ad ad

राजनीति


सहमति जुटे कांग्रेसलाई दुईतिहाइ, कस्तो होला अरु चार दलको हैसियत?

सहमति जुटे कांग्रेसलाई दुईतिहाइ, कस्तो होला अरु चार दलको हैसियत?

फाइल फोटो


सागर न्यौपाने
बैशाख ११, २०७९ आइतबार २३:२७, काठमाडौँ

स्थानीय तह निर्वाचनमा गठबन्धन गरेका सत्तारुढ पाँच दलबीच भागबन्डालाई लिएर जिल्ला जिल्लामा किचलो देखिएको छ।

यद्यपि मकवानपुर, धादिङसहितका जिल्लामा गठबन्धनले जिल्ला समन्वय समितिसमेत भागबन्डा गरेका छन्। 

असन्तुष्टि पालिकासम्म पुगेका बेला केन्द्रमा भने सत्ता गठबन्धनबीच भागबन्डा मिलाउने क्रम जारी छ।

विवाद देखिएका जिल्लामा केन्द्रबाटै हस्तक्षेप गरेर मिलाउन पनि सत्ताधारी नेता सक्रिय भएका छन्। 

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको लागि पहिलो आइतबार उम्मेदवारी मनोनयनको कार्यक्रम राखेको थियो।

७ सय ५३ स्थानीय तहमा वैशाख ३० गते एकै चरणमा निर्वाचन हुँदैछ। 

दश हजार ५ सय ३३ ले उम्मेदवारी मनोनयन गर्दा पाँच दलीय गठबन्धनका कुनै पनि उम्मेदवारले आइतबार उम्मेदवारी दर्ता गरेनन्।

आइतबार अबेरसम्म गठबन्धनका जिल्ला, प्रदेश र केन्द्रका नेताहरु सहमतिको अन्तिम प्रयासमै छन्।

गठबन्धनले देशका सबै स्थानीय तहमा संयुक्त उम्मेदवारी दिने लगभग सहमति गरेका छन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावमा होमिएका छन्। 

पाँचै दलले आइतबार अबेरसम्म झण्डै ८० प्रतिशत स्थानीय तहमा मिलेर चुनाव लड्ने सहमति जुटाइसकेको नेपाली कांग्रेसका नेताहरु बताउँछन्। 

सहमति जुट्न बाँकी रहेका केही नगर-गाउँपालिकामा पनि सोमबार बिहानसम्म सहमतिको अन्तिम प्रयास गर्दैछन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार पाँचै दलबीचमा गठबन्धन बाहिर गएर चुनावी तालमेल नगर्ने सहमति छ।

‘पाँच दल बाहिर तालमेल नगर्ने, भोलि मनोनयन अघिसम्म बाँडफाँट मिलाउन बाँकी तहमा अधिकतम् कोशिस गर्ने,’ मल्लले भने, ‘यदि मिल्न सकेन भने भोलि बिहान ८ बजे अध्यक्षहरूसहित शीर्ष नेताहरुको बैठकले मिलाउने समझदारी बनेको छ।’

गठबन्धनभित्र सहमति जुटेपछि एकैपटक सबै पालिकामा उम्मेदवारी मनोनयन गर्ने तयारी छ।

अहिलेसम्म ६ महानगर, ११ उपमहानगरसहित अधिकांस जिल्लामा नगर-गाउँपालिका बाँडफाँटमा सहमति  जुटिसकेको छ तर, केही बाँकी रहेको तहमा पनि मिलाउने प्रयास भइरहेको कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिए।

गठन्धनले सहमतिको विभिन्न विधि अपनाएका छन्। नेताहरुका अनुसार प्रदेशमा दलको अवस्था हेरेर बाँडफाँट गर्नेदेखि जिल्लामै केन्द्रित भएर स्थानीय तहको भागबन्डा गरिएको छ।

त्यसआधारमा गठबन्धनका पाँचै दलले सबै जिल्लामा प्रमुख नपाउन पनि सक्छ। जसपा र जनमोर्चाले केही जिल्लाहरुमा रहेका तह पाएका छन्।

देशभर संगठन रहेको दाबी गर्ने कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले त्यही आधारमा तहको प्रमुख लिने समझदारी बनाएका छन्।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटि अध्यक्ष सुदर्शन बरालका अनुसार नेकपा एमालेले २०७४ मा जितेका स्थानीय तहमध्ये ५० प्रतिशत एकीकृत समाजवादीलाई र यसअघि जितेकोसहित थप गर्नेगरी कांग्रेस, माओवादी केन्द्र र जसपालाई स्थानीय तह बाँडफाँटको विधि अपनाइएको छ।

त्यही विधिअनुसार सातै प्रदेशमा स्थानीय तह बाँडफाँटमा छलफल भइरहेको हो।

तर, दलहरुको आन्तरिक समस्याकै कारण केही स्थानीय तहमा बनेको सहमति पनि तोडिएको छ।

'स्थानीय तह बाँडफाँटको मोडेल एमालेले यसअघि जितेको स्थानीय तहको ५० प्रतिशत एकीकृत समाजवादीलाई दिने', बरालले नेपालखबरसँग भने, 'कांग्रेस, माओवादी र जसपा र जनमोर्चालाई यसअघि जितेको तह कायम राख्दै एमालेले जितेका बाँकी तह बाँडफाँट गर्ने प्रयास भइरहेको छ।’

जिल्ला जिल्लासँग गठबन्धनले सुझाव पनि मागेको थियो। कुन जिल्ला छोड्न तयार हुने, कुन जिल्लामा नभई नहुने समेत खुलाएर तल्लो तहबाट सुझाव माग भएको थियो।

त्यही अनुसार प्रदेशभरीको कुनै दलले पाउने सख्या हिसाब गरेर बाँडफाँटको विधि अपनाइएको अर्का एक नेताले बताए।

‘प्रदेशभरीको कुनै दलको अवस्था हेरेर स्थानीय तह बाँडफाँट गरेका छौँ,’ ती नेताले भने, ‘त्यसो गर्दा केही जिल्लामा एउटै तहको प्रमुख नपर्न पनि सक्छ।’

यही विधिलाई अपनाएर भए पनि गठबन्धनका पाँचै दलले उम्मेदवारी दर्ता गर्ने र जित्ने लक्ष्य लिएका छन्।

गठबन्धनमा कुनै गडबडी नआए ४ सयभन्दा बढी स्थानीय तहको प्रमुख पाउने कांग्रेसले विश्वास लिएको छ।

प्रवक्ता डा. प्रकाशशरण महतकाअनुसार सबैभन्दा बढी तह हामीले नै जित्ने भएकोले गठबन्धन जोगाउन अन्तिमसम्म प्रयास जारी छ।

‘अहिले छलफल मै भएकोले यति नै संख्या पर्छ भन्ने टुंगिएको छैन,’ महतले नेपालखबरसँग भने, ‘४ सय भन्दा बढी स्थानीय तह हामीले पाउँछौँ।’

२०७४ मा कांग्रेसले २ सय ६६ स्थानीय तहको प्रमुख जितेको थियो।

माओवादी केन्द्रलेले पनि १ सय ७५ भन्दा बढी स्थानीय तह पाउने विश्वास लिएको छ।

अघिल्लो चुनावमा माओवादी केन्द्रले एक महानगरपालिकासहित १ सय ६ स्थानीय तह प्रमुख जितेको थियो।

पहिलोपटक स्थानीय चुनावमा सहभागी जनाउन लागेको भएपनि एकीकृत समाजवादी, जसपा र जनमोर्चाले बाँकी तह पाउने नेताहरु बताउँछन्।

जसपाले अघिल्लो चुनावमा ३४ प्रमुख जितेको थियो। एमालेबाट विभाजन भई बनेको एकीकृत समाजवादीमा २८ पालिका प्रमुख लागेका छन्।

गठबन्धनमा समझदारी जुटे सबै पार्टीले स्थानीय तहमा आफ्नो प्रभाव बढाउने सम्भावना छ। कतिपय स्थानमा गठबन्धनभित्र मित्रवत प्रतिस्पर्धा गर्ने भनेर सहमति पनि भएका छन्।

आफ्नो पार्टीले जित्छ भन्ने ढुक्क भएको स्थानमा गठबन्धनभित्रकै माओवादी-कांग्रेस, समाजवादी-माओवादी-जसपा, कांग्रेस-समाजवादीबीच चुनावी तालमेल भएको छ।

सोमबार दिउँसोसम्म गठबन्धनले सबै सहमति गर्ने अर्का एक नेताले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .