स्थानीय तहको निर्वाचनको उमेद्वार मनोनयन दर्ता गर्ने अघिल्लो दिन गृहमन्त्री बालकृष्ण खाण फेरि गृहजिल्ला रुपन्देही आएका छन्।
शनिवार उनी भैरहवा अवतरण गरेका हुन्। रुपन्देहीमा कांग्रेसको उमेद्वार मनोनयनको विषयलाई लिएर विवाद र असन्तुष्टी देखिएको छ।
केही दिनअघि कांग्रेस सिदार्थनगर नगर समितिले इस्तियाक अहमद खाँलाई मेयरको उमेदवारमा एकल सिफारिस गरेपछि पूर्व क्षेत्रीय सभापति मात्रिका यादवले पार्टी छाडेर जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए।
बुटवल उपमहानगर समितिले सभापति खेलराज पाण्डेलाई एकल रुपमा अघि सारेपछि वर्तमान क्षेत्रीय सभापति हरि लम्साल असन्तुष्ट भएर पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका थिए।
यी लगायतका असन्तुष्टिका बीच काठमाडौँ फर्केको दुई दिन नबित्दै गृहमन्त्री खाण रुपन्देही आएका हुन्।
यस अघि खाण बुधबार रुपन्देही आएर बिहीबार फर्किएका थिए। प्रदेशमा उम्मेदवारको टुंगो लगाउन खाणसहितको छलफल हुने बुझिएको छ।
५ दलीय गठबन्धनमा नमिलेको भागबण्डा टुंग्याउन पनि खाणले भूमिका खेल्ने बताइएको छ।
लुम्बिनी प्रदेशमा स्थानिय तहको निर्वाचनको उमेद्वार टुंग्याउने दलहरु छलफलमा बिहानैदेखि छलफलमा जुटिरहेका छन्।
निर्वाचनको लागि सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच संयुक्त र छुट्टाछुट्टै छलफल भइरहेको छ।
प्रमुख प्रतिपक्षी एमाले पनि भोलिका लागि उमेद्वार टुंग्याउने कसरत गरिरहेको छ।
उपमहानगरपालिका र नगरपालिकाहरूको उम्मेदवारको टुंगो लगाउन अहिले कांग्रेस लुम्बिनीको संसदीय बोर्डको बैठक बसिरहेको छ।
प्रदेश कार्यालय तामनगरमा बसिरहेको बैठकमा अहिले बाँके, बर्दिया दाङ र प्युठानको बारेमा छलफल भइरहेको कांग्रेसका प्रदेश कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिए। रातभरमा सबै टुंगिने उनले बताए।
संसदीय बोर्डको बैठक सकिएपछि आजै ५ दलीय गठबन्धनको बैठक समेत बस्ने छ। बैठकमा मिल्न बाँकी जिल्लाबारे छलफल हुने बताइएको छ।
यस्तै जिल्ला र पालिकास्तरमा पनि छलफल र बैठक भइरहेका छन्। केही ठाउँमा बाहेक उमेदवार टुंग्याउन सकेका छैनन्।
यस्तै नगरपालिका तथा गाउँपालिकाको उमेदवारको टुंगो लगाउन एमालेको लुम्बिनी प्रदेश स्तरिय छलफल पनि चलिरहेको छ।
छलफलपछि भोलि घोषणा हुने एमाले प्रदेश अध्यक्ष भोजप्रसाद श्रेष्ठले जानकारी दिए।
Shares
प्रतिक्रिया