ad ad

राजनीति


फोनमा बोल्दाबोल्दै विप्लव ‘आगो’, लगत्तै धर्मेन्द्र र सुदर्शन पार्टीबाट ‘आउट’

फोनमा बोल्दाबोल्दै विप्लव ‘आगो’, लगत्तै धर्मेन्द्र र सुदर्शन पार्टीबाट ‘आउट’

सागर न्यौपाने
बैशाख १४, २०७९ बुधबार १३:५०, काठमाडौँ

नेकपाबाट निकाल्नुअघि महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बाँस्तोलासँग बुधबार बिहान आधा घण्टा बढी टेलिफोनमा कुरा गरे।

त्यसक्रममा विप्लवले स्थानीय तह निर्वाचनलाई लिएर झिकिएको विवादलाई बढाएर विभाजनको डिलमा पुर्‍याएको आरोप लगाएर मिल्न नसक्ने संकेत पनि गरे।

विप्लवनिकट स्रोतका अनुसार आधा घण्टाभन्दा बढी भएको टेलिफोन कुराकानीमा मिल्ने सम्भावनाको ‘च्याप्टर क्लोज’ भएको महसुस गरेको सुनाएका थिए। 

‘तपाईँले विवाद लास्टमै पुर्याउनुभयो,’ विप्लवले बाँस्तोलालाई भने, ‘तपाईँलाई सुदर्शनजीले उक्साउनुभयो, तपाईँ उहाँकै उक्साहटमा लाग्नुभयो, यो ठीक भएन ।’

जवाफमा बाँस्तोलाले बसेर छलफल गर्न विप्लवलाई काठमाडौं बोलाएका थिए ।

‘तपाईँ यहाँ आउनुस्, बसेर छलफल गरौँ, हामीले जे गरेका छौँ, त्यो पार्टीको केन्द्रीय समिति नीतिअनुसार छ,’ बाँस्तोलाले विप्लवलाई जवाफ दिँदै भने, ‘यसले पार्टी नेतृत्वको रक्षा गरेको छ ।’

तर, विप्लवले बाँस्तोलाको कुरा सुनेनन्, काठमाडौं आएर छलफल प्रयास नगरी पार्टीबाट निष्काशन गरेको विज्ञप्ति निकालेका थिए । 

‘उहाँहरु दुई नेताबीच छलफलको केही एक÷डेढ घण्टाभित्रै निष्काशन गरेको विज्ञप्ति तयार गर्न लगाउनुभयो,’ स्रोतले भन्यो ।

यसकारण आगो विप्लव 
स्थानीय तह निर्वाचनमा भाग नलिने केन्द्रीय नीतिविपरीत केही जिल्लामा एमालेको सूर्य चुनाव चिह्न लिएर नेकपाका उम्मेदवारले मनोनयन गराएका थिए ।

त्यसपछि बाँस्तोलाले ती सबै उम्मेदवारी फिर्ता लिएर पार्टी नीतिअनुसार काम गर्न सोमबार निर्देशन दिँदै विज्ञप्ति पठाएका थिए।

त्यही विज्ञप्तिले महासचिव आगो भएका विप्लवले बाँस्कोटालाई बुधबार बिहानै फोन गरे।

फोन संवादका क्रममा सुरुमा राम्रैसँग कुराकानी गरेका विप्लव एकैपटक असन्तुष्टि जनाउन थाले ।

‘तपाईँले विज्ञप्ति निकाल्दा मलाई नै थाहा नहुने भयो,’ यो त अराजकता भयो कमरेड! यसले ‘लास्टै’ समस्या पैदा गर्‍यो,’ विप्लवको भनाइ उधृत गर्दै ती नेताले भने, ‘जवाफमा बाँस्तोलाले केन्द्रीय सदस्य चुनावमा भाग नलिने सिसी बैठकविरुद्ध केन्द्रीय सदस्य आफैँले सूर्य चिह्न लिएर उम्मेदवारी दर्ता गर्ने काम लाजमर्दो भएन र?’

‘हाम्रो पार्टीको चैत ४ देखि १४ गतेसम्म कपिलवस्तुमा बसेको सिसी बैठकले स्वतन्त्रबाट उम्मेदवार बन्ने तर सिसी मेम्बर नजाने नीति पास गरेको होइन?’, बाँस्तोलाले विप्लवसँग भने, ‘मैले तपाईँलाई सोधेर विज्ञप्ति निकालेको भए तपाईँले हुँदैन भन्नुहुन्थ्यो, त्यसबेला झन् धेरै साथीहरुले चुनावमा मनोनयन दिन्थे ।’

पार्टी र नेतृत्वको रक्षा गर्न आफूले चालेको कदमबारे काठमाडौंमै बसेर छलफल गर्ने बाँस्तोलाले प्रस्ताव गरे ।

‘मैले निकालेको विज्ञप्तिले केही बिग्रिएको छैन, अनुशासनहीन काम रोकिएको छ, यसबारे यतै आउनुस् कुरा गरौँ भन्ने उहाँको प्रस्ताव थियो,’ स्रोतले भन्यो, ‘त्यस प्रस्तावमा महासचिव विप्लव तयार हुनुभएन, उहाँले यसलाई ठूलो षडयन्त्रका रुपमा लिनुभयो ।’

‘छलफल जहाँ गरे पनि उही हो, यसले पार्टी विधि मिचेको छ, यसमा पार्टी सिद्याउने उद्धेश्य देखिन्छ,’ विप्लवले भने ।

यसैबीच नेपालखबरले यस विषयमा बाँस्तोलासँग सम्पर्क गर्दा उनले महासचिवले पदमुक्त गरेको जानकारी सञ्चारमाध्यमबाट पाएको बताए ।

‘महासचिवले विज्ञप्ति निकालेर पदमुक्त गरेको बताउनुभएको रहेछ,’ बाँस्तोलाले भने, ‘अब हामी सचिवालय, सिसी बैठकमा छलफल गरेर एउटा निर्णय गछौँ।’

चुनाव अगाडि नै एउटा निष्कर्षमा पुगिने उनले बताएका छन्। ‘हामी अकर्मण्यतामा छैनौँ,’ उनले भने, ‘चुनावअगाडि नै निष्कर्षमा पुग्छौँ, सशक्त रुपमा हाम्रो पार्टीको नीति अगाडि बढाउँछौँ, महासचिवको लाइन नै फेल भएकोले कारवाही गरिएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .