ad ad

राजनीति


कास्की २ मा उपनिर्वाचन : विद्यालयमा तीन दिन बिदा

कास्की २ मा उपनिर्वाचन : विद्यालयमा तीन दिन बिदा

नेपालखबर
मंसिर ११, २०७६ बुधबार ४:८,

कास्की क्षेत्र नम्बर २ मा १४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ।

पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मंसिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिइएको हो।

महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख गङ्गाबहादुर गुरुङले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुरोधबमोजिम सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिए।

बिदाको समयमा विद्यालयमा अन्य कुनै प्रकारका कार्यक्रमसमेत आयोजना नगर्न पत्रमार्फत सूचित गरिएको छ। उपनिर्वाचनका लागि कास्की २ मा ३२ मतदानस्थल र ८२ मतदान केन्द्र तोकिएको छ । विद्यालयबाहेक तीन वडा कार्यालयलाई समेत उपनिर्वाचनमा मतदानस्थल तोकिएको छ।

यसैबीच जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचनमा मतदान अधिकृत तोकिएकालाई मतपत्रसहित ५६ प्रकारका निर्वाचन सामग्री हस्तान्तरण गरेको छ।

मतपत्रसहित निर्वाचन सम्पन्न गराउन आवश्यक सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी आज बेलुकासम्म सम्बन्धित मतदानस्थलमा पुगिसक्ने निर्वाचन कार्यालयका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए।

उपनिर्वाचनमा ४५० कर्मचारी परिचालन गरिएको छ । मतदाता सङ्ख्याका आधारमा एउटा मतदान केन्द्रमा पाँचदेखि आठसम्म कर्मचारी खटाइएको छ । मतदानमा खटिने कर्मचारीबाहेक प्रत्येक मतदान केन्द्रमा दुईदेखि चार स्वयंसेवक परिचालन गरिनेछ।

निर्वाचनको सम्पूर्ण तयारी सकिएको निर्वाचन कार्यालयका प्रमुख महेन्द्र सुवेदीले बताए। “मतपत्र, कर्मचारी व्यवस्थापन, मतदाता शिक्षा, सुरक्षा प्रबन्धलगायत आवश्यक सम्पूर्ण तयारी सकेका छौँ । जनताले निर्धक्क भएर मतदान गर्ने व्यवस्था मिलाइएको छ,” उनले भने।

निर्वाचन कार्यालयले थप भएका नयाँ मतदाताका लागि सम्बन्धित मतदानस्थलमा १२ र १३ गते मतदाता परिचयपत्र वितरण गर्ने भएको छ।

त्यस्तै मतदाता नामावलीमा नाम समावेश भएकाहरुका लागि यसअघि वितरण गरिएको परिचयपत्र वा सरकारी कार्यालयबाट जारी भएको परिचय खुल्ने जुनसुकै कागजपत्रका आधारमा मत खसाल्न पाउने व्यवस्था गरिएको कार्यालयका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .