उनले भोलिसम्म सत्याग्रह गरेर भए पनि नेतृत्वलाई निर्णय बदल्न बाध्य पार्ने, त्यति गर्दा नमाने रुखमै मतदान गरी केन्द्रीय नेतृत्वको गलत निर्णयको अवज्ञा गर्न अपील गरे।
‘हामीले रुख चिह्नमा मत हाल्ने हो, हँसिया हथौडालाई खाली छाडिदिने हो,’ सापकोटाले भने।
केन्द्रीय नेतृत्वले भरतपुर महानगरपालिकामा यसपाली पनि नेकपा माओवादी केन्द्रकै उम्मेदवारलाई मौका दिइएको भन्दै उनले पार्टी सभापति शेरबहादुर देउवाको जमेर विरोध गरे ।
प्रधानमन्त्री पदका लागि यी (देउवा) कहिले ज्ञानेन्द्रसँग मिल्छन्, कहिले प्रचण्डसँग सहकार्य गर्छन्’, उनले आक्रोशित हुँदै भने।
वि.सं. २०१२ सालमा क्रियाशील सदस्यता लिएदेखि निरन्तर कांग्रेसको झन्डामुनि राजनीति गर्दै आएका ८४ बर्षीय सापकोटा नेतृत्वप्रति निकै आक्रोशित देखिन्थे।
उनले नेतृत्वको निर्णय स्वीकार्नेलाई दास र स्वार्थीको संज्ञा दिंदै भने, ‘आस्थाको राजनीति गर्ने म झुक्दिनँ। तपाईंहरु पनि नेतृत्वको गलत निर्णय स्वीकारेर दास नबन्नोस्।’
२०४६ सालको आन्दोलनमा चितवनको जनआन्दोलनको नेतृत्व गरेका सापकोटाले त्यसको स्मरण गर्दै कार्यकर्तालाई पनि इतिहास सम्झाइरहेका थिए ।
जिल्ला कार्यालय परिसरमा खचाखच कार्यकर्तामाझ उत्तेजित भएर बोल्दै गर्दा बेलाबखत उनको घाँटी अवरुद्ध भइरहेको थियो।
उनी भन्दै थिए, 'मैले नेतृत्व गरेको आन्दोलनमा चारजना शहीद भए। तिनका विधवा र परिवारहरु छन्। सधैँ अर्कालाई मत दिएर तिनका अगाडि कसरी मुख देखाउने?’
आफूले पञ्चायती शासनविरुद्ध संघर्ष गर्दा देउवा भर्खर जन्मिएको स्मरण गराउँदै उनले नेतृत्वलाई कटाक्ष गरे।
‘हामी यहाँ जेलनेल खाँदा देउवा बेलायतमा ऐश-आराम गरेर बसिरहेका थिए होलान्,’ उनले भने।
जिल्ला नेतृत्वले गठबन्धनविरुद्ध कुनै कार्यक्रम नगर्न उर्दी जारी गरेको प्रसंग उप्काउँदै उनले आफ्नो स्वार्थका लागि दासता स्वीकारेको आरोप लगाए।
उनले भने, ‘हामीले गलत मान्छेलाई नेता बनाएर दुख पायौँ।’
पाका नेताले कसैको नाम नलिई अन्तिममा एउटा गम्भीर आरोप लगाए।
उनले कार्यकर्ताहरूलाई सचेत हुन आग्रह गर्दै भने, ‘तपाईंहरुलाई थाहा छ, हाम्रो नेपाली कांग्रेस पार्टी कब्जा हुँदैछ। त्यसैले हामीले नेतृत्वको गलत निर्णयविरुद्ध एक भएर अगाडि बढ्नु छ।’
काठमाडौंमा गठबन्धनको भागबन्डा अनुसार भरतपुर महानगरमा यस पटक पनि माओवादी उम्मेदवारलाई मतदान गर्न सर्कुलर गरिएदेखि नै चितवनमा विरोध हुँदै आएको छ।
पार्टी नेतृत्वको निर्णयविरुद्ध जिल्ला कार्यालयका सबै कार्यकक्षमा तालाबन्दी गरिएको छ। कार्यक्रममा केही युवा नेताहरुले पनि चर्काे भाषण गरेका थिए। भोलि पनि साविककै ठाउँमा विरोधसभा गर्ने गरि भेला डाकिएको छ।
हेर्नुहोस् भिडिओः
Shares
प्रतिक्रिया